–मोती घिमिरे
पूजनिय आमा,
साष्टाङ्ग दण्डवत ढोग ।
तपाईको आशिर्वादले अहिलेसम्म आराम छौं, आरामको कामना गर्दछौं । अहिलेको जमानामा पनि के चिठी लेखेको होला यसले भन्ने सोच्नु भा होला है तपाईंले । अहिले खवर आदानप्रदान गर्ने विभिन्न आधुनिक प्रविधिहरु आका छन् तर आमा पहिले पहिले जुन चिठी लेख्ने संस्कृति थियो नि त्यसमा वास्तवमै भावना हुन्थ्यो, शव्दमा प्रेम हुन्थ्यो र सम्वन्धलाई प्रगाढ बनाउंथ्यो । अहिले जुन साईवर संस्कृति भन्छन् नि त्यसमा न भावना हुन्छ, न त सच्चा प्रेम हुन्छ । यसले त विकृती पो ल्याको छ । मान्छेको मन मष्तिष्कलाई फलाम जस्तो बनाईदिएको छ । यसवाटै आज विहे गर्छन, भोली छुट्टिन्छन । चिठीमा मनका कुराहरु मनग्गे लेख्न पाईन्छ । अरुले खोलेर हेरिदिन्नन् । लेखेका कुराहरु पनि गोप्य हुन्छन । अहिलेको प्रविधिमा त विकृति मात्र छ । गोपनियता पनि छैन । मान्छे जती आधुनिक बने पनि, विज्ञानको युग भने पनि मान्छेहरु पहिलेकै रिती पद्धतिलाई मान्न थालेका छन नि आजकाल ।
ए सांच्चै मलाई पहिलेको कुरा सम्झना आयो । २०३४÷३५ सालतिर म ८÷९ किलास पढ्दा काठमाण्डौवाट आएका राविसे ( राष्ट्रिय विकास सेवा ) का मान्छे भन्दै हाम्रो घरमा आउंथे नि । तिनीहरु घरमा आउंदा तपाईंले भन्नुहुन्थ्यो नि यिनिहरु कहांवाट आएका हुन ? के हुन ? घरभित्र ल्याउन हुन्न भन्दै पिंढीमै चिया खाजा दिने गर्नु हुन्थ्यो नि । त्यतिवेला हामी के गर्नु भाहोला आमाले भन्थेम । अहिले त विश्वले हाम्रै संस्कृति हाम्रै चलन अपनाईरहेका छन नि । कोरोना लाग्छ भन्ने डरले अरुको घरमा नछिर्नु, आफ्नो घरमा अरुलाई नबोलाउनु भनेर रेडियो, टेलिभिजनले फुकेको फुक्यै छ । अनि तपार्ईंलाई पनि सम्झना होला, हामी स्कुलवाट घर फर्किंदा आंगनको पल्लो छेउमा राखेको लोटा देखाउंदै, उ त्यसमा पानी छ हात खुट्टा धोएर सफा भएर मात्र भित्र छिर है भन्नुहुन्थ्यो नि । तपाईंले त्यसो भन्दा हामीलाई झर्को लाग्थ्यो तर आमा गजवको कुरा त हामी साना छंदा भान्सामा जाने वेलामा वाहिर लाएर आको कपडा फेरेर हात खुट्टा धोएर मात्रै जान दिनु हुन्थ्यो नि । अहिले रेडियो टेलिभिजनले मिची मिची हात धुनु , वाहिर गएर आएको कपडा बदलेर मात्र घर भित्र छिर्नु भनेर हामी केटाकेटी छंदा सिकेको कुरा अहिले फुकेको फुक्यै छ नि । त्यती मात्र कहां हो र, अरुलाई नछुनु, नमस्कार गर्नु, मलामी गएर फर्केर ननुहाई घरभित्र नपस्नु, मलामी जांदा लगाका कपडाहरु धुनु भनेर हाम्रा परम्परागत कुराहरु अहिले भनेको भनेकै छ ।
अनि आमा आजकल जताततै कोरोना ! कोरोना ! भनेको सुन्नु भाहोला नि है । कोरोना सुरु भाको एक वर्ष हुन आंट्यो । वैज्ञानिकहरुले औषधी बनाउन सकेनन् रे । हामी सानामा विरामी पर्दा गाह्रो साह्रो हुंदा सिस्नुको पात÷जरा, असुराको पात, अदुवा, वेसार, तुलसिको पात, किम्मुको जरा, चिनी लहरो आदीको औषधी बनाएर जव्वरजस्ती ख्वाउनुहुन्थ्यो नि , अहिले कोरोनाबाट कोरोनाबाट बच्न त्यही खाने रे । शहरमा वसेको भनेर के गर्नु ? विरामी पर्दा अस्पतालमा वेड छैन रे । जंगलवाट त्यही जडिवुटी ल्याएर खाने, घरभित्रै बस्ने गरेछम । अहिले वैज्ञानिकहरु भन्दा त हाम्रा अनि तपाईंहरु नै जान्ने हैछ है ।
ए सांच्चै पहिलेको कुरा गर्दागर्दै खास कुरा त भन्नै विर्सेछु । दशैं नजिकै आयो नि है । अहिले विश्वभर कोरोना भन्ने रोग फैलिएको थाहा पाउनु भाछ नि है । हाम्रो देशमा पनि त्यस्तै अवस्था छ । काठमाण्डौमा त झन छ्याप छ्याप्ती भाछ । यस पटकको दशैंमा सरकारले जहां छौं त्यहीं बसौं र दशै. मनाउं भनेर अनुरोध गरेको छ । काठमाण्डौ र अरु शहरहरुवाट गाउं गयो भने बुढाबुढीहरुलाई कोरोना भाईरस सर्छ रे । बुढाबुढीहरुलाई यो रोग लाग्यो भने त धेरै गाह्रो हुन्छ रे नि । तपाईं त झनै चार विस र चौध वर्ष पुगेको मान्छे । एकदमै ख्याल गर्नुपर्छ है आमा ।
तपाईंका त छोरा बुहारी, छोरी ज्वाईं, नाति, नातिनी, पनाती, खनाती गरी सात विस जती सन्तान छन । हट्टा कट्टा देखिए पनि १÷२ जनामा मात्रै कोरोना भाईरस रहेछ भने तपाईंलाई पनि सर्छ । अरुलाई पनि सर्छ । एकछिनको रमाईलोले धेरै जना विरामी परेर दुःख पाउनु भन्दा त यसपाली आ–आफ्नो घरमा बसेर दशैं मनाउंदा ठिक हैन र ? कोरोना गैसकेपछी अर्को वर्ष धुमधामसंग मनाउंला नि है । सांच्चै पोहोरको दशैंको पो याद आयो । साहिंलो दाई टिका थाप्न आउंदा संधै गुम्वाको वारिको कान्लामा फलेको बेलौती ल्याउनु हुन्थ्यो नि । अहिले त गुम्वाको बेलौती खान नपाईने भयो । यता त बेलौती भनेको बुझ्दैनन्, अम्वा भन्नुपर्छ । काहिंलो दाईले, अहिले त सेकुवा खाने है, हांस पालेको छु भन्नुभाथ्यो । अनि भाउजुले ठूलो कान्छालाई कर्कलाको अचार मन पर्छ भनेर वारिको कर्कलो र भिन्डी सांचेर राख्नुभा होला है । केही छैन अर्को दशैंमा खाउंला नि । पोहोर दशैंमा आउंदा मोवाईलमा कुराकानी (च्याटिङ ) गर्न सिकाएको थिएं नि । यो दशैंमा त्यसै गरी कुरा गरम्ला र आशिर्वाद लिउंला । हेक्का राखेर चलाउने हो भने अहिलेको प्रविधिको फाईदा पनि छ । अनि आमा! अरु सवैलाई यो पाली मोवाईलवाट आशिर्वाद दिन्छु, सुरक्षित भएर घर घरमै दशैं मनाउनु भन्नु होला ल । यति भन्दै
उही ठूलो कान्छो
काठमाण्डौ बाट ।


धन्यवाद सर,यहॅाको बल्गमा स्थान दिनुभएकोमा।
ReplyDeleteधन्यवाद सर,यहॅाको बल्गमा स्थान दिनुभएकोमा।
ReplyDeleteस्वागत छ
ReplyDeleteबहुमुखी प्रतिभावान मित्र मोती घिमिरेलाई उपयुुक्त plateform मा जहाँसुकै स्थान नमिल्नेे कुरै भएन । धन्यवाद आदरणीय दाजु दुर्योधन लाई ।
ReplyDelete२०७७ सालको बिजया दशमीको पावन अवसरमा यहाँ र यहाँको परिवारमा हार्दिक मंगलमय शुभकामना साथै सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
ओम बस्नेत एवं परिवार
लाजिम्पाट , काठमाडौं ।
बहुमुखी प्रतिभावान मित्र मोती घिमिरेलाई उपयुुक्त plateform मा जहाँसुकै स्थान नमिल्नेे कुरै भएन । धन्यवाद आदरणीय दाजु दुर्योधन लाई ।
ReplyDelete२०७७ सालको बिजया दशमीको पावन अवसरमा यहाँ र यहाँको परिवारमा हार्दिक मंगलमय शुभकामना साथै सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
ओम बस्नेत एवं परिवार
लाजिम्पाट , काठमाडौं ।
हजुर धन्यवाद अोम सर । हाम्रो पनि यहाँ लगायत सम्पुर्ण परिवारमा सु-स्वास्थ्य, दिर्घायु र उत्तरोतर प्रगतिको कामना ।
ReplyDelete