हालको वागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्लाको पनौती, दलिन्चोक साविक वडा नं. १ मेरो जन्मस्थलो पर्दछ । २०४० सालभन्दा पहिलेको कुरा हो, वावु–आमा, दाजु–भाउजु, म र कान्छो भाई गरेर ६ जनाको परिवार थियो हाम्रो । दीदि बहिनीहरु थिएनन् । नभएका होईनन् । मेरा दीदिहरु ५ जना थिए रे । दुर्भाग्य म भौतिक संसारमा आउनुभन्दा पहिले नै उनिहरुले यो भौतिक संसार छाडिसकेका रहेछन् । दीदिहरु मात्र होईन दुईजना दाजुहरु समेत फेरी नआउने बाटो लागिसकेका रहेछन् अर्थात ५ जना छोरी र दुई जना छोरा गुमाउनुको पिडा खेपिरहनुभएको थियो मेरा आमा वाबुुले । अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाको अभाव, भएका अस्पतालसम्म पुग्ने बाटोघाटो नहुनु, पहुंच नपुग्नु, अभाव र गरिवी, धामी झांक्रिमा विश्वास गर्नुपर्ने बाध्यता र पुरातनवादी सोचका कारण सामान्य रोग लाग्दा समेत उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने अवस्थाका कारण हाम्रो परिवारले ७ जना सदस्य गुमाउनु परेको थियो ।
| nirantar afnai batoma |
त्यतीवेला देखी नै वा सानै उमेरदेखी दीदि बहिनी नहुनुको पिडा भोगिरहेको थिएं मैले । छोरिको अभाव खड्कीरहेको थियो बावु आमालाई । घरमा दीदि बहिनी नभएका कारण ६÷७ वर्षको उमेरदेखि नै बाबु आमालाई काममा सघाउने अवसर पाएको थिएं मैले । विहान झिसमिसेमै उठेर आंखा मिच्दै घांस वा सोतर लिन वनमा जानु पर्दथ्यो । तव मात्र पढ्ने, लेख्ने काम गर्न पाईन्थ्यो । खाना खाएर विद्यालय जान हतार हुन्थ्यो । गृहकार्य धेरै भएको दिनमा त भ्याउन मुश्किल हुन्थ्यो । नभ्याएका कारण गुरुको सजाएं खानुपर्दथ्यो । विद्यालयबाट पढेर सांझ घर फर्केर आएपछी किताव थन्क्याउन नपाउंदै खाजा भए गोजिमा हालेर घांसको डोको वोकेर खेत बारिमा हिंड्नुपर्दथ्यो । जवकि अरुका छोराछोरी खाजा खाएर गृहकार्य गरेर पनि गुरुले दिएको पाठ तयार गरेर भ्याउंथे । यती वेला भने ज्यादै दुःख लाग्थ्यो । घांस लिएर घर फर्किंदा झमक्कै सांझ परिसकेको हुन्थ्यो । बेलुकाको खाना खाएर पढ्न, लेख्न बस्यो थकाईले झुपुक्कै निन्द्रा लाग्थ्यो । यद्यपी भोलिपल्ट बिहान पनि घांस, सोतर लिन जानुपर्ने भएकोले जवरजस्ती गृहकार्य गर्न बाध्य हुनुपथ्र्यो । त्यतीवेला ऐलेको जस्तो विजुलीवत्तीको सुविधा थिएन । मट्टीतेलको टुकी वत्ती बालेर नजिकै राखेर पढ्ने, लेख्ने गर्नुपथ्र्यो । टुकिको ध्वांसो सवै नाकभित्र पस्थ्यो । भोलिपल्ट विहान उठेर मुख धुंने वेलामा नाकवाट ध्वांसोको मुश्लो निस्कन्थ्यो । यसरी पठनपाठनका लागि ठुलो कष्ट भोग्नुपर्दथ्यो । हप्तामा शनिवार वल्ल एकदिन विद्यालयबाट छुट्टी मिल्थ्यो । विदा भएर के गर्नु, त्यो दिन त झनै धेरै कामको वोझ बोक्नुपर्दथ्यो । बाबु, आमा र दाजु मेलापात जानु हुन्थ्यो । जसले गर्दा घरका सवै काम मैले नै गर्नुपर्दथ्यो । भकारो, घांस, सोतर, पानी , बस्तु गोठालो देखी लिएर बेलुकाको खाना समेत तयार गरेर राख्नुपर्दथ्यो । यसरी शनिबार त झनै एकछिन फुर्सत हुंदैनथ्यो । यती हुंदाहुंदै पनि त्यो जीन्दगी यतिवेलाको भन्दा विलकुलै फरक थियो । स्वच्छ, रमणिय गाउंले वातावरण, निष्कलंकित, निष्कपट र सिधासाधा सहयोगी गाउंले मन, ताजा र स्वच्छ अर्गानिक खानेकुरा, स्वस्थ जिवन, ढिंडो, रोटी, मकै, भटमास स्वादिष्ट, स्वस्थ र शक्तिवर्धक खानपिन । कती सुन्दर थियो त्यो जिवन ।
| sangharsaka dauran |
त्यतीवेलाका रमाईला पक्षहरु लेखमा समेटिएन भने अन्याय होला भन्ने लाग्यो । हरेक दिन विहान बेलुका घांस, सोतर गर्नुपर्ने । मैले घांस काटेको ठाउंमा झण्डै एक हप्तासम्म घांस पलाउंदैनथ्यो किनकी माटै भेट्नेगरी फेदै लाएर घांस काट्ने मेरो बानी थियो । घांस काट्दै गर्दा वर्षाको समयमा त हरेउ भन्ने सर्प खुव काटिन्थ्यो । घांसजस्तै हरियो हुने । रगत बगेपछी मात्र थाहा पाईने । यस्तै वर्खामा रुखमा चढेर सोतर खसाल्नुपर्ने । रुखैभरी विच्छी, लाभ्रेकिरा, रङ्गिचङ्गी झुसिलकिरा हुने । सोतर काटेर भुईंमा झरिसकेपछी शरिरभरी डावरैडावर । अर्को कुरा मेरो घांस सोतर काट्ने तरिका घरका अन्य परिवारको भन्दा पृथकखालको हुन्थ्यो । मैले काटेको घांस होस वा सोतर हेर्दा निम्ठो डोको देखिने तर खन्याउंदा अरुले काटेको भन्दा दोब्बर हुने । किनकी म खुट्टाले खांदी खांदी हाल्ने गर्दथें । अर्थात मलाई सानै उमेरदेखी काम ठग्न मन लाग्दैनथ्यो । काम गरिसकेपश्चात पक्का काम गर्नु पर्दथ्यो । यसरी यो मेरो ब्यक्तिगत कथा पनि हो र त्यतीवेलाको गाउंले जीवनको यथार्थ चित्रण पनि हो । म त एउटा प्रतिनिधिपात्र मात्र हुं । म जस्ता धेरैको कथा यस्तै यस्तै थियो त्यतीवेला ।
पहुंचको अभावका कारण वाबु र दाजु दुवैजना बेरोजगार हुनुहुन्थ्यो । जसले गर्दा हाम्रो परिवारको आर्थिक
अवस्था अत्यन्तै नाजुक थियो । असमान बितरणका कारण खेत, वारी अत्यन्त कम थियो । खेतवारीका उत्पादित खाद्यान्नले ६ महिना धान्न धौ धौ पर्दथ्यो । त्यसमाथी पनि बाबु ५० वर्षकै उमेरमा दमको रोगी हुनुभयो । आर्थिक अवस्थाका कारण दाजुको पढाइृमा पनि वेलैमा ब्रेक लाग्न पुग्यो । शैक्षिक योग्यताको अभावमा उहां पनि वेरोजगार नै हुनुभयो । जसले गर्दा हाम्रो आधार भनेको ज्याला मजदुरी नै रहन गयो । यो आधारको कुनै ग्यारेन्टि थिएन । कहिले काम पाईन्थ्यो, कहिले पाईंन्दैनथ्यो । कती छाक त हामीले आधा पेट खाएर अघाएको महशुस गरेका थियौं । यसरी हाम्रो परिवारको जिवन संघर्षबाट गुज्रिरहेको थियो । यतिकैमा २०३८ सालमा एस.एल.सी. परिक्षा दिएर म बेरोजगार भएर वसिरहेको थिएं । बाबु रोगी हुनुको बाबजुद पनि पत्रिका बिक्री गर्ने हकरको काम गर्नुहुन्थ्यो । दाजु ज्याला मजदुरी गरेर केही खर्च जोहो गर्नुहुन्थ्यो । यसरी वाबु र दाजुको पारिश्रमिकले घर खर्च पु¥याउन हम्मे हम्मे पर्दथ्यो । घरको दयनिय आर्थिक अवस्थाका कारण मेरो मनले घर बसेर टुलुटलु हेर्न मानेन । जसले गर्दा म घर छाडेर जागिरको खोजिमा भौंतारिएर हिंड्न थाले । निजामती सेवामा जागिर पाउनका लागि बलियो पहुंचको आबश्यकता थियो । मेरो कुनै पहुंच थिएन । त्यसर्थ जागिर सहजै पाउने अवस्था थिएन । तर त्यतीवेला नेपाली सेनामा भर्ती हुन भने अली सहज थियो । हट्टाकट्टा, लायक, खाईलाग्दो भैयो र सेनाको मापदण्डभित्र छिरियो भने सेनामा भर्ती होईन्थ्यो । मापदण्डभित्र छिरेकै कारण २०४० साल चैतमा नेपाली सेनामा जागिरे हुने अवसर प्राप्त भयो । त्यसपछी मेरो पारिश्रमिक पनि थप हुन थालेपछी भने हाम्रो घरको आर्थिक अवस्थामा विस्तारै सुधार आउन थाल्यो । अर्कोतिर वाबुलाई दमको रोगले विस्तारै च्याप्न थाल्यो । रोग क्रमशः बढ्दै गयो र २०४५ सालमा बाबुले हामीलाई सदाका लागि छाडेर जानुभयो । त्यतीवेलासम्म दाजुको र मेरो विवाह भैसकेको थियो । जसले गर्दा कमाउने हातहरु बढ्न गै आर्थिक पाटो अझै बलियो हुंदै गैरहेको थियो । सुख र दुःख जिवनका दुई पाटा हुन भने झैं विस्तारै हाम्रो परिवारमा सुखले प्रवेश गरिरहेको थियो । कालो वादलमा पनि चांदिको घेरा हुन्छ भने झैं अत्यन्तै कठिन अवस्थाबाट गुज्रिएर आएको हाम्रो परिवार यतिवेला खानलाउन पुग्ने अवस्थामा आईपुगेको छ । यो धैर्यता, हिम्मत, आंट, मेहनत र लगनशिलताको परिणाम हो ।
No comments:
Post a Comment