Monday, June 1, 2020

संघर्षको एउटा नाम, झमक घिमिरे

झमक घिमिरेद्वारा लिखित ‘जीवन कांडा कि फूल’ नामक पुस्तक परिकल्पना गरेर लेखिएको कुनै किंवदन्ती कथा होईन । यो त एउटा व्यथा हो । यथार्थ हो । जीवन भोगाइका क्रममा बटुलिएका दुःख, पीडा, आरोह–अवरोह, उकाली–ओराली, हांसो–रोदन आदिको संगालो हो । सिङ्गो नेपाली समाजको चित्रण हो । यसभित्र नेपाली समाजमा ब्याप्त वर्गिय, जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक विभेद औंल्याइएको छ । त्यसैगरी कुरीति, कुसंस्कार, अन्धविश्वासले नेपाली समाजलाई कति जर्जर बनाएको छ भन्ने कुरा प्रष्ट्याइएको छ । नेपाली समाजभित्र एउटा अशक्त, निरीह, निमुखा व्यक्तिमाथि कति अन्याय, अत्याचार, शोषण, दमन हुन्छ भन्ने कुरा पुस्तकमा छर्लङ्ग पारिएको छ । उहांले न्याय, स्वतन्त्रता र समानताका पक्षमा कलम चलाउनु भएको छ साथै संसार बदल्न पहिले आफू बदलिनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरी परिवर्तनको थालनी आफैंवाट सुरु गर्नुभएको छ । 

साहित्यकार झमक घिमिरेले जीवन संघर्ष हो र जीवनदेखि हारेर मर्नु हुंदैन, जीवनदेखि थाकेर वस्नुहुंदैन भन्ने कुराको सन्देश दिनुभएको छ । ज्यादै अशक्त शारीरिक अवस्था ( हात गोडा नचल्ने, बोल्न नसक्ने )का कारण आफ्नै आमा बाबु र आफु वसेको समाजवाट अपहेलित हुनुपर्दाको पीडा मुटुभरी बोकेर आज शारीरिक रुपमा अशक्त भए तापनि एउटा सपाङ्गभन्दा महान बन्नुभएको छ । साहित्यको आकाशमा एउटा चम्किलो तारा बनेर उदाउनुभएको छ । शारीरिक दुर्वलताको कारण अरुको सहारामा बांच्न विवश एक महिला, जसले शारीरिक अशक्तताका कारण आफ्ना आमाबाबु र समाजबाट माया, ममता र सहारा पाउनुको बदला अपमान, गालीगलौज र पिटाइसमेत खानुप¥यो, उहांले  नै आज दुनियांलाइ मान्छे हुनुको महत्व बुझाउनुभएको छ । जीवनको महत्व बुझाउनुभएको छ । जीवन केवल जिउनका लागि मात्र खर्च गरिनुहुंदैन, आफ्ना लगि मात्र खर्च गरिनुहुंदैन, राष्ट्रका लागि, अरुका लागि पनि अर्पिनुपर्छ भन्ने पाठ सिकाउनुभएको छ । त्यस्तै जीवनबाट भागेर होइन, जे–जस्तो परिस्थिति आउंछ त्यसको सामना गरेर बांच्न सिक्नुपर्छ तवमात्र जीवन सार्थक बन्छ भन्ने सन्देश दिनुभएको छ, उहांले ।

वनको कांडालाई कसैले तिखार्न पर्दैन भने झैं घरपरिवार र समाजको अपमान, घृणा, तिरस्कार, असहयोगका बाबजुद पनि घरपरिवार र समाज बेवास्ता गरेर आफूलाई कमजोर नठानी आत्मविश्वास र आत्मवल बढाएर स्वविवेक प्रयोग गरी तिरस्कार, अपमान, घृणा गर्नेलाई केही गरेर देखाउनुपर्छ भन्ने अठोटकासाथ अगाडी बढ्ने प्रण गर्नुभयो । बाबु आमाबाट किताब, कलम र कापी नपाए पनि धरतीलाई कापी, शीतको थोपालाई मसी मानेर अशक्त आफ्ना खुट्टाका कलिला औंलाहरु शीतमा चोपेर ढुङ्गामा अक्षर लेख्न सिकेर अनि माटोमा सिन्काको सहायताले अक्षर लेख्ने प्रयास गरेर भए पनि नेपालको साहित्यिक फांटमा आफूलाई स्थापित गर्न सफल हुनुभयो । छोरी हुनुको नाताले हेपिनुपर्ने नेपाली समाजमा ज्यादै अशक्त भएर जन्मनुभएकी झमक घिमिरेले स्वअध्ययन गरेरै भएपनि आफ्ना अशक्त खुट्टाका औंलाहरुका माध्यमबाट आफूले अत्यन्तै नारकीय जीवन बिताउनुपर्दा समेत जीवनदेखि हार नमानी दुःख, पीडा, कष्टका पहाड पन्छाउंदै अगाडी बढेको र अगाडी बढ्ने क्रममा थुप्रै मान्छेले आफूलाई डो¥याउन सहयोग गरेका  कारण जीवनले सार्थकता पाउंदै गरेको कुरा उहांको पुस्तक जीवन कांडा कि फूलवाट हामी थाहा पाउंछौं ।
झमक घिमिरे शारीरिक रुपमा अशक्त नारी भएर कसैको दयामा बांच्न चाहनुभएन । स्वाभिमानी भएर बांच्न चाहनुभयो । स्वतन्त्रतामा बांच्न चाहनुभयो । स्वतन्त्रता चाहने भएका कारण बाल्यकालमा आफूजस्तै अमूक भएर बन्धनमा बांधिएको ठानी गाईबस्तु फुकाइदिएको निहुंमा धेरैपटक बाबुआमाको गाली खानुभएको थियो । उहां स्वविवेक प्रयोग गर्न रुचाउनुहुन्छ । उहांको बुझाईमा बाहिरी रुपले मात्र मान्छे राम्रो ठहरिंदैन, भित्री रुप राम्रो हुनुपर्छ । जीन्दगी अनुभूतिहरुको संगालो रहेछ । सम्भावना भए पनि उचित अवसर नपाएपछि मान्छे आफैंमा खुम्चिंदोरहेछ । एउटी महिला सवै अर्थमा स्वतन्त्र हुन आर्थिक रुपमा आत्मनिर्भर हुनु आवश्यक छ । स्रष्टा स्वतन्त्र हुनुपर्छ, कसैको ईच्छामा चल्नुहुंदैन । संसारलाई सुन्दर आंखाले हेर्दा यहांको प्रत्येक चिज सुन्दर देखिने रहेछन् । शिक्षित हुनुको अर्थ कुनै विश्वबिद्यालयबाट प्रमाणपत्र बटुल्नुमात्र होइन । जीवन सृृष्टिको सुन्दर फूल हो । मान्छे जती कठोर भए पनि समय अन्तरालमा पग्लन्छ । उहांका यी बुझाइमा सार्वभौम सत्यता छ ।
संघर्षमा होमिन र बांच्न यसरी साहित्यकार झमक घिमिरेले आफूजस्ता लाखौं अशक्तलाई प्रेरणा दिने काम त गर्नुभएको छ नै भने जीवनमा केही गर्न नसकेर जीवनदेखि दिक्क मानेर आजै मरुं, भोली मरुं, फाल हालेर मरुं, झुण्डिएर मरुं कि विष खाएर मरुं भनेर वैराग्य र निराश जीवन बांचिरहेकाहरुलाई पनि प्रोत्साहन र हौसला दिने काम गर्नुभएको छ । त्यस्तै माया, ममता दिएर शिक्षा, दीक्षा दिएर सहज रुपमा बांच्ने आधार तयार गरिदिनुको वदलामा पशु बांधे झैं चौविसै घण्टा सिक्री वा दाम्लोले बांधेर राख्ने अशक्तका बाबुआमालाई पनि त्यस्तो नगर्नका लागि एउटा सन्देश दिनुभएको छ । यसप्रकार उहां सवैको प्रेरणाकी पुञ्ज बन्नुभएको छ । सलाम छ – झमक घिमिरेलाई । आशा छ उहांको यो प्रेरणाले धेरै झमक घिमिरे जन्मिनेछन् र उहांले जस्तै मदन पुरुस्कारहरु पाउनेछन् ।

No comments:

Post a Comment