Tuesday, January 4, 2022

रारामुगु यात्राको अन्तिम दिन र देखे बुझेको मुगु ।

 म‍ोतीलाल घिमिरे


भौगोलिक बनोटले बिकट ठानिएको मुगु धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण रहेछ। हाम्रो पथ प्रदर्शक(गाइड)को रुपमा रहेका भाई पदम रोकायाका अनुसार महादेवकी पत्नि सतिदेवीको मृत्यु भईसके पछि सतिदेवीको अन्तिम अंग मुगु जिल्लामा अवस्थित छॅायानाथ भन्ने ठॅाउमा पतन भएकोले त्यस ठॅाउ “छॅायानाथ धाम”ले प्रचलित रहेछ ।
समुन्द्र सतहबाट ४५०० मिटर उचाईको हिमशिखरमा रहेको छॅायानाथ मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछामलगायत जिल्लाबाट तीर्थालुको घुइँचो लाग्ने र स्थानीयहरु पनि ३/४ दिन लगाएर मेला भर्न पुग्ने गरेको सुनाए।

नेपालकै ठूलो ताल रारा र छॅायानाथ धाम मुगुमा भएकाले जनजीवन कष्टकर भए पनि प्राकृतिक र धार्मिक हिसाबले धनी रहेछन मुगुबासी।


प्रकृतिले धर्तीकै स्वर्ग तुल्य रारा जस्तो सुन्दर ठॅाउ दिएको छ । तर रारा नजिकैको ७०/७२ घर रहेको मुर्मा गॅाउको मानिसहरुको कठिन जीवन देख्दा दु:ख लाग्यो । यात्रामा आएका पाहुनाहरुलाई मुस्कान सहित स्वागत त गर्छन् तर महिनौं देखि ननुहाएर जिंग्रिंग गुजुल्टिएको कपाल,नाक मुनी सिंगानको पाप्रा र कुपोषित शरीर देख्दा कटक्क मन दुख्यो ।


८/९ जना बच्चाहरुलाई कापी कलम किन भनेर हामीले केही पैसा हातमा थमाईदिएपछि उनीहरुको अनुहारमा देखिएको प्रफुल्लताले उनीहरुको अवस्था देखेर दुखेको हाम्रो मनमा मलम लगाई दिए जस्तै अनुभूत भयो ।

मुगु जस्ता भौगोलिक हिसाबले बिकट ठानिएको तर प्राकृतिक सौन्दर्यले भरिएको ठॅाउहरुको विकास र त्यहॅाका मानिसहरुको सहज जीवनको लागि सरकार एवं राजनैतिक प्रतिनिधिहरुले त्यस्ता क्षेत्रमा पर्यटन विकासलाई निर्विकल्प ठानी योजना बनॅाउदा पॅाच तारे होटलमा नभै त्यहींका जनताको अनुहार हेरी पर्यटन विकासको लागि पूर्वाधार तयार गरे हुन्थ्यो नी जस्तो मनमा लाग्यो ।

ताल्चा एयरपोर्ट नजिकै एक रात बसाईको क्रममा मुगुको सदरमुकाम गमगढी सम्म पुग्न मन लाग्यो । ताल्चा एयरपोर्टबाट मुगुको सदरमुकाम सम्मको दुरी त्यस्तै ३/४ कि.मि.छ ।त्यती दूरीको एक तर्फी जीप भाडा रु.५०० प्रति व्यक्ति  रहेछ।अली अस्वाभाविक जस्तो लाग्यो।

रारा ताल क्षेत्रमा रहेको केवल २ वटा होटल र ताल्चाको यातायातको माध्यम जीप संचालनमा ट्राभल एजेन्सिका सिमित व्यक्तिहरुको पकडमा सिन्डिकेट जस्तै रहेछ।

राराको सुन्दर अवलोकन र गमगढी घुमाई पश्चात काठमांडौ फर्किने क्रममा ताल्चाबाट नेपालगन्ज सम्म ट्वीन अटरबाट आकाशे यात्राको तालिका थियो।

ताल्चा बिमान स्थल अलि जोखिम रहेछ।बिमान पहाडमै ठोकिन्छ कि जसो गरी उडान र अवतरण हुने रहेछ।पहाडको खोंचमा रहेको सानो बिमान स्थलमा तारको घेरा बारा केही छैन।बोर्डिंग पास प्रक्रिया अन्तर्गत रजिष्टरमा  नाम लेखाई यात्रुहरु जहाजको प्रतिक्षामा खुला धावन मार्ग नजिकैको चउरमा बस्नु पर्ने रहेछ।जहाज आयपछिको दृष्य गजबको थियो।जहाज नभएर रत्नपार्कमा बस चढे जस्तो।

जहाज आउने भएपछि धावन मार्गमा लाईन लागेर बस्ने र जहाज आएपछि यात्रु झर्ने र सरसफाई,प्राविधिक जॅाच बिना रत्नपार्कमा बस चढे झैं यात्रुहरु चढ्ने।

यात्रुहरु ओर्लने र चढ्ने अवधिमा बिमानको इन्जिन बन्द नगरी बिमान अवतरण गरेको लगभग १० मिनेट भित्रमा उड्दो रहेछ।

ताल्चा देखि नेपालगन्ज सम्मको ट्वीन अटरबाट लगभग ५० मिनटको डर मिसिएको रोमान्चकता सहितको आकाशे यात्रा र नेपालगन्ज देखि काठमांडौ सम्मको ५५ मिनटको सहज हवाई यात्रा पश्चात रारा यात्रा सकिय पनि राराको सजीव चित्र मनमा सजॅाउदै घर पुगियो।


आफ्नो देखाईर भोगाईबाट रारा जान चाहनेहरुको लागि सुझाव:

-राराको सुन्दरताले रारा जान मन लाग्छ तर भौगोलिक हिसाबले त्यती सहज छैन।

-बच्चा,बृद्ध बृद्धा एवं अशक्तहरुलाई धेरै गाह्रो छ।

-आफ्नै किसिमले जॅादा होटेलमा बास पाउन र ताल्चाबाट फर्किन बिमान टिकट पाउन  सहज नहुन सक्छ।

-मध्य फागुन देखि बैशाख र असौज,कार्तिक रारा यात्राको लागि उपयुक्त समय हो।

No comments:

Post a Comment