मखमली, गोदावरी र सयपत्री
कहिल्यै फुलेनन् मेरो अन्तरहृदयमा
फुले भने केवल दुई नजरमा फुले
नजरले दिपावलीको संकेत पायो
तर कहिल्यै छायन दिपावली
ईन्द्रेणिको सात रङले
कहिल्यै रमाएन मेरो मन
बरु ऐंठन भएजस्तो हुन्छ
ईन्द्रेणी नजरमा ठोकिंदा
र त मलाई लाग्छ
कहिल्यै नफुलेनी हुनेनी
मखमली, गोदावरी र सयपत्री
कहिल्यै नझरेनी हुनेनी ईन्द्रेणी
पृथ्वीमा
मेरो मन दुखाउन
बल्ल बल्ल खाटा बसेको घाउ कोट्याउन
मखमली, गोदावरी र सयपत्री
फुलाउने प्रकृतिसंग
मेरो गुनासो छ
मेरो दिर्घायुका खातिर
मखमली, गोदावरी र सयपत्रीले
मलाई पुज्ने मेरा दिदिहरु
किन मबाट छिनेर लग्यौ
सक्छौ फर्काउन
सक्दैनौ भने नफुलाउ ति फुलहरु
मलाई रुवाउन
ईन्द्रेणी पार्ने प्रकृतिसंग
मेरो दुःखेसो छ
सप्तरङ्गी टिकाले
मेरो निधार रङ्गाउने मेरा दिदिहरु
म बाट किन छुटायौ
सक्छौ फर्काउन
सक्दैनौ भने नझार ईन्द्रेणी पृथ्वीमा
मलाई पिडाबोध हुन्छ
इन्द्रेणी देखेपछी मेरो मन रुन्छ ।

No comments:
Post a Comment