Thursday, October 29, 2020

संक्रमित हुंदाको आफ्नै कथा, व्यथा




नमस्कार । म दुर्योधन बस्नेत । काठमाण्डौ महानगरपालिकाको वार्ड नं. ३१ मा अवस्थित जागृतिनगर टोलमा बस्दै आएको छु । स्थायी पेशा खासै मेरो केही छैन । अली अली समाजसेवा, कहिलेकाहीं अनुसन्धान र वांकी समय गित, कविता र समय सान्दर्भिक निवन्धात्मक लेखहरु लेखेर जनमानसलाई संदेश दिने गरेको छु । मेरो आफ्नै यु टुव च्यानल, पेज र व्लग स्पोर्ट छ । यहांहरुले हेर्न सक्नुहुन्छ । हेरेर लाईक, कमेन्ट, शेयर, फलो र सव्स्क्राईव गरि मलाई हौसला दिनुहुनेछ भन्ने आशा पनि गर्दछु । मेरो सानो परिचय यहांहरु माझ राखें । फेरी भन्ठान्नु भएको होला, यो त आफ्नो वयान गर्न पो आएको रहेछ । त्यस्तो पक्कै होईन र त्यसरी नबुझिदिनुहोला । संक्रमितको रुपमा परिचय दिन आवश्यक ठानिएको मात्र हो । 

यतिवेला विश्वलाई नै आतंकित बनाईरहेको कोभिड–१९ को महामारिवाट हाम्रो परिवारमा म र मेरो श्रीमती पनि अछुुतो रहन सकेनौ । सचेत हुंदाहुंदै, सावधानी अपनाउंदा अपनाउंदै र स्वास्थ्यको ख्याल गर्दा गर्दै पनि हामीलाई छाडेन र संक्रमितको शिकार बन्न पुगियो । न विश्व स्वास्थ्य संगठन र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भनेजती संक्रमणका लक्षणहरु नै देखा परे । मलाई मात्र, डेढ हप्ता अगाडी देखी कहिलेकाहीं अली अली घुंडा करकरी खाएजस्तो हुने, घरी घरी टाउको झुम्म बनाउने र कुनै कुनै समय भने तिखो किसिमले दुख्ने गर्दथ्यो । हिंड्दाखेरी घरी घरी रिङ्गटा लागेजस्तो हुन्थ्यो । यो भन्दा बाहेक म मा अरु कुनै समस्या भनुं वा लक्षण केही पनि थिएन र पनि पि.सि.आर.जचाउन पर्छ भन्ने लाग्यो र सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेजमा गएर चेक गराउंदा रिपोर्ट पोजेटिभ आयो । रिपोर्टमा एन.जिन.– १८, ई.जिन.– १७ र ओ.आर.एफ.वान एवी–१९ देखियो । सम्वन्धित विशेषज्ञका अनुसार यो अंकको वोर्डर लाईन भनेको २५ हो रे । २५ भन्दा जती कम देखिन्छ, त्यती अरुलाई सर्ने संभावना बढी हुन्छ रे । 

रिपोर्ट पोजेटिभ आईसकेपश्चात म आफ्नै घरमा होम आईसोलेसनमा बसें । अरु कुरा त सवै व्यवस्थापन गर्न सजिलै भयो तर वाथरुम एउटै भएकाले अली गाह्रो प¥यो यद्यपी मैलै बाथरुम प्रयोग गरिसकेपछी छोईएका सवै चिजलाई स्यानीटाइज गर्ने गर्थें । चप्पल अलग्गै प्रयोग गर्थें, सावुन अलग्गै प्रयोग गर्थें, वाथरुममा प्रयोग हुने पानीका भांडा, धारा अलग्गै प्रयोग गर्थें । मास्क लगाएर वाथरुम जान्थें र पंजाको प्रयोग गर्थें । यती हुंदाहुंदै पनि परिवारका अन्य सदस्यलाई सर्ने हो की भन्ने चिन्ता भने लागिरहन्थ्यो । 

पि.सि.आर. गरेको २–३ दिनसम्म पनि टाउको झुम्म हुने र रिङ्गटा  लागेजस्तो गर्ने समस्या हटेन । त्यसपश्चात छिमेकी मेरो व्यक्तिगत जिवनको हरेक पक्षमा सरोकार राख्दै सहयोग गर्नुहुने आदरणिय दाई मोती घिमिरेज्यूसंग समस्या राखें । उहांले कोभिड–१९ संग सम्वन्धित काठमाण्डौ महानगरपालिका अन्र्तगत महानगर शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत डक्टर अपिल उप्रेतीको फोन नं.उपलब्ध गराएर उहांसंग उचित परामर्श लिनका लागि सल्लाह दिनुभयो । मैले तुरुन्तै डक्टर अपिललाई फोन गरें र सवै कुरा वताएं । त्यसपछी उहांले दिनको ३ पटक ६–६ घण्टाको फरकमा सिटामोल खाने र नआंतिईकन आईसोलेसनमा अत्यन्तै शुरक्षितका साथ बस्ने सल्लाह दिनुभयो । मैले सोही अनुसार गरें । उहांप्रती म हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु ।  यसैगरी समाज परिवर्तनको अभियानमा निरन्तर लागिरहनुभएकी नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा कार्यरत  अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ केन्द्रिय समितीकी उपाध्यक्ष तथा स्वास्थ्य संगठन ईन्चार्ज बागमती प्रदेशकी स्वास्थ्यकर्मी भिमा गौतमसंग एउटै अभियानमा लाग्दा चिनजान भएका कारण परामर्श लिन उपर्युक्त ठाने । उहांले मल्टी भिटामिन, भिटामिन सी खाने सल्लाह दिनुभयो । त्यस्तै उहांको सुझावअनुुसार दुधमा वेसार मिसाएर, च्यवनप्राश, फलफूल, गेडागुडीको झोल, जाउलो, अण्डा, ज्वानोको झोल दैनिकजसो खान थालें  । उहांकै सुझावअनुसार कपालभांती, अनुलोमविलोम लगायतका योगाहरु गर्न थालें । हुन त म ती योगाहरु नियमित नै गर्ने गर्थें । अझै जोड दिन थालें । त्यती मात्र होईन उहांले असहज भएमा जानकारी गराउनु, आवश्यक उपचार ब्यवस्था मिलाउने आश्वासन समेत दिनुभयो । उहांको यो सद्भाव, माया मेरा लागि सदैव यादगार रहने छन । उहांप्रती हार्दिक आभार एवं धन्यवाद ब्यक्त गर्न चाहन्छु । त्यसैगरी संक्रमित भएर ठिक भैसक्नुभएका अत्यन्तै सहृदयी, सहयोगी मित्र समाजसेवी छिमेकी यमलाल गोैतमज्यूले आफु संक्रमित हुंदा सेवन गर्नुभएका आर्युवेदिक औषधी कस्तुरी भुषण, जडिवुटिहरु तुलसी, पुदिना, गुर्जो, वेसार, ज्वानो हालेर पानी तताएर खाने सल्लाह दिनुभयो । उहांको सल्लाहलाई शिरोपर गर्दै त्यसको अलावा पनि घरको छतमा गमलामा लगाईएको गोरसपान, पत्थरचट्टा, घोडताप्रे, सन्चोको पात र विरेनुन समेत मिसाएर तताएर उमालेको पानी दैनिक सेवन गरें । मित्र यमलालले पनि च्यवनप्राश, मह, गेडागुडिको झोल, फलफुल, जाउलो खाने सल्लाह दिनुभयो । उहांले आवश्यक औषधी समेत उपलब्ध गराएर ठूलो सहयोग गर्नुभयो । जुन मेरा लागि अत्यन्ते अविष्मरणिय रहने छ । यसरी सम्पूर्ण शुभेच्छेक, शुभचिन्तक, डाक्टर, स्वास्थ्यकर्मी, आत्मीय मित्रजनको सल्लाह सुझावलाइ आत्मसाथ गर्दै औषधीमुलो र शक्तिवर्धक खानेकुरा खान थालेपछी विस्तारै शरिर तन्दुरुस्त र स्वस्थ बन्दै गयो । दिनको दुई पटक विहान र वेलुका तातोपानीमा सन्चोको थोपा हालेर वाफ लिने गरें । विहानको घाममा एक घण्टा बस्ने गर्थें । लगभग पोजेटिभ देखिएको एक हप्तामा मलाई केही पनि भा छैन वा रोगमुक्त भएको महशुस हुन थाल्यो । यद्यपी मैले दुई हप्तासम्मै औषधीमूलो र शक्तिवर्धक खानेकुराहरुलाई निरन्तरत दिईनै रहें । 

यो विचमा अर्थात  १४–१५ दिनको होम आईसोलेशनको वसाईमा काठमाण्डौ महानगरपालिका अन्र्तगतको सहरी स्वास्थ्य क्लिनिकका कोभिड–१९ संग सम्वन्धित स्वास्थ्यकर्मी सिर्जना जि.सी. खरेलले एकपटक र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीवाट दुईपटक मेरो स्वास्थ्यस्थिीतिको वारेमा जानकारी लिने काम भएको थियो । उहांहरप्रती पनि आाभार ब्यक्त गर्न चाहन्छु । संक्रमित भैरहंदा वा संक्रमणको अवधिमा परिवारमा श्रीमतिको सहयोग र भूमिका अत्यन्तै महत्वपूर्ण रह्यो । उनी स्वयम पनि भर्खरै मात्र संक्रमणबाट मुक्त भएकी थिईन जसले गर्दा उनमा शारिरिक कमजोरी विद्यमान नै थियो तथापी मेरो सेवा गर्ने काममा कतीपनि कन्जुस्याईं नगरी रातदिन खटिईरहिन । घरको संपूर्ण काम भ्याउनुपर्ने बाध्यता आफ्नै ठाउंमा थियो । यसर्थमा उनी पनि आभार र धन्यवादको पात्र बनेकी छिन । 

कोभिड–१९ को संक्रमित भैसकेपछी आईसोलेशनमा बस्नुपर्ने कुरा आफ्नो ठाउंमा छंदैछ । आईसोलेशनमा बसिएन भने घरपरिवार लगायत संपर्कमा आउने सवै संक्रमणको शिकार बन्नेछन । सुनिन्छ– पोजेटिभ रिपोर्ट आएका केही मानिसहरु लक्षण केही पनि छैन भनेर आईसोलेशनमा नवसी खुल्लेआम हिंड्ने गरेका छन रे । त्यो भन्दा ठूलो वेकुवी, अपराध के हुन सक्छ होला ? यदी कसैले यो अपराध गरेको छ भने तुरुन्तै सच्याउनु जरुरी छ । कसैको जिवनसंग पनि खेलवाड गर्नु हुंदैन । अर्को कुरा संक्रमितप्रति हेर्ने दृष्टिकोण नकारात्मक बनाउनु पनि सरासर गलत र नाजायज ठहरिन्छ । संक्रमित भएको जानकारी पाएपछी समाजका केही मानिसहरुले नकारात्मक टिप्पणी गरेको पाईन्छ । संक्रमित स्वस्थ भैसकेपछी पनि बाटोमा भेट्दा अपराधीलाई जस्तो छि छि र धुर धुर गर्नेजस्ता दुव्र्यवहार गर्ने गरिएको देखिन्छ । यो विश्वब्यापी महामारी भएकोले कति वेला कसलाई लाग्छ भन्ने कुनै ग्यारेन्टी छैन । हुन सक्छ दुव्र्यवहार गर्नेलाई पनि लाग्न सक्छ । त्यसैले संक्रमितलाई दुव्र्यवहार होईन माया गर्न सिकौं । यो केही होईन, डराउनु पर्दैन, ठिक हुन्छ भनेर हौसल्ला दिने काम गरौं । आवश्यक सहयोग गरौं । मानविय सहयोग गरौं । संक्रमित भएको थाहा पाएपछी केही साथीभाई, छरछिमेक र आफन्तहरु समेत संपर्कमै आउन नचाहेको पनि पाईयो । के कसो छ भनेर सोध खोज समेत गर्न जरुरी ठानिएन । स्वास्थलाभको शुभेच्छा प्रकट गर्न पनि मनले मानेन । यो आवेगमा आएर आक्षेप लगाईएको होईन । तितो यथार्थ हो । यसले हामी मानवियताको सवालमा कती गम्भिर छौं भन्ने कुराको पुष्टी गर्दछ । यसरी कोरोनाले को संग कती मानवियता छ भन्ने कुराको मुल्यांकन गर्ने अवसर पनि प्रदान गरेको छ । अर्को कुरा यसले मानिसलाई स्वाबलम्वी र मितव्ययी पनि बनाईदिएको छ । कहिल्यै आफुले खाएको भांडा नमाझ्ने, आफ्नो कपडा नधुने सुखभोगीहरुलाई भांडा माझ्न र लुगा धुन पनि सिकायो । त्यस्तै अनावश्यक फजुल खर्च गर्नेहरुलाई कम खर्च गर्न पनि सिकायो । 

सल्लाह र सुझाव ः– एउटा संक्रमितको तर्फबाट म सवैलाई के सल्लाह दिन चाहन्छु भने यस रोगको निर्धारित, निर्दिष्ट लक्षण यही हो भनेर भन्ने अवस्था रहेन । त्यसैले आफुलाई शारिरिक रुपमा केही लामो समयसम्म अप्ठ्यारो महशुस हुन थाल्यो भने पि.सि.आर. चेक गराउंदा उपर्युक्त हुने देखियो । यदाकदा सुनिन्छ– मलाई त लक्षण देखिए पनि सिटामल खाएर, तातो पानी पिएर, काम गरेको गर्यै गर्दा नै ठिक भयो । पक्कै हो, जसको ईम्युनिटी पावर बलियो थियो, उसले पचायो होला तर उसंग भएको भाईरस अरु कमजोर स्वास्थ्य स्थिीती भएका मानिसहरुलाई त सर्ने भयो नि चाहे परिवारका सदस्यहरुलाई होस वा उसंग सम्पर्कमा आएका अन्य मानिसहरुलाई । उसले गर्दा अरु मानिसहरुले दुःख पाउनु भएननी । त्यसर्थ लक्षण देखिएमा वा शंका लागेमा सवैले पि.सि.आर.जचाउनृ जरुरी देखिन्छ । अर्को कुरा अलिकती लक्षण देखा पर्दै जचाईएन भने पछी गाह्रो हुंदा जचाउने अवस्था नरहन पनि सक्छ । सं क्रमित बढ्दै जांदा भेन्टिलेटरमा जानुपर्ने अवस्थामा भेन्टिलेटर नपाईन पनि सक्छ । अस्पतालमा वेड खाली नहुन सक्छ । वेड पाए पनि निको हुने अवस्था नरहन सक्छ । त्यसमाथी पनि सरकारले क्याटागोरी छुट्याएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारको अभावमा ज्यान गुमाउन पनि सकिन्छ । आफु त रहिएन रहिएन, अरुको समेत ज्यान खतरामा पर्न सक्छ । त्यसर्थ वेलैमा सचेत बनौं । अली अली गाह्रो हुनासाथ जचाईयो भने आफु पनि बचिन्छ र अरुलाई पनि बचाईन्छ । जचाउंदैमा ठूलो क्षती हुंदैन । देखिन्छ नै भन्ने पनि छैन । देखिएन भने झनै राम्रो भयो । अरु समस्याको पनि त खोजी गर्न थालिन्छ । त्यसैले आफु बचौं, अरुलाई पनि बचाऔं । यो केही होईन भन्ने अफवाहमा नलागौं । तर सचेत भएर सावधानी अपनायौं भने त्यती आंत्तीनु भने पर्दैन । यो चाहीं पक्का हो । 

निष्कर्ष ः– सचेत हुनुभयो, सावधानी अपनाउनु भयो भने यो केही होईन । पहिले पहिले पनि निमोनिया हुने गर्दथ्यो, निमोनियाका कारण मान्छे मर्ने गर्दथे । यो कडा खालको निमोनिया हो । हेलचेक्राई गरियो भने मृत्यु निम्तीन सक्छ । त्यसैले साबधानी अपनाउनुहोस, पेनिक नहुनुहोस । 

अन्त्यमा टाढा भएर पनि नजिक भएको महशुस गराउनुहुने, नजिक भएर पनि भएको, नभएको उस्तै महशुस गराउनुहुने र फोन र मेसेजवाट स्वास्थलाभको कामना गर्नुहुने, संझनुहुने, नसंझनुहुने र विविध कोणवाट सहयोग पु¥याउनुहुने सम्पुर्णमा धन्यवाद एवं हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । यहांहरुकै शुभेच्छा, सद्भाव, माया, ममता र सहयोगका कारण म आज विश्वब्यापी महामारी कोभिड–१९लाई जित्न सफल भएको छु । म मात्र होईन मेरो जिवनसंगिनी पनि यसलाई जित्न सफल भएकी छिन । यसको श्रेय यहांहरुलाई नै जान्छ । हामी यहांहरुप्रती अत्यन्तै आभारी एवं ऋणी भएका छौं । अन्तमा पुनः दिनको एकपटक फोन गरेर मेरो स्वास्थ्यस्थिीतीको बारेमा जानकारी लिनुहुने आदरणिय दाई मोती घिमिरे र मित्र तथा सहयोगी यमलाल गौतमप्रती विशेष धन्यवाद एवं आभार ब्यक्त गर्न चाहन्छु । धन्यवाद । 


No comments:

Post a Comment