हामी नेपालीहरु बारम्वार भन्ने गर्छौ, हामी युगौंदेखि स्वतन्त्र छौं, स्वाधीन छौं, बहादुर स्वाभिमान छौं । अनि यसैमा गर्व गर्छौं, शिर ठाडो पारेर हिंड्छौं । यथार्थमा के हामी सांच्चै स्वतन्त्र, स्वाधीन, वहादुर र स्वाभिमान छौं त ? यसको उत्तर खोज्न कालापानी जानुपर्छ, सुस्ता र महेशपुर जानुपर्छ साथै भारतसंग सिमाना जोडिएका थुप्रै ठाउंहरु घुम्नुपर्छ । छिमेकी देश भारतद्वारा अतिक्रमीत नेपाली माटो देखेपछि थाहा हुने छ , हामी कति स्वतन्त्र, स्वाधीन, स्वाभिमान र वहादुर रहेछौं । ती अतिक्रमित भूभागहरुले हाम्रो गर्वका बिषय बनेका स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र बहादुरीपनको उपहास गरिरहेका छन । ती ठाउंहरुमा पुगेपछि मात्र यो पिडाको आभास हुन्छ । काठमाडौंमा बसेर नेपाल देख्नेहरुलाई यो थाहा हुंदैन ।
![]() |
| Road construction in Lipulek by India |
हो, निश्चितैरुपमा अमरसिंह थापा, भक्ति थापा र वलभद्र कुंवरजस्ता हाम्रा बीर पुर्खाहरुले बलिदानी लडाईं लडेर हाम्रो स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानको जगेर्ना गरेका थिए । अहिलेसम्म हामी त्यसैमा गर्व गरिरहेका छौं । त्यसैको व्याज खाईरहेका छौं । उनिहरुले राष्ट्र, रािष्ट्रयता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको खातिर हामीले जस्तो टुलुटुलु हेरेर बसेनन्् । जिवनको आहुती गरे । यतिवेला हामी भारतले हजारौं विगाहा जमिन मिच्दा समेत मुकदर्शक भएर बसिरहेका छौं । यस विषयमा न राज्य संचालकहरु गम्भिर बन्न सकेका छन न त नागरिक समाजकेै गम्भिर चासोको विषय बन्न सकेको छ ।
यहां के बुझ्नु जरुरी हुन्छ भने देखावटी रुपमा जसरी प्रस्तुत भएपनि भारत कहिले पनि नेपालको भलो चाहंदैन । उ सदैव नेपालमा अशान्ति र अवनती चाहन्छ । यो कुनै वायस भएर भन्न खोजिएको होईन । तितो यर्थाथ हो । भारतले वर्षौंदेखिको नेपालप्रति देखाएको व्याबहार, क्रियाकलापको मुल्यांकनवाट निकालिएको सही निष्कर्ष हो । हामी सवैलाई थाहा भएकै कुरा हो रोटी दोहोरो मात्र पाक्छ । नेपालले जहिले पनि भारतप्रति असल व्यावहार गर्दै आएको छ । असल छिमेकीको भूमिका निभाउंदै आएको छ । तर भारतले नेपालप्रति कहिल्यै पनि छिमेकिको ब्यवहार गर्न चाहेन । उसले विगतदेखी बारम्बार गर्दै आएको नेपालको स्वाधीनता, राष्ट्रियता र स्वतन्त्रता विरोधी क्रियाकलापहरुले यसको पुष्टी गरेको छ । उसले अहिलेसम्म ७० भन्दा वढी स्थानहरुमा नब्बे हजार विगाहा भन्दा बढी नेपाली भूभाग अतिक्रमण गरिसकेको छ । सुस्तामा मात्र चौध हजार हेक्टर जमिन अतिक्रमण गरेको छ भने कालापानीमा ३७८ वर्ग कि.मी. सिमा अतिक्रमण गरेको छ । यसवाहेक सिमाना जोडिएका २६ जिल्लामध्ये १÷२ जिल्ला छाडेर वांकी रहेका जिल्लाका कुनै न कुनै ठाउंमा नेपालको सिमाना मिचिएको छ । यसरी एकाध विघा जमिनदेखी हजारौं बिघासम्म नेपालको जमिन भारतले मिचेको छ । नेपाल र व्रिटिशकालीन भारतवीच ४ मार्च १८१६ मा भएको सुगौली सन्धिले सिमाना निर्धारण गरी ब्रम्हदेवमण्डीदेखि फालेलुङसम्म ९१३ वटा जङ्गे सिमास्तम्भ खडा गरिएको थियो । तर भारतीयहरुले सुगौली सन्धिलाई लात मारेर सीमाङ्कनका लागि गाडिएका जङ्गे सीमास्तम्भ उखेलेर फाल्ने, रातारात नेपालको भूभागतिर सार्ने, सहायक स्तम्भहरु खडा गरी मूल स्तम्भलाई नमान्ने, छुनै नपाईने दशगजा क्षेत्रभित्र पसेर वालीनाली लगाउने र बसोबास समेत गरिएको पाईन्छ ।
यसरी भारतले हजारौं बिघा जमिन अतिक्रमण गरेको छ भने अर्कोतर्फ नदी सीमाहरुमा अन्तर्राष्ट्रिय नियमहरुको उल्लंघन गरी एकतर्फी रुपमा आफुखुसी बांध बांधिदिएर नेपालका कैयौं खेतीयोग्य जमिन , कैयौं बस्तीहरु जलमग्न बनाईदिएर उजाड पारीदिने काम गरिरहेको छ । हेलसिन्की अभिसन्धि १९६६ तथा जलसम्वन्धी नन्–नेभिगेसन कानून १९९७ जस्ता कानूनमा उल्लेख भए अनुसार सीमारेखाको ८ की.मी. सीमावर्ती इलाकाभित्र एकतर्फी रुपले कुनै पनि देशले बांध बनाउन नपाईने अन्तर्राष्ट्रिय मान्यतालाई समेत उल्लंघन गरेर भारतले लक्ष्मणपुर बांध, महलीसागर बांध, पुर्णागिरी बांध, रसियावाल–खुर्दलोटन वांध, कोईलबास बांध, लालबकैया, टनकपुर, शारदा, खांडो बक्राहा, कमला र लुना नदी बांधहरु बांधी नेपली सीमावर्ती जनतालाई बर्सेनी डुवानमा पार्ने काम गरेको छ । जबकि भारत स्वयंले उल्लेखित अभिसन्धिहरुमा हस्ताक्षर गरेको छ । यहां गम्भीर रुपमा विचार गर्नुपर्ने कुरा के छ भने नेपालबाट लगभग १५० वटा नदीनालाहरु भारतीय भूमिमा प्रवेश गर्दछन् जसमध्ये ६० वटा नदीहरुले नेपाल–भारतवीचको सीमारेखाको काम गरेका छन् । यदि यी ६० वटै नदीहरुमा भारतले एकपछि अर्को बांध बनाउंदै जाने हो भने कुनै एक समय यस्तो आउन सक्छ जुनवेला नेपालको सीमावर्ती क्षेत्र पुरै डुवानमा पर्ने छ ।
त्यतीमात्र होईन भारत कहिले गौतमबुद्धको जीवनीसंग सम्वन्धित नेपालमा रहेका महत्वपूर्ण ऐतिहासिक स्थलहरु लुम्विनी, कपिलबस्तु, रामग्राम, देवदह आदि भारतमा पर्दछ भनी कपोलकल्पित, निराधार, झुट्टा प्रचार गरेर भ्रम फैलाउने काम गर्दछ । झुटको खेती टिकाउ नहुने भएकोले उ कहिले पिपरहवालाई त कहिले उडीसालाई गौतमबुद्धको जन्मस्थल दावी गर्दछ । उसको यो आत्मरतिमा रमाएर मनको लड्डु घिउसंग खानुको कुनै तुक छैन । जबकि यी गौतम बुद्धसंग सम्बन्धित महत्वपूर्ण स्थलहरु नेपालमै अवस्थित भएको कुरा विभिन्न ऐतिहासिक, पुरातात्विक एवं साहित्यिक श्रोतहरुले प्रमाणित गरिसकेका छन् । जसलाई बिश्वले समेत स्वीकारिसकेको छ । यद्यपि भारत विभिन्न वनावटी प्रमाण जुटाउन भने मरीमेटेरै लागिपरेको छ ।
यसरी नै भारत कहिले एउटा सामान्य कलाकारलाई नेपाल विरुद्ध बोल्न लगाएर साम्प्रदायिक सद्भाव भड्काएर राष्ट्रिय एकतामा आंच पु¥याउन घटिया काम गर्दछ भने कहिले सांसद जस्तो जिम्मेवार पदमा बसेको ब्यक्तिलाई नेपालको स्वाभिमानमाथि धावा बोल्न लगाउने निच कार्य गर्दछ । त्यस्तै विभिन्न पत्रपत्रिका र विद्युतीय सञ्चार माध्यम मार्फत समयसमयमा नेपालको राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानमाथि आंच पु¥याउने किसिमका सामाग्री प्रस्तुत गर्दछ । यसै क्रममा भारतको पुरानो मध्ये एक मानिने भारतीय अंग्रेजी पत्रिका ‘ दि स्टेट्सम्यान ’ ले २६ नोभेम्वर २००३ मा आफ्नो अन लाईन संस्करणमा छलफलका लागि भनेर नेपालको सार्वभौमिकताप्रति आंच पु¥याउने खालको आपत्तिजनक सामग्री राखेको थियो । जसमा भनिएको थियो, ‘ नेपाल भारतको राज्य हुनुपर्छ । स्वतन्त्र रहेर यसको कुनै भविष्य छैन । त्याहां रोजगारी छैन । सवै नेपाली रोजगारिका लागि भारत आउंछन् । साधन, श्रोत पनि त्याहां बिलकुलै छैन । यो वांच्न सक्ने अवस्थामा छैन । महाराजा त्रिभुवनले नेपाल भारतमा मिलाउन नेहरुसंग प्रश्ताव राखेका थिए । मूर्ख नेहरुले त्यसलाई अस्विकार गरे । ’ देशको लामो अनुभव बोकेको पत्रिकाले सिमाना जोडिएको छिमेकी देशलाई अत्यन्तै गैरजिम्मेवार र निकृष्ट ढंगले बदनामी गर्नुले भारतको नेपालप्रतिको दृष्टिकोण छर्लङ्ग बुझ्न सकिन्छ ।
![]() |
| Road construction in Lipulek by India |
यतिवेला नेपालको भूमी लिपुलेकमा सडक निर्माण गर्नु कुनै नौलो कुरा नभएर नेपालप्रति भारतीय पेलाई र हेपाईको पराकाष्टको निरन्तरता मात्र हो । यस सन्दर्भमा नेपालले कुटनैतिक तवरवाट समस्याको समाधान खोज्नुपर्छ भनिरहेको अवस्थामा भारतीय सेनापती जान्ने भएर नेपाललाइ कसैले उचालिरहेको छ भनेर बक्तब्य दिनु उचित हो कि होईन । पदलाई अलग गर्ने हो भने पहिला त उ मात्र सिपाही हो । एउटा सिपाहीले छिमेकी देशका विरुद्धमा वोल्ने अधिकार कहांवाट प्राप्त ग¥यो । भारतको नेपालप्रतिको दृष्टिकोण यसवाट पनि प्रष्टिन्छ । यसरी भारतको यो पेलाई नेपालीहरुले कतिन्जेल सहेर बस्ने हो ? यो कस्तो मित्रता हो ? एउटा छिमेकीले पेलिरहने, अर्को छिमेकी सहिरहने मित्रता मित्रता हुन सक्दैन । मित्रता कायम रहन दुवैतर्फवाट वरावर मित्रवत ब्यवहार हुनुपर्दछ । यदि हामिले भारतको कुनै भूभाग प्राबिधिक कारणले मात्र पनि मिचेका थियौं भने उ हामी जसरी सहेर बस्न सक्दथ्यो होला ? हामीले देखेका छौं पाकिस्तानी सेना अभ्यासका लागि भारतीय सिमामा पाईला मात्र टेक्यो भने भारत लड्न तयार हुन्छ । तर उसका थुप्रै सेना नेपालभित्र प्रवेश गरी सिमा मिचेर बसेका छन । त्यती मात्र होईन नेपाली जनतामाथी ज्यादती गरिरहेका छन् । खोई हामीले प्रतिकार गर्न सकेको ? अतः राष्ट्रिय स्वाधीनता, राष्ट्रियता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सम्पूर्ण नेपालीहरु एकजुट भएर भारतसंग प्रतिकार गर्ने बेला आएको छ । यसका लागि सम्पुर्ण क्रान्तिकारी, देशभक्त, राष्ट्रवादी शक्ति एकै ठाउंमा उभिनु जरुरी छ । सिमानामा तत्काल तारको वार लगाउनु जरुरी छ । सिमानासंग जोडिएका नेपालका सवै स्थानिय निकायका जनप्रतिनिधिहरुलाई तारको वार लगाउनका लागि केन्द्रिय सरकारले आदेश देओस । यसका लागि तत्काल बजेट छुट्याओस ।


No comments:
Post a Comment