दिनप्रतिदिन धागो उसको खुट्टामा गाडिंदै गैरहेको थियो । बढ्दै गैरहेको उसको पिडाले हामीलाई पनि पिडाबोध भैरहेको थियो । उसको पिडा हाम्रो पनि चिन्ताको विषय बनिरहेको थियो । तर के गर्ने ? त्यो उसको पिडालाई चिसो मन बनाएर टुलु टुलु हेर्नुको विकल्प पनि त थिएन । जव धागो भित्र भित्र गाडिन थाल्यो, उ छटपटिंदै अर्को सध्य खुट्टा र चुच्चोको सहयोगले धागो निकाल्ने प्रयास गर्न थाल्यो । उ जती प्रयास गथ्र्यो उती धागो कस्सिंदै जान्थ्यो र खुट्टा काटिंदै जान्थ्यो । अन्ततः उसको एक्लो प्रयास असफल भयो र लामो समयपश्चात उसको खुट्टा चुंडिएर गयो । उ पूर्णरुपमा अपाङ्ग भयो ।
सायद चेतना भएको भए र मानिसप्रतिको उसको डर, त्रास, भय नभैदिएको भए उप्रतिको हाम्रो सदभाव, सहयोग, करुणा पक्कै पनि कामयाव बन्थ्यो होला । अर्को कुरा चेतना भैदिएको भए त उसका पनि परिवार थिए होलान । साथीभाई थिए होलान । उनिहरुले पनि पक्कै सहयोग गर्थे होलान । तर विडम्वना सहयोग गर्ने कुरा त परै जाओस उल्टै उसलाई अरु परेवाहरुले लखेट्ने, खेद्ने काम गरिरहेका हुन्छन । कती पटक त अरुले खेद्दै गर्दा मैले धपाईदिएको छु ।
यतिवेला उ केवल एउटै खुट्टाको सहाराले बांचिरहेको छ । कमजोरलाई दपेट्ने, हेप्ने प्रवृति उसको समूहमा पनि रहेको छ अन्य प्राणिहरुमा झैं । उसलाई आहार खान दिईंदैन । सबलाङ्गहरुले, बलियाहरुले उसलाई लखेट्छन । तर पनि उच्च मनोवलका साथ उसका अरु साथिहरुसंग भिड्दै, लड्दै आहारा खाईरहेको हुन्छ । त्यती माात्र होइन, निहुं खोज्न आउनेहरुलाई लखेटिरहेको पनि हुन्छ ।
यो एरियावाट उ धेरै टाढा गएको देखिंदैन । सायद अन्यत्र अपरिचित स्थानमा जांदा असुरक्षित महशुस हुने भएर पनि होला । अर्को कुरा एउटा खुट्टाले मात्र भर नदिने भएकोले उड्नका लागि ब्यालेन्स नमिल्ने भएका कारण पनि टाढासम्म नउडेको हुन सक्छ । प्रायः दिनभर रातभर एउटै स्थानमा उभिईरहेको हुन्छ । केवल एउटा खुट्टाको सहाराले । सायद एउटा खुट्टाले वस्न असहज भएर पनि होला । हिंड्न त्यती सहज छैन उसलाई । लरखराउंदै हिंड्छ । आहारा खांदै गर्दा उभिन नसकेर लरखराउंदै लडिरहेको हुन्छ ।
यसरी उसलाई उभिन असहज छ । बस्न असहज छ । उड्न असहज छ । आहारा खान असहज छ । कती कठिन छ उसको जिवनयात्रा ? कती संघर्षसंग वांचिरहेको छ उ ? अपाङ्ग भएका कारण कुनै समय पनि दुश्मनको सिकार हुन सक्छ उ । कती धरापमा छ उसको जिन्दगी । र पनि परिस्थितिसंग पौंठाजोरी खेल्दै, जुध्दै, चुनौतीहरुको सामना गर्दै जीवन संघर्ष हो, संघर्ष हो जीवन भन्ने सार्वभौम सत्यलाई आत्मसाथ गर्दै सत्तिससाल झैं उभिएर बांचिरहेको छ उ । सायद मान्छे भैदिएको भए सहन नसकेर आत्महत्या गरिसक्थ्यो होला ।
हो, अव हामी मानवले यो अपाङ्ग परेवावाट बांच्न सिक्नुपर्ने भएको छ । हामीसंग त चेतना, वुद्धी, विवेक सवैथोक छ र पनि हामी त्यो परेवाजती पनि सहनसिल र धैर्यवान हुन सकेका छैनौ । हामीलाई ईश्वरले सवै कुरा दिएर पनि केही नभएका जस्ता भएका छौं । हामी संघर्ष गर्न चाहंदैनौ । चुनौतीहरुको सामना गर्न चाहंदैनौ । किनकी हामीले मानव हुनुको महत्व बुझ्न सकेका छैनौ । र त मुल्यवान जीवनलाई सानातिना अप्ठ्याराहरुमै सिध्याईदिन्छौं । ईच्छा रचाहनाहरु सहजरुपमा उपलब्ध हुन सकेनन् भने, आफुले भनेकोजस्तो भएन भने अप्रिय निर्णय लिन पुग्छौं । त्यसर्थअपाङ्ग परेवावाट संघर्ष गरी बांच्ने तरिका सिकौं । प्रतिकुलतालाई अनुकुलतामा बदलेर बांच्न सिकौं ।


No comments:
Post a Comment