Monday, November 2, 2020

विद्युतिय प्रेमले निम्त्याएको पिडा


यतिवेला आधुनिक हुने नाममा हामिले समाजलाई सदैव अनुशासित र सु–संस्कृत बनाईराख्नका लागि अत्याबश्यक परम्परागत संस्कार र संस्कृतिहरु, सामाजिक मुल्य र मान्यताहरुलाई बेवास्ता गर्न थाल्यौं । मान्न छाड्यौं । लत्याउन थाल्यौं । जसको परिणामस्वरुप हामी अनुशासनहिन, अराजक, असामाजिक र संस्कारहिन बन्न थाल्यौं । विसंगती र विकृतिका बाहक बन्यौं । विवेकहिन बन्यौं । कर्तव्य, जिम्मेवारी, धर्म, ईमान्दारिता सवैलाई खाल्टामा हाल्यौं । न आफु बन्यौं, न समाजलाई केही योगदान दिन सक्यौं । यो आम प्रवृती राष्ट्रकै  लागि समेत घातक बन्न पुग्यो । 

यहां सन्दर्भ लभ म्यारिज वा प्रेम विवाहको उठान गर्न खोजिएको हो त्यो पनि विद्युतिय माध्यमवाट गरिने प्रेम विवाहको । विषयवस्तुको उठान गरिरहंदा समाजमा धेरै अगाडीदेखी प्रचलनमा रही आएको, समाजले स्विकारेको र कानूनी मान्यता प्राप्त प्रेम विवाहलाई गलत भन्न खोजिएको होईन र भन्न पनि मिल्दैन । एकले अर्काको भावना, विचार, सोच, व्यावहार, आदत, बानी ब्यहोरा सवै बुझेर बैवाहिक बन्धनमा बांधिनु उचित हुन्छ भन्ने दुवैको निष्कर्षबाट प्रेम विवाह गरिने हुंदा यसलाई गलत ठान्नै मिल्दैन । त्यसर्थ पनि परिवार, समाज र राज्यको कानूनले यो विवाहलाई मान्यता दिएको हुनुपर्छ । यसो भनिरहंदा शास्त्रीय परम्परा अनुसारका ८ प्रकारका विवाहमध्ये तुलनात्मक रुपमा ब्राह्म विवाह वा मागी विवाह सवैभन्दा सर्वश्रेष्ठ, मान्यताप्राप्त, व्यावहारिक र उचित ठानिन्छ । दुवैतर्फको घरपरिवार र समाज समेतको सम्पुर्ण जानकारी लिएर दुवै तर्फको चित्त बुझाईपछी दुवै तर्फको सहमतीमा यो विवाह हुने भएकाले यसलाई सवैभन्दा उत्तम मानिन्छ । त्यसैले एक दुई अपवाद वाहेक मागी विवाहद्वारा बन्धनमा बांधिएका पती पत्नीविच एकले अर्काको भावनालाई कदर गर्दै समझदारीका विच स्वर्गिय आनन्दकासाथ जिवन चलिरहेको पाईन्छ । हाम्रा पुर्खाहरुले व्यावहारमा ल्याएको यो मागी विवाह पद्धती हरेक दृष्टीले चाहे बैज्ञानिक कोणवाट होस वा चाहे धार्मिक, सामाजिक कोणवाट होस अत्यन्तै उपयोगी रहेको पाईन्छ । तर दुर्भाग्य यो वैवाहिक पद्धती आधुनिकताका नाममा प्रायःलोप हुने अवस्थामा पुगिसकेको छ । यसको संरक्षण गर्नु जरुरी छ । 

यतिवेला त झनै सामाजिक मूल्य, मान्यता र कानूनी मान्यतालाई समेत कुल्चिएर विद्युतिय माध्यमवाट फेसबुकमा च्याट मार्फत अनुहार हेर्दै दुई चार दिन कुराकानी गरी प्रेम गर्ने र एकले अर्कोविना बांच्नै नसक्ने अवस्थामा पुगेको भन्दै भेट्ने स्थान र समय निर्धारण गर्ने गरिन्छ । बाबुआमाले उक्त सम्वन्धलाई अस्विकार गर्ने हुंदा निर्दिष्ट समय र स्थानमा भेट गरी दुवैजना घरवाट भाग्ने योजना बनाईन्छ । ७–८ कक्षा पढ्दै गर्ने केटाकेटीहरु १५–१६ वर्षकै उमेरमा यस्तो खाले क्रियाकलापमा संलग्न हुने गरेको पाईन्छ । आमा, वावु, परिवारका अन्य सदस्य र समाजलाई पनि मान्य नहुने, स्विकार्य नहुने र २० वर्ष नपुगी विवाह गर्न नपाईने कानूनी बन्देज पनि रहेकोले ती भर्खरका केटाकेटीहरु कामको खोजिमा सहर पस्न बाध्य हुन्छन । १६ वर्ष पुरा भएपछी मात्र नागरिकता बनाउन पाईने कानुनी मान्यता रहेकोले उनिहरुले नागरिकता बनाउन पनि भ्याएका हुंदैनन् । त्यसो त उनिहरुले बाल विवाह गरेका कारण नागरिकता बनाउने अवसर पनि तत्कालका लागि गुमाएका हुन्छन । कानूनी नजरमा दोषी भएकाले नागरिकता बनाउनका लागि गाउंमा जाने अवस्था रहंदैन । यो मामिलामा केटालाई भन्दा पनि केटीलाई बढी समस्या आईपर्ने हुन्छ किनकी एउटा कुरा त केटासंग हिंडिसकेपछी कानूनी बन्देजका कारण माईतीवाट नागरिकता बनाउने अवस्था रहंदैन भने घरपटी वा केटा पटिवाट बनाउनका लागि सम्वन्धित निकायमा विवाह दर्ता भएको हुनुपर्छ । २० बर्ष नपुगी विवाह दर्ता हुंदैन । विवाह गरेको थाहा भयो भने कानूनी कार्वाहीको भागी बनिन्छ । यसरी उनिहरु दुवै जना नागरिकता पाउने अधिकार हुंदाहुंदै पनि बदमासी गरेका कारण नागरिकताविहिन हुन पुग्छन । 

नागरिकता, योग्यता, क्षमताको अभाव र अर्कोतिर उमेरका हिसावले पनि सहरमा काम पाउन मुश्किल हुन्छ । त्यसपछी कामको खोजिमा भौंतारिंदै हिंड्न थाल्छन । शहरमा स्वास फेरेको समेत पैसा तिर्नुपर्ने हुंदा पैसा नकमाई बांच्ने उपाय हुंदैन । कोठा भाडा तिर्नुप¥यो, विहान वेलुकाको छाक टार्नुप¥यो, कम्तीमा सस्तै भएपनि एकझुम्रो कपडा लगाउनै प¥यो । विमारी होईन्छ, औषधी खानै प¥यो, अस्पताल धाउनै प¥यो । उपचार सस्तो छैन । यसरी गांस,वास, कपासको समस्याले तनाव दिन थाल्छ । त्यसपछी आफुले भन्दा पनि पाएको काम गर्न तयार हुनुपर्छ । त्यो पनि पाएको खण्डमा । शहरमा योग्यता, क्षमता र पहुंच नहुने महिलाले पाउने काम भनेको सम्पन्न परिवारको घरायसी काम वा ज्यामी काम र केटाले पाउने काम भनेको ज्यामी काम नै हो । त्यसका लागि पनि घरधनी वा ठेकेदारसंग चिनजान भएको मानिसले सिफारिस गरेको मानिसलाई मात्र काम दिईन्छ । सिफारिस गर्ने मान्छे फेला पर्छ कि पर्दैन कुनै ग्यारेन्टि छैन । संयोगवश फेला परेछ रे भने पनि शहरको महंगीका कारण दुई जनाको कमाईले महिना धान्न धौ धौ पर्ने हुन्छ । घरधनिले महिना नपुग्दै भाडा माग्न थाल्छ । नदिए निकालीदिने धम्की दिन्छ । अन्य खाद्यान्न, तरकारि त परै जाओस । थोरै खाएर मिठोको साटो नमिठो खाएर भए पनि जेनतेन महिना त गुजारा गरिएला । तर कहिले सम्म यै उमेरमा पुगेस पुगेसको जिन्दगी निर्वाह गर्ने । दिक्क लाग्न थाल्छ । दुवैलाई आवेगमा आएर वेकारमा घर छाडेर गल्ती गरिएछ जस्तो लाग्न थाल्छ । समय वित्दै जांदा दुइवाट तिन, तिनबाट चार होईन्छ । त्यसपछी त झनै खर्चले धान्न छाड्छ । दिन प्रतिदिन अभाव, गरिवी र वेरोजगारिले पेल्दै जान थालेपछी दुईजनाको विचमा मनमुटाव बढ्न थाल्छ । असमझदारी बढ्न थाल्छ । अनी झगडाको विजारोपन हुन थाल्छ । हुन सक्छ केटाले शहरकी उस्तै प्रकृतिकी अर्की केटीसंग प्रेम गर्न थाल्छ । अराजकता बढेपछी के लाग्छ जस्का कारण कोठामा ढिलो आउने, कहिले आउंदै नआउने गर्न सक्छ । यसले झगडा झनै बढ्दै जान्छ । त्यसपछी केटाले छाडिदिने धम्की दिन थाल्छ । के वेर छाडिदिन पनि सक्छ । 

गैरकानूनी सम्बन्धका कारण केही गरी छाडेर अर्कीसंग गैहाल्यो भने पनि उजुरी गर्ने ठाउं छैन । उजुरी गर्दा उल्टै कार्वाहीमा परिन्छ । माईत जाउं भने भागेर हिंडेको स्विकार्नेवाला छैनन् । माईतीले त वास्तै गर्न छाडिसकेका छन । अन्त जाउं कहां जाउं । त्यतीमात्र कहां हो र विवाह दर्ता नगरीकन छोराछोरिको जन्म दर्ता समेत गर्न पाईंदैन । नागरिकता बनाउन पाईएन । त्यसपछी जे गरे पनि, जे भए पनि सहेर वस्नुको विकल्प रहंदैन । आंशु पिउंदै तड्पी तड्पी जिउनुको विकल्प छैन । फेसबुक म्यरिज गर्ने प्रायः सवैको हविगत यस्तै भएको पाइन्छ, जसको उमेर नपुगी सम्बन्ध जोडिएको हुन्छ । 

त्यसर्थ ‘हतारमा विवाह गर्नु, फुर्सदमा पश्चाताप गर्नु हो’ भन्ने यर्थाथ सार्वभौम सिद्धान्तलाई आत्मसाथ गरी राज्यको कानुनले निर्धारण गरेको २० वर्ष पुरा भएपछी मात्र विवाह गर्ने मान्यतालाई पालना गर्दै ८ किसिमका विवाह पद्धतीमध्ये सर्वश्रेष्ठ मान्यताप्राप्त व्यावहारिक मागी विवाह पद्धतीलाई अपनाएर दुई आत्माको पवित्र बन्धन मानिने मानव जिवनलाई आदर्श रुपमा संचालन गर्ने उद्देश्यले उद्दालकपुत्र श्वेतकेतुद्वारा प्रचलनमा ल्याईएको, ऋग्वेद र अथर्ववेदमा उल्लेख गरिएको मानव जिवनको महत्वपुर्ण पाटोको रुपमा रहेको विवाहलाई सुमधुर वनाएर वैवाहिक जिवनलाई सुखमय बनाउने काम गरौं नकी विवाहलाई केटाकेटीको खेल बनाएर जिवन वर्वाद नगरौं । यसैमा सवैको भलो हुनेछ । 


No comments:

Post a Comment