Saturday, October 8, 2022

कोदो

भगबानचन्द्र ज्ञवाली

नमस्कार म पहिलाका मान्छेहरुको दुस्मन इज्जतमा समेत हानी पुर्याउने, अहिलेका मान्छेले उपयोगी मानेको भुइमा राख्न नपाउदै गुडी हाल्ने छुचो जातको अन्न कोदो हुँ । हुन त कोदो हुँ भनेर परिचय गराउन भन्दा मेरा व्यङ्ग्यात्मक नामहरूले छिटो चिन्नु हुन्छ । मान्छेलाई खिस्सी गर्नुपर्यो भने  मेरो नाम धेरै उपयोगी हुन्छ  । म र मबाट बन्ने परिकारकने नाममन ऐकाे मात्रा लगाए पछि निकै गजबसँग अरुलाई खिज्याउन उडाउन सकिन्छ । उदाहरण दिइहालुँ गाउँमा कसैले कालो बच्चा जन्माए फलानीले त कस्तो कालो ढिडे छोरो पाइछ बाउ आमा त गहुँको पिठो जस्तै छ्न् ।।छोरो त कोदे नै जन्मेछ नि! भर्खर जन्मेको बच्चाकै अघिसमेत म र उसका बिच पहिलो जुनिकै नाता जस्तो निकै ठुलो सम्बन्ध दर्साइन्छ । केही समय अघि मन नपरेकी र अलि बढी खाने  बुहारीलाई पनि गाली गर्दा कोदेको सन्तान भात को मुख नदेखेको खलक जतिखेरै ढिडो खाएर हुर्केका ढिडेहरु समेत भन्ने गर्थे ।। दिदी अल्लि हुने र बहिनी अल्लि दुखी रहिछ्न भने भेट हुँदा  बहिनी गुनासो गर्थिन हे बरै ! दिदी कोदाको खोले नरुचेर । जतिखेरै कोदाको  खोले ,रोटि,ढिंडो कतिखानु कर्म पनि कस्तो रैछ ।दिदी चाहिं अलिक माते जस्ती छ्या ! आफुलाई  त रुच्दैन आजसम्म खान परेको पनि छैन भगवानको कानमा नपरोस्  त्यस्ता दिन नआउन्। घरमा पाहुना आउँदा मलाइ छुट्टी मिल्थ्यो आफ्नो मा नभए पनि माँगजात गरेर भात पकाइन्थ्यो । सम्धिनी,सम्धी, ज्वाइँ आउदा म को हुँ भन्ने घरमा कसैले चिन्दैनथे। पहिला मान्छेसँग पैसाको अभाव थियो जे भन्यो त्यो किनेर खान पाउँदैनथे  नेपालीले असाद्दै रुचाउने अन्न धान, धानबाट बनाएको चामल, चामलबाट पकाएको भात पनि प्रसस्त खान पाउदैनथे। पेट भर्ने भनेकै म र मेरो नजिकको साथी मकै थियाैं । तर पनि मलाई निकै हेला गर्थे। कुनै अरु खेतीपाती नहुने ठाउमा ह्या ! कोदो फालिदिउला भन्ने गर्थे मलाई छरिसके पछि त्यति सारो अरु बाली जस्तो सियार पनि गर्दैनथे तर पनि म कुनै कन्जुस्याइँ नगरी प्रसस्त फलिदिन्थे। थोरै अहिलेको कुरा गर्छु। पहिलाभन्दा अहिले मेरो पनि अलिकति इज्जत बढेको जस्तो महसुस भएको छ। यो कोदा ले किन यति गुनासो गर्दै छ भन्ने सोच्नु भएको होला तर म सत्य र यथार्थ कुरा गर्दै छु। हो पहिला भन्दा म अल्लि इजतिलो भएको छु ,अल्लि गरुँगो भएको छु। गरिब,दुखीको चुलामा मात्र पाक्ने म अहिले धनी र हुने खानेको चुलामा पाक्न थालेको छु। दिन दुखीले खाने ढिडो नामक मेरो परिकार  आजकल पाँच तारे होटलमा महङ्गो मुल्य तिरेर खानेको भिड लाग्ने गरेको छ।आज भोलि मलाई घरको भान्छामा खुलेआम पकाउने गरेका छ्न। चाहे जोसुकै पाउना आओस नहड्बडाइकन सोद्ने गर्छन् आज त माछा र ढिडो खाउ क्यारे है ? जबाफ हुन्छ नि म त ढिडो भनेपछि हुरुक्क हो। सम्धी सम्धिना  आउँदा समेत सजिलै मलाई नै पकाउने वातावरण  मिल्ने गरेको छ । आफै भन्ने गर्छ्न  मलाइ त भात खान हुदैन कोदाको पिठो भए ढिडो खान पाए खुसी हुन्थे म त। आजकल रोग र रोगीको सङ्ख्या पनि बड्दो क्रम रहेछ फलस्वरूप मलाई उपयोगी मान्न लागेका छ्न। पहिला बिछ्ट्टै भात खाने रहर ले मधेस झर्नु भएका महोदयहरु ले पनि मेरो निक्कै सम्झना गर्नुहुँदो रहेछ। पहिला मान्छेले देखिनसकेको म अहिले कोसेली बनेर पुग्न थालेको छु। गाउँबाट शहरतिर पाउना हुँन जादा बरिस्टेहरुको घर मा म अनिवार्य पुग्ने गरेको छु ।गाउँबाट कोही शहर आउने भनेपछि शहरका बरिस्टेहरु मेरै प्रतीक्षा गर्ने गर्दछ्न् । भनेपछि म किन अब मख्ख नपरु? पालो सबको आउँछ भन्ने सुनेको थिएँ । आहा! कति मीठो ढिडो भन्ने तपाईंहरूको  र आफुलाई सम्मान गरेको भन्दै फुरुक्क पर्ने मेरो पालो आएको हो कि? फुरुक्क परेर नाकको टोप्रो फुराउँदा अब अलिक ठूलो गेडो भएर फल्ने त हैन म ? ए ! अनि एउटा कुरा पहिला म फुल्ने,फल्ने बारीहरु अहिले बाँझिएका रहेछ्न्  म फलिदिने तपाईहरुकै लागि हो म मा कुनै स्वार्थ छैन भन्नुहोस्  आजसम्म मलाई तपाईहरुले केही दिनुपरेको छ र?ती बारीहरुमा मलाई लगाउनु भयो भने म मज्जाले फलिदिन्छु अरु खेतीको तुलनामा म अलिक कम मेहनतमै फलिदिन्छु ।अनि तपाईहरु न त भोको न त रोगी अब यति भनेपछि पनि म मन  परिन ? म बाहिर कालो भए पनि भित्र सेतो छु र सबै कालो बस्तु खराब हुँदैन यति भए पछि त खिल्ली गर्न छोड्नु हुन्छ कि?

 तपाईंहरु मलाई खानोस मात्र तपाईकै भलो हुन्छ। म त तपाईहरुकै लागि बनेको हुँ। अब रिस्टपुस्ट बलियो हुनका लागि  आधुनिक खाजाको सट्टामा मेरो परिकार खानुहोस् तपाइँ पनि खुसी म पनि खुसी  महोदय ! बरु मैले तपाईंहरु लाई नचिनेर केही फरक पर्दैन तर तपाईंहरुले मलाई चिन्न जरुरी छ। घमण्ड नै गर्ने हो भने म त प्रकृतिकै पहिलो अन्न हुँ ,म क्याल्सियमको खानी हुँ । जस कारण हजुरहरुको हड्डी मजबुत बनाइदिन्छु। ममा पाउने पोटासियम र म्याग्नेसियमका कारण  रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछु ।म मुटुका रोगीलाई पनि निकै उपयोगी हुन्छु। ममा आइरन पाइने हुँदा तपाईको शरीर म रगतकाे कमी हुन दिन्न ।म सित यस्ता धेरै चिज छन जो तपाईंहरुको शरीरमा अति आवश्यक  हुन्छ।  हजुरहरुको रोगसङ्ग लड्ने शक्ति बढाउन म धेरै सहयोग गर्छु म तपाईको शरीरमा उर्जाकाे काम गर्छु ।अब चाडइ खाइ हालुँ जस्तो भयो होला हुन त हजुरहरु मानव जातीमा अलिक बडी मपाइत्व हुन्छ रे । हामिलाई पनि थाहा छ नि भनुहुन्छ कि भन्ने डर तर थाहा भए पनि नभए पनि म तपाईहरुकै लागि बनेको हु थाहा पाउन र प्रयोगमा ल्याउन जरुरी छ। आजसम्म घमण्ड गरेको छैन । अब तपाईंहरु पनि घमण्डी नभई कन मलाई चिन्ने र खाने गर्नो् । फेरि भन्छु  हजुरकै भलो हुन्छ। 

                     हजुरहरुकै प्रिय अन्न कोदो

Thursday, August 25, 2022

अपाङ्ग परेवाको कारुणिक कथा


कोभिड–१९ का कारण पहिलो लहर सुरु भएपश्चात भएको झण्डै ३÷४ महिना लामो लकडाउनका बेला खान नपाएर भोकले छटपटाईरहेका मेरो आफ्नै घर र नजिकैको छिमेकको घरमा रैथाने वस्ने गरेका परेवाहरुको सन्दर्भलाई लिएर एउटा लेख लेखेको थिएं । यतिवेला परिस्थिति वदलिएको छ । केही समय यता कोरोनवाट संक्रमित हुनेको संख्यामा वृद्धि भैरहेको भएता पनि विगतमा झैं गंभिर प्रभाव परेको अवस्था छैन । यद्यपी सावधानी अपनाउनुपर्ने कुरामा हेलचेक्राइं गर्नु भने हुंदैन । 


आज पनि पुनः म एउटा अशक्त वा अपाङ्ग परेवाको कथा र व्यथालाई समेटेर यो लेख लेख्न गैरहेको छु । मेरो घर जोडिएको छिमेकिकोमा टपमा वासस्थान बनाएर वस्ने र आहारा खानका लागि मेरो घरको छत र टपमा पनि आउने गरेको एउटा परेवा छ, जसको एउटा खुट्टा मात्र रहेको छ । दुईवटामध्ये एउटा खुट्टामा झण्डै १ वर्ष अगाडी चङ्गाको माड लगाएको धागो वेरिएको थियो । छिमेकी र हाम्रो परिवारले उक्त परेवालाई समातेर खुट्टामा बेरिएको धागो निकालिदिनका लागि धेरै पटक प्रयास ग¥यौं । पटक पटकको प्रयासवाट पनि हामी असफल भयौं । दुर्भाग्यवश हामी उसलाई सहयोग गर्न वा अपाङ्ग हुनवाट बचाउन असफल भयौं । आहारा दिएर झुक्याएर समात्न खोज्दा पनि सकिएन । 

दिनप्रतिदिन धागो उसको खुट्टामा गाडिंदै गैरहेको थियो । बढ्दै गैरहेको उसको पिडाले हामीलाई पनि पिडाबोध भैरहेको थियो । उसको पिडा हाम्रो पनि चिन्ताको विषय बनिरहेको थियो  । तर के गर्ने ? त्यो उसको पिडालाई चिसो मन बनाएर टुलु टुलु हेर्नुको विकल्प पनि त थिएन । जव धागो भित्र भित्र गाडिन थाल्यो, उ छटपटिंदै अर्को सध्य खुट्टा र चुच्चोको सहयोगले धागो निकाल्ने प्रयास गर्न थाल्यो । उ जती प्रयास गथ्र्यो उती धागो कस्सिंदै जान्थ्यो र खुट्टा काटिंदै जान्थ्यो । अन्ततः उसको एक्लो प्रयास असफल भयो र लामो समयपश्चात उसको खुट्टा चुंडिएर गयो । उ पूर्णरुपमा अपाङ्ग भयो ।

 सायद चेतना भएको भए र मानिसप्रतिको उसको डर, त्रास, भय नभैदिएको भए उप्रतिको हाम्रो सदभाव, सहयोग, करुणा पक्कै पनि कामयाव बन्थ्यो होला । अर्को कुरा चेतना भैदिएको भए त उसका पनि परिवार थिए होलान । साथीभाई थिए होलान । उनिहरुले पनि पक्कै सहयोग गर्थे होलान । तर विडम्वना सहयोग गर्ने कुरा त परै जाओस उल्टै उसलाई अरु परेवाहरुले लखेट्ने, खेद्ने काम गरिरहेका हुन्छन । कती पटक त अरुले खेद्दै गर्दा मैले धपाईदिएको छु । 

यतिवेला उ केवल एउटै खुट्टाको सहाराले बांचिरहेको छ । कमजोरलाई दपेट्ने, हेप्ने प्रवृति उसको समूहमा पनि रहेको छ अन्य प्राणिहरुमा झैं । उसलाई आहार खान दिईंदैन । सबलाङ्गहरुले, बलियाहरुले उसलाई लखेट्छन । तर पनि उच्च मनोवलका साथ उसका अरु साथिहरुसंग भिड्दै, लड्दै आहारा खाईरहेको हुन्छ । त्यती माात्र होइन, निहुं खोज्न आउनेहरुलाई लखेटिरहेको पनि हुन्छ । 

यो एरियावाट उ धेरै टाढा गएको देखिंदैन । सायद अन्यत्र अपरिचित स्थानमा जांदा असुरक्षित महशुस हुने भएर पनि होला । अर्को कुरा एउटा खुट्टाले मात्र भर नदिने भएकोले उड्नका लागि ब्यालेन्स नमिल्ने भएका कारण पनि टाढासम्म नउडेको हुन सक्छ । प्रायः दिनभर रातभर एउटै स्थानमा उभिईरहेको हुन्छ । केवल एउटा खुट्टाको सहाराले । सायद एउटा खुट्टाले वस्न असहज भएर पनि होला । हिंड्न त्यती सहज छैन उसलाई । लरखराउंदै हिंड्छ । आहारा खांदै गर्दा उभिन नसकेर लरखराउंदै लडिरहेको हुन्छ । 

यसरी उसलाई उभिन असहज छ । बस्न असहज छ । उड्न असहज छ । आहारा खान असहज छ । कती कठिन छ उसको जिवनयात्रा ? कती संघर्षसंग वांचिरहेको छ उ ? अपाङ्ग भएका कारण कुनै समय पनि दुश्मनको सिकार हुन सक्छ उ । कती धरापमा छ उसको जिन्दगी । र पनि परिस्थितिसंग पौंठाजोरी खेल्दै, जुध्दै, चुनौतीहरुको सामना गर्दै जीवन संघर्ष हो, संघर्ष हो जीवन भन्ने सार्वभौम सत्यलाई आत्मसाथ गर्दै सत्तिससाल झैं उभिएर बांचिरहेको छ उ । सायद मान्छे भैदिएको भए सहन नसकेर आत्महत्या गरिसक्थ्यो होला । 

हो, अव हामी मानवले यो अपाङ्ग परेवावाट बांच्न सिक्नुपर्ने भएको छ । हामीसंग त चेतना, वुद्धी, विवेक सवैथोक छ र पनि हामी त्यो परेवाजती पनि सहनसिल र धैर्यवान हुन सकेका छैनौ । हामीलाई ईश्वरले सवै कुरा दिएर पनि केही नभएका जस्ता भएका छौं । हामी संघर्ष गर्न चाहंदैनौ । चुनौतीहरुको सामना गर्न चाहंदैनौ । किनकी हामीले मानव हुनुको महत्व बुझ्न सकेका छैनौ । र त मुल्यवान जीवनलाई सानातिना अप्ठ्याराहरुमै सिध्याईदिन्छौं । ईच्छा रचाहनाहरु सहजरुपमा उपलब्ध हुन सकेनन् भने, आफुले भनेकोजस्तो भएन भने अप्रिय निर्णय लिन पुग्छौं । त्यसर्थअपाङ्ग परेवावाट संघर्ष गरी बांच्ने तरिका सिकौं । प्रतिकुलतालाई अनुकुलतामा बदलेर बांच्न सिकौं । 



Tuesday, August 9, 2022

अधैर्यताले निम्त्याएको पिडा


संसार एउटा पद्धतिमा चलेको छ । ब्रह्माण्ड पद्धतिमा चलेको छ । चन्द्र, सूर्य, तारा, ग्रह सवै पद्धतिमा चलेका छन । अर्थात प्रकृति आफ्नो नियम र पद्धतिमा चलेको छ । र त यो संसार अस्तित्वमा छ । हामी अस्तित्वमा छौं । 

यसरी यो संसार पद्धतिमा चलिरहंदा बुद्धी, विवेक, चेतना भएका संसारका सर्वश्रेष्ठ हामी मानिस भने पद्धतिलाई लत्याएर, कुल्चिएर आफुखुसी चलिरहेका छौं । हाम्रा प्रत्येक क्रियाकलापहरु प्रकृतिको नियम विपरित छन । हाम्रा सोचविचार, ब्यवहार, चिन्तन, आनिवानी, चरित्र, खानपान सवै अप्राकृतिक हुन थाले । जसका कारण आज हामी पिडाको भूमरिमा फस्न पुगिरहेका छौं । शारिरिक र मानसिक दुवै किसिमका पिडावाट गुज्रिरहेका छौं । यसको दोषी अरु कोही नभएर हामी स्वयम नै हौं । 

हामीलाई हरेक कुराको परिणाम चांडोभन्दा चांडो चाहिएको छ । धैर्य गर्न पटक्कै सक्दैनौ । यहांसम्मकी छोराछोरीलाई स्कुल भर्ना गर्न पाएका छैनौर्, यसले एस.ई.ई. कहिले पास गर्ने होला’ भनेर सपना देख्न थाल्छौं । उनीहरुलाई थाहा छ लगातार पास गर्दै गए भने एस.ई.ई. पास गर्न १३ वर्ष लाग्छ । यो थाहा पाउंदा पाउंदै पनि १३ बर्ष अगाडीदेखि नै अनावश्यक तनाव लिन थाल्छन । अझ कसैले त छोराछोरी पहिलो, दोस्रो पोजिशनमा आएका रहेछन भने एक तह कक्षा माथी चढाउनका लागि विद्यालयलाई आग्रह गर्न थाल्छन । युकेजीवाट एक कक्षामा भर्ना नगरी एकैपटक दुई कक्षामा भर्ना गरिदिन्छन त्यती नभए पनि एक कक्षाबाट दुई कक्षामा नपढाई ३ कक्षामा भर्ना गरिदिन्छन । जसले गर्दा फट्किएको कक्षाको विषयवस्तुको ज्ञान बच्चालाई हुंदैन । हरेक कक्षाको विषयवस्तु एक अर्को कक्षासंग अन्तरसम्वन्धित हुन्छन । जसका कारण तल्लो कक्षामा जतिसुकै तिक्ष्ण, अव्वल भएपनि पढाईमा कमजोर बन्दै जान्छ । सम्भवतः कमजोर हुंदै जांदा एस.ई.ई. मा फेल हुन पनि सक्छ वा फेल नभए पनि वल्ल वल्ल पास हुन सक्छ । यस्ता थुप्रै उदाहरणहरु भेटिन्छन । 

यसरी तिक्ष्ण वुद्धि भएको सुरुका दिनमा अव्वल पढाई भएको वालक बाबु आमाको आफ्नो छिटो परिणाम खोज्ने चाहनाका कारण अन्ततः कमजोर विद्यार्थीमा परिणत हुन पुग्छ । यसले गर्दा उनीहरुको उच्च शिक्षामा समेत नकारात्मक असर पर्न जान्छ । राम्रो परिणाम नआएपछि राम्रा स्तरिय कलेजहरुले भर्ना लिंदैनन । उसले आफुले चाहेको विषय पढ्न पाउंदैन । यसरी उनीहरुको भविष्यमाथी नै खेलवाड हुन पुग्छ । 

यसैगरी आजकाल हाम्रो समाजमा व्याप्त सानै उमेरमा हुने प्रेम विवाह, समाजिक सञ्जालमार्फत हुने च्याटिङ्ग प्रेम मार्फत हुने विवाहले अत्यन्तै विकृत रुप धारण गरिरहेको छ । विवाहको सामाजिक, धार्मिक, सांस्कृतिक, नैतिक मुल्य मान्यतालाई लात मारेर विशेष गरी गाउंघरमा विद्यालयमा ७÷८ कक्षामा पढ्दा पढ्दै प्रेम गरी विवाह गर्ने हतारोको कारण केटाकटी दुवै घरवाट भागेर सहर पस्ने जुन खालको एउटा प्रवृत्ति देखिएको छ, यसले थुप्रै दुर्घटनाहरु निम्त्याईरहेको पाईन्छ । पढाइलाई छाडेर बाबु आमाको लगानी, इज्जत, चाहनालाई माटोमुनी मिलाईदिएका कारण बाबु आमाको डरले दुवै केटाकेटी आफ्नो घरमा जान नसक्ने अवस्था एकातिर रहन्छ भने अर्कोतर्फ शहरमा होस वा अन्यत्र नागरिकताविना कार्यालयहरुमा रोजगारिको अवशर प्राप्त नहुने हुंदा वेरोजगारीको समस्याले पिरोल्न थाल्छ । नागरिकता बनाउनका लागि १८ वर्ष पुग्नुपर्ने र वाबुको सिफारिस पनि चाहिने हुंदा झनै थप चिन्ता थपिन पुग्छ । कहिं कतै उजुरी गरौं न त भने पनि कानुन विपरित २० वर्ष नपुगी विवाह गरिएको छ । ज्याला मजदुरी गरौं भने उमेरका कारण कडा मेहनत गर्ने अवस्था छैन । कहिं सानोतिनो व्यपार व्यवशाय गरौं लगानी गर्ने पैसा छैन । त्यती मात्र होईन कलिलै उमेरमा गर्भवती हुंदा महिलाको स्वास्थ्यमा असर पर्न जाने समस्या अर्को छ । 

यसरी विवाहलाई हलका ढङ्गले खेलवाड ठानी उमेरनै नपुगी हतारमा, लहडमा गरिंदा त्यसवाट उत्पन्न हुने मानसिक र शारिरिक पिडा अत्यन्तै दर्दनाक हुने गर्दछ । त्यस्ता खालका विवाह परिवार, समाज र कानूनले समेत स्विकार नगर्ने भएपछि कतिपय केटाकेटीले बांच्ने आधार कतैवाट नदेखेपछि आत्महत्याको बाटो अपनाएका घटनाहरु हामीले थुप्रै देखेका छौं, सुनेका छौं । त्यसर्थ विवाहजस्तो पवित्र वन्धनलाई ख्यालठट्टा नगरी धैर्यकासाथ कानूनी, सामाजिक, धार्मिक, सांस्कृतिक मुल्य र मान्यतालाई आत्मसाथ गरी अपनाउने गरौं । यसवाट जिवन सुन्दर र सुखमय बन्ने छ भन्ने कुरामा कसैको दुई मत रहंदैन । 

यसैगरी कतिपनि धैर्य गर्न नसक्ने र छिट्टै परिणाम खोज्ने आदतले जीवनका धेरै पाटाहरुलाई आघात पु¥याईरहेको पाइन्छ । रोजगारीका कुनै पनि माध्यम चाहे त्यो व्यापार होस वा जागिरलाई अपनाउन नपाउंदै छिटोभन्दा छिटो धनी हुने सपना देख्न थाल्छौं । अनि धैर्यता गुमाउंदै अवैध र अनैतिक किसिमले कमाउने वाटो खोज्न थाल्छौं । राता रात धनी हुने सपना देख्न थाल्छौं । छिटो अकुत सम्पति कमाएर अत्यन्तै महङ्गो लक्जरी गाडी, गगनचुम्वी महल प्राप्तीका लागि भ्रष्टाचारको सहारा लिन थाल्छौं । कमिशन, घुसखोरीका लागि दलाल, तस्करीको सहारा लिन थाल्छौं । यसरी परिश्रम नै नगरी अनैतिक ढङ्गले गलत बाटोवाट प्राप्त गरेको धन दिगो नहुने हुंदा एकदिन हामी यो वा त्यो माध्यमवाट नराम्रोसंग फस्ने छौं । आफु त वर्वाद हुन्छौं नै सम्पुर्ण परिवारलाई समेत वर्वाद पार्छौं । त्यसर्थ धैर्य गर्न सिकौं । छिट्टै परिणाम नखोजौं । न्यायिक ढङ्गले कमाउं र हांसीखुसी सुखी जीवन विताउं । 

अरु त परै जाओस, स्वास्थ्यमाथी प्रत्यक्षरुपमा असर पर्ने कुरामा समेत हामी गम्भिर हुन सकेनौ । प्रकृतिले हामीलाई स्वस्थबर्धक अर्गानिक अत्यन्तै पौष्टिक आहार दिएको छ तर हामीले त्यसलाई लत्याएर अप्राकृतिक आहार ग्रहण गर्न थाल्यौं । पकाएर खान समय लाग्ने भएकाले हामी नपकाईकनै खाने खानेकुराको खोजी गर्न थाल्यौं । रोटी, ढिंडो, मकै, भात खान छाडेर कहिले कहिलेदेखि बनाएर राखिएका वर्षौंसम्म नसढोस भनेर स्वास्थ्यलाई गम्भिर हानी पु¥याउने खालका केमीकल हालेर बनाईएका फास्टफुड, जङ्गफुड खान थाल्यौं । 

त्यतीमात्र होईन साधा किसिमले खानुपर्ने खानेकुरालाई चिल्लो, पिरो, अमिलो, मसालेदार बनाएर खान थाल्यौं । हामी स्वास्थ्यका निम्ति होईन मन र जिव्रोलाई चित्त बुझाउनका लागि खान थाल्यौं । अझ हामी त बांच्नका लागि होईन, खानका लागि बांच्न थाल्यौं । मौसमअनुसार समय लगाएर उत्पादन हुने खानेकुराको ठाउंमा बेमौसमी र वेसमयमा छिटो र धेरै फल्ने हाइव्रिड खानेकुरा खोज्न थाल्यौं जसमा कुनै पनि पौष्टिक तत्व पाइंदैन । र त हामी कलिलै उमेरमा अत्यन्तै पिडादायी गम्भिर खालका असाध्य रोगहरु हर्टअट्याक, ब्रेनहेम्रेज, स्टर्क, क्यान्सर, सुगर, प्रेसर, मृगौलासम्वन्धि रोगहरुवाट आक्रान्त भैरहेका छौं । धैर्यता गुमाएकै कारण र छिटो परिणाम खोज्दा हाम्रो यो हविगत भएको हो । 

अर्को कुरा हामी मेहनत परिश्रम नै नगरी कम्फर्ट जोनमा बसेर सफल ब्यक्ति बन्ने चाहना राख्छौं । जव कि यो एकदमै असम्भव कुरा हो । आजसम्म सफल भएका संसारका जतिपनि मानिसहरु छन, उनीहरु मेहनत नै नगरी सफल भएका पनि होइनन र छोटै समयमा सफल भएका पनि होईनन् । थुप्रै चुनौतीहरुसंग जुध्दै, अप्ठ्याराहरुसंग पौंठाजोरी खेल्दै लामो दुख, कष्ट जेलेर सफल भएका हुन । सफल ब्यक्तिको पछाडी थुप्रै संघर्षका कथा, व्यथाहरु लुकेका हुन्छन । हामीलाइ लाग्न सक्छ एकैचोटी सजिलैसंग सफलता प्राप्त गरे होलान । तर त्यो हाम्रो दृष्टिभ्रम मात्र हो । कति चोट, हण्डर खाएर, जोखिम मोलेर सफलता प्राप्त गरेका छन । दर्जनौपटक असफल हुंदै सफलता प्राप्त गरेका छन । 

तसर्थ हामीले धैर्यवान बन्दै छिटो परिणाम खोज्ने भन्दा पनि उचित परिणामसहितको दिगो उपलब्धि प्राप्ती हुने काम ग¥र्यौं भने पक्कै पनि हामी सफल बन्ने छौं र हाम्रो जीवन सुखी, खुसी र सुन्दर बन्ने छ । 


Thursday, July 14, 2022

मानब शरीरसंग पानीको सम्बन्ध -------------------------------'-------- हाम्रो शरीरमा 70 प्रतिशत भाग पानि हुने भएकोले शरीरका लागी पानीको महत्व अत्यन्तै ठुलो रहेको छ । (क) पानी किन पीउने ? ---------------------------- (1) टाउको दुख्न कम हुन्छ । (2) एकाग्रता बढाउंछ । (3) पाचन क्षमतामा बृद्धी गर्छ । (4) छालामा निखार ल्याउंछ । (5) जोर्नी र माशपेसीलाई स्वस्थ राख्छ । (6) शरीरको तापक्रम नियन्त्रण राख्दछ । (7) आन्तरीक अङ्गको सफाई गर्छ । (8) भावनात्मक बिकास गर्छ । (9) तौल नियन्त्रण गर्छ । (10) शरीरको जलतत्वको शुरक्षा गर्छ । (ख) पानी कति पीउने ? ------------------------------ (1) मध्य पहाडी भेगमा बस्नेहरुले 2 देखी अढाई लीटर पीउने । (2) गर्मी स्थानमा बस्नेहरुले सांढे चार लीटर पीउने । (3) अधिक श्रम गर्नेले 5 लीटर पीउने । (ग) पानी कतिबेला पीउने ? कति पीउने ? किन पीउने ---------------------------------------------------------------- (1) बिहान खाली पेटमा- 2 गीलास - आन्तरीक अंगको क्षमतालाई दोब्बर बनाउन सहयोग गर्छ । (2) नुहाए पश्चात - 1 गीलास - रक्तचाप घटाउन सहयोग गर्छ । (3) खाना खानुभन्दा 1 घण्टा अगाडी - 1 गीलास - पाचन क्रिया र पाचन प्रणालीलाई चुस्त दुरुस्त राख्छ (4) सुत्नुभन्दा 1 वा आधा घण्टा अगाडी - 1 गीलास - रातको समयमा हुन सक्ने हट अट्याकको खतराबाट बचाउंछ । त्यसबाहेक दीनभरी एक डेढ घण्टाको अन्तरालमा 1/2 गीलास पानी पीउने । (घ) पानी कसरी पीउने ? -------------------------------- पानी सलसली निल्नु हुंदैन ।घुटु घुटु निल्नुपर्छ वा चुसेर पीउनु पर्दछ । आयुरबेद भन्छ - खानालाई पीउनु, पानीलाई निल्नु । (ङ) पानी पीउन नहुने अवस्था(आयुरवेदिक मान्यता --------------------------------------------------------------- अनुसार) ------------ (1) धेरै थाकेको बेला,श्रम,ब्यायाम, दौड वा मैथुन कार्यको लगतै । (2) अति नै भोक लागेको बेला । (3) शरीरको अवस्थीती असजिलो छ भने वा सुतेको वेलामा । (4) खाना खानु भन्दा अगाडी वा खानापछि तुरुन्तै । (5) तातो चीज खाने बितिकै । (6) सुत्नु अगाडी । (7) फलफूल, धुम्रपान, सुपारी खाएको बेलामा संगै । खाना खाने बितिकै चीसो पानी पीयो भने हट अट्याक हुने सम्भाबना हुन्छ । (च) पानी कम भएमा के हुन्छ ? ------------------------------------- दीनमा 3 लीटर भन्दा कम पानी पीउनेलाई मुत्राशयको क्यान्सर हुन्छ । (छ) पानी तातो की चिसो पीउने ? -------------------------------------------- बढी चीसो पानी या तरल पदार्थ पेटमा पुग्ने बितिकै द्रुत गतिमा बगेर तलतीर जान्छ, जबकी मनतातो या शरीर बराबर तापक्रम भएको पानी पेटमा धेरै बेर रहन्छ । दम, ब्रोङ्काईटीस, कफजन्य रोग, वात रोग, जोर्नी दुख्ने तथा सुन्नीने, मोटोपन,ज्वरो आदी समस्या छ भने तताएर सेलाएको मनतातो पानी लाभदायक हुन्छ । चील्लो, तारेको, बढी भुटेको खाना खानु लगतै मन तातो पानी पीउनाले शरीरलाई रोग मुक्त राख्दछ । श्रोत : - डाक्टर राजु अधिकारीद्वारा लीखीत पुस्तक खाने कसरी, पीउने कसरी ।


 

Wednesday, July 13, 2022

रिसले निम्त्याउने खतरा - दुर्योधन बस्नेत अष्ट्रेलियामा सन.२००६ देखि २०१२ सम्म ३१३ जना हर्ट अट्याकका विरामीहरुमा गरिएको एउटा अध्ययनवाट रिसको कारणले २ घण्टाभित्र हर्ट हट्याक भएका मानिसहरुको संख्या एकदमै धेरै पाईयो । उक्त अध्ययनबाट परिवारका सदस्यहरुसंग झगडा भएका कारण रिस उठेर हर्ट अट्याक हुनेको संख्या २९ प्रतिशत, वाहिरी मानिसहरुसंग विवाद भएका कारण रिस उठ्दा हर्ट अट्याक हुनेको संख्या ४२ प्रतिशत, काम गर्ने ठाउंमा झगडा भएका कारण रिस उठेर हर्ट अट्याक हुनेको संख्या १४ प्रतिशत र गाडी चलाउनेहरुलाई रिस उठेर हर्ट अट्याक हुनेको संख्या १४ प्रतिशत पाईयो । उक्त अध्ययनवाट रिसका कारण निरोगी मानिसलाई समेत मात्र २ घण्टाभित्र हर्ट अट्याक हुने कुरा पत्ता लाग्यो । रिसका कारण ब्लडप्रेसर बढ्ने, मुटुको चाल बढ्ने, नशाहरु खुम्चिने, कोलस्ट्रोलको मात्रा बढ्ने र शरिरमा ब्लड क्लटिङको मात्रा अचानक वढ्न गै हर्ट अट्याक हुने कुराको पुष्टि सो अध्ययनबाट हुन अाएको छ । त्यसर्थ अवदेखि म चाहिँ नरिसाउने भएं । हजुरहरु पनि नरिसाउनुहोला है ।


 

Wednesday, January 26, 2022

एउटा बेवारिसी लास


उमेरले असी नाघीसकेको

एउटा बेवारीसी लास

सडक पेटीमा लम्पसार छ

नाताले बराजु भैसकेका

नाती,पनाती,खनाती देखीसकेका उनि

 सडक पेटीमा

नाताबिहीन अवस्थामा ढलीरहेको छन

सायद एउटा कुकुरको अवसान पनि

त्यो स्तरको नहोला

कैयौंको घरवार बसाईदिने उनी

आकासमुनी मृत्युवरण गरीरहेका छन

सडकपेटी उनको मृत्युशैंया बनेको छ

सायद छोरो अमेरीकामा होला

छोरी जापानमा होली

नाती,नातीना डाक्टर होलान

ईन्जीनियर होलान

पाईलट होलान

नातागोता थुप्रै होलान

र पनि अाज

उनको लास एक्लै छ

नितान्त एक्लै

पानी पानी भनेर

कती चीच्याए होलान

छोरालाई कती बोलाए होलान

छोरीलाई कती बोलाए होलान

नाती नातीनी कती सम्झे होलान

र पनि फेरी उनको चीच्याहट

केबल चीच्याहटमै सीमीत रह्यो

सबैथोक भएर पनि

नातागोताबीच रहेर पनि

उनको अन्तिम आवाज सुनीदीने कोही भएन

पानी पीलाउने कोही भएन

आंसु झारीदीने कोही भएन

कतीलाई बसाए

कतिलाई खुवाए

कतिलाई हंसाए

आखीर तीनैले

अन्तिममा रुवाए

नेपाली समाजको यथार्थ हो यो

भोग्नेहरुको भोगाई हो यो

याद गर्नुहोस महाशय

के थाहा

यही भोगाई तपाईंको नहोला भन्ने

आखीर यहांको नियती हो यो

Tuesday, January 18, 2022

बा

- निरा शर्मा


मैले धेरै पढेँ 

आमाका बेदनाका कथाहरु

तर कहिल्यै पढिन 

बाका अनुहारमा सलबलाएका 

दु:खका बक्र रेखाहरु 

धेरै पटक कविहरुले 

आमाकै तारिफमा कबिता कोरे 

आमाकै गीत संगीत भरे 

आमालाई धर्ती भन्नेहरुले 

बालाई कहिल्यै आकाश भनेनन् 

र त 

बा सँधै ओझेल परे ।


बारीको डीलमा चुपचाप 

ठिंग उभिएको बूढो रुख झैं 

बा कहिल्यै उभिएनन् 

भन्ज्यांगको चौतारी झैं 

ढसमस्स बसेनन् बा कहिल्यै 

बा त 

हाम्रो अँधेरो मेटाउन 

मैन झै जलिरहे 

हाम्रा खुसी समेट्न 

मोनो रेल झैं चलिरहे 

जिन्दगी भर कुदिरहे कुदिरहे 

थाकेर सुइय नगरि 

सँधै एक्लै कुदिरहे 

त्यसैले त अग्लिदैछ 

एक्लोपनको हिमाल 

बाको मनभित्र


यतिखेर 

लम्पसार छ निरस जिन्दगी 

बाकै अघिल्तिर  

थिचिएर त्रासले सँधै 

घुरिरहन्छ घ्वारघ्वार 

कुम्भकर्णको निद्रामा 

बाको अन्योल जिन्दगी 

तर बा 

करकलाको पातमा टलपल पानी झैं 

आँसु टिलपिलाएका आँखामा

निद्रा हराएपछि  

खुसीहरुको सिला खोज्दैछन् 

परेलीका डीलहरुमा


बोल्दा बोल्दै भासिन्छ बाको स्वर 

बोली बन्द हुन्छ एकाएक 

थाहा पाउछु म गला अबरुद्ध भएको 

र पनि दबाएर सबै पीडा 

मुस्कुराएको अभिनय गर्छन् 

म चिन्छु त्यो मुस्कान 

त्यो नक्कली मुस्कान 

जो बाको होइन 

हुदै होइन ।


फुंग रंग उडेका 

उदासीका फूलहरु 

फुलेका छन् बाका मुहार भरि 

चाउरिएर 

ग्राफ जस्ता गालाका रेखाहरुमा 

कतै एक धर्को सन्तोष छैन 

कपाल झरेर खुइलिएको बाको तालुमा 

जिम्मेवारीको चर्को घामले 

उदाए देखि अस्ताउदा सम्म

ठुंगिरहन्छ

 

भित्र मनमा कता कता 

बिगत र आगतको 

उही चिन्ताको पहाड उभिएको छ 

र बा त्यही पहाडमा उभिएर 

संसार जितेको नाटक गर्छन् 

अनि बाँड्छन् हामीलाई 

पैंचो मागेका उधारा खुसीहरु 

तर यथार्थमा 

बा हारिरहन्छन् पलपल 

मेरो लागि 

तिम्रो लागि र 

हाम्रो लागि 

हो, बा त्यो हरुवा हो 

जो सँधै हारिरहन्छन् 

केवल सन्तानका लागि ।

Tuesday, January 4, 2022

रारामुगु यात्राको अन्तिम दिन र देखे बुझेको मुगु ।

 म‍ोतीलाल घिमिरे


भौगोलिक बनोटले बिकट ठानिएको मुगु धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण रहेछ। हाम्रो पथ प्रदर्शक(गाइड)को रुपमा रहेका भाई पदम रोकायाका अनुसार महादेवकी पत्नि सतिदेवीको मृत्यु भईसके पछि सतिदेवीको अन्तिम अंग मुगु जिल्लामा अवस्थित छॅायानाथ भन्ने ठॅाउमा पतन भएकोले त्यस ठॅाउ “छॅायानाथ धाम”ले प्रचलित रहेछ ।
समुन्द्र सतहबाट ४५०० मिटर उचाईको हिमशिखरमा रहेको छॅायानाथ मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछामलगायत जिल्लाबाट तीर्थालुको घुइँचो लाग्ने र स्थानीयहरु पनि ३/४ दिन लगाएर मेला भर्न पुग्ने गरेको सुनाए।

नेपालकै ठूलो ताल रारा र छॅायानाथ धाम मुगुमा भएकाले जनजीवन कष्टकर भए पनि प्राकृतिक र धार्मिक हिसाबले धनी रहेछन मुगुबासी।


प्रकृतिले धर्तीकै स्वर्ग तुल्य रारा जस्तो सुन्दर ठॅाउ दिएको छ । तर रारा नजिकैको ७०/७२ घर रहेको मुर्मा गॅाउको मानिसहरुको कठिन जीवन देख्दा दु:ख लाग्यो । यात्रामा आएका पाहुनाहरुलाई मुस्कान सहित स्वागत त गर्छन् तर महिनौं देखि ननुहाएर जिंग्रिंग गुजुल्टिएको कपाल,नाक मुनी सिंगानको पाप्रा र कुपोषित शरीर देख्दा कटक्क मन दुख्यो ।


८/९ जना बच्चाहरुलाई कापी कलम किन भनेर हामीले केही पैसा हातमा थमाईदिएपछि उनीहरुको अनुहारमा देखिएको प्रफुल्लताले उनीहरुको अवस्था देखेर दुखेको हाम्रो मनमा मलम लगाई दिए जस्तै अनुभूत भयो ।

मुगु जस्ता भौगोलिक हिसाबले बिकट ठानिएको तर प्राकृतिक सौन्दर्यले भरिएको ठॅाउहरुको विकास र त्यहॅाका मानिसहरुको सहज जीवनको लागि सरकार एवं राजनैतिक प्रतिनिधिहरुले त्यस्ता क्षेत्रमा पर्यटन विकासलाई निर्विकल्प ठानी योजना बनॅाउदा पॅाच तारे होटलमा नभै त्यहींका जनताको अनुहार हेरी पर्यटन विकासको लागि पूर्वाधार तयार गरे हुन्थ्यो नी जस्तो मनमा लाग्यो ।

ताल्चा एयरपोर्ट नजिकै एक रात बसाईको क्रममा मुगुको सदरमुकाम गमगढी सम्म पुग्न मन लाग्यो । ताल्चा एयरपोर्टबाट मुगुको सदरमुकाम सम्मको दुरी त्यस्तै ३/४ कि.मि.छ ।त्यती दूरीको एक तर्फी जीप भाडा रु.५०० प्रति व्यक्ति  रहेछ।अली अस्वाभाविक जस्तो लाग्यो।

रारा ताल क्षेत्रमा रहेको केवल २ वटा होटल र ताल्चाको यातायातको माध्यम जीप संचालनमा ट्राभल एजेन्सिका सिमित व्यक्तिहरुको पकडमा सिन्डिकेट जस्तै रहेछ।

राराको सुन्दर अवलोकन र गमगढी घुमाई पश्चात काठमांडौ फर्किने क्रममा ताल्चाबाट नेपालगन्ज सम्म ट्वीन अटरबाट आकाशे यात्राको तालिका थियो।

ताल्चा बिमान स्थल अलि जोखिम रहेछ।बिमान पहाडमै ठोकिन्छ कि जसो गरी उडान र अवतरण हुने रहेछ।पहाडको खोंचमा रहेको सानो बिमान स्थलमा तारको घेरा बारा केही छैन।बोर्डिंग पास प्रक्रिया अन्तर्गत रजिष्टरमा  नाम लेखाई यात्रुहरु जहाजको प्रतिक्षामा खुला धावन मार्ग नजिकैको चउरमा बस्नु पर्ने रहेछ।जहाज आयपछिको दृष्य गजबको थियो।जहाज नभएर रत्नपार्कमा बस चढे जस्तो।

जहाज आउने भएपछि धावन मार्गमा लाईन लागेर बस्ने र जहाज आएपछि यात्रु झर्ने र सरसफाई,प्राविधिक जॅाच बिना रत्नपार्कमा बस चढे झैं यात्रुहरु चढ्ने।

यात्रुहरु ओर्लने र चढ्ने अवधिमा बिमानको इन्जिन बन्द नगरी बिमान अवतरण गरेको लगभग १० मिनेट भित्रमा उड्दो रहेछ।

ताल्चा देखि नेपालगन्ज सम्मको ट्वीन अटरबाट लगभग ५० मिनटको डर मिसिएको रोमान्चकता सहितको आकाशे यात्रा र नेपालगन्ज देखि काठमांडौ सम्मको ५५ मिनटको सहज हवाई यात्रा पश्चात रारा यात्रा सकिय पनि राराको सजीव चित्र मनमा सजॅाउदै घर पुगियो।


आफ्नो देखाईर भोगाईबाट रारा जान चाहनेहरुको लागि सुझाव:

-राराको सुन्दरताले रारा जान मन लाग्छ तर भौगोलिक हिसाबले त्यती सहज छैन।

-बच्चा,बृद्ध बृद्धा एवं अशक्तहरुलाई धेरै गाह्रो छ।

-आफ्नै किसिमले जॅादा होटेलमा बास पाउन र ताल्चाबाट फर्किन बिमान टिकट पाउन  सहज नहुन सक्छ।

-मध्य फागुन देखि बैशाख र असौज,कार्तिक रारा यात्राको लागि उपयुक्त समय हो।