२०३६ सालमा जव विद्यार्थी आन्दोलन सुरु भयो, त्यस आन्दोलनवाट म पनि अलग रहन सकिन । त्यतिवेला म नौ कक्षामा पढ्दै थिएं । विद्यार्थी आन्दोलनका दौरानमा मेरो सहकार्य तत्कालिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अ.ने.रा.स्व.वि.यु.), जो नेपाल कम्युनिष्ट पार्टीसंग सम्वन्धित थियो, संग भयो । त्यस समयमा विद्यालय स्तरमा अ.ने.रा.स्व.वि.यु.को निकै ठुलो बर्चस्व थियो । हाम्रो बिद्यालयमा सो संगठनका प्रखर र प्रभावशाली विद्यार्थी नेताको रुपमा दिपक थापा र केशव थापा रहेका थिए । मेरो उनिहरुसंगको सम्पर्कका कारण उनिहरुप्रति लगाव रहन गयो अर्थात म उनिहरुसंग प्रभावित हुन पुगें । उनिहरुले उपलब्ध गराएका कम्युनिष्ट पार्टीका पुस्तकहरु, दस्तावेजहरु पढ्न थालें । ती पुस्तकहरुको अध्ययन गरिसकेपछी गरिवहरुको भलाई गर्ने पार्टी त कम्युनिष्ट पार्टी पो रहेछ भन्ने मेरो बुझाई रह्यो । हाम्रो परिवारको गरिवी नै मलाई कम्युनिष्ट बन्नका लागि प्रेरणाको श्रोत बन्यो ।
अ.ने.रा.स्व.वि.यु.मा आवद्ध भएर तत्कालिन विद्यार्थी आन्दोलनमा लाग्ने एउटै कक्षाका साथीहरुमा टौखालका अष्टकाजी श्रेष्ठ, सुन्थानका रमेश खड्का, पनौतीका पुष्पदाश स्याउला, भङ्गलाका विदुर के.सी. र म लगायत थुप्रै साथीहरु पर्दथे । खासगरी मलाई कम्युनिष्ट बन्नका लागि प्रेरणा दिने काम टौखालका दिपक थापाले गर्नुभएको थियो । उहां मलाई माक्र्सवादी, लेनिनवादी थुप्रै पुस्तकहरु पढ्न दिनुहुन्थ्यो । त्यतिवेलाको मोदनाथ प्रश्रितद्वारा लिखित ‘पचास रुपैयांको तमसुक’ नाटक निक्कै चर्चित थियो र मार्मिक पनि । मलाई पनि उक्त नाटकले निक्कै प्रभावित बनायो । भावुक बनायो । मलाई मात्र होईन हाम्रो सम्पुर्ण परिवारलाई भावुक बनायो ।
अझ भन्ने हो भने उक्त नाटकले हामी सवैलाई रुवायो । पचास रुपैयांको तमसुक हाम्रो भोगाईसंग मेल खान गएकोले पनि हामीलाई छोएको हो । उक्त नाटकमा एउटा सामन्ति शोषकले एउटा गरिवलाई ५० रुपैयां ऋण दिएर तमसुकमा ५०० बनाइ किर्ते गरेर शोषण गरेको कुरा उल्लेख छ । यसले पंचायतकालिन कालरात्रिमा शोषक सामन्तिहरुले गरिवहरुमाथी गरिएको अन्याय, अत्याचार, शोषण, दमनलाई चित्रण गरिएको छ र त उक्त नाटकले त्यतीवेला धेरैलाई कम्युनिष्ट बनाउने काम गरेको थियो ।
यसैगरी रामेश, रायण, जिवन शर्मा र जेवी टुहुरे आदी थुप्रै जनकलाकारहरुको हृदयश्पर्शी प्रगतिशिल गितले जुरुक जुरुक बनाउंथ्यो । गित सुनेपछी लाग्दथ्यो – तुरुन्तै गएर शोषक सामन्तिहरुलाई सिध्याइदिउं । त्यतीवेला माओको रातो बुक, मोहनविक्रमसिंहद्वारा लिखित ‘ पेमालामा प्रश्नोतर माला ’ माकुरा र झिंगा जस्ता प्रगतिशिल पुस्तकहरु अध्ययन गरेर म जस्ता धेरै ब्याक्तिहरु कम्युनिष्ट भएका थिए । हामीलाई प्रशिक्षण गर्नका लागि तत्कालिन अ.ने.रा.स्व.वि.यु.केन्द्रिय कार्यालयवाट लिलामणी पोख्रेल, टंक कार्कीहरु पनौती जानुहुन्थ्यो । उहांहरुले हामीलाई कम्युनिष्ट पार्टीका बारेमा र तत्कालिन राजनैतिक परिस्थिती र हाम्रो दायित्वको बारेमा प्रशिक्षण गर्नुहुन्थ्यो । तत्कालिन भूमिगत परिस्थितीमा प्रशिक्षण लगायत कम्युनिष्ट क्रियाकलापहरु गर्ने काम अत्यन्तै खतरापूर्ण थियो । यस्तो परिस्थितीमा पनि ईन्द्रायणी शाक्यले खतरा मोलेर प्रशिक्षणका लागि आफ्नो घर उपलब्ध गराउनु भएको थियो ।
विद्यार्थी आन्दोलनका दौरान भएका क्रियाकलापहरु र घटनाक्रमहरु ः –
२०३६ सालमा पाकिस्तानी पिपुल्स पार्टीका संस्थापक जुल्फिकार अली भुट्टोलाई तत्कालिन सैनिक शासक जियाउल हकले फांसीमा झुण्डाएर हत्या गरेपश्चात उक्त हत्याको विरुद्धमा नेपालमा विद्यार्थी आन्दोलन सुरु भयो । पंचायती ब्यबस्थाका माध्यमबाट निरंकुश तानाशाही सामन्ति राजतन्त्रवाट भएको क्रुर अन्याय, अत्यचार, शोषण, दमण र उत्पिडनका विरुद्धमा नेपालमा पनि शसक्त आन्दोलनको आवश्यकता खड्किएको थियो । संयोगबश भुट्टोको हत्या नेपाली विद्यार्थीहरुका लागि आन्दोलन गर्ने उपर्युक्त निहुं बन्न पुग्यो । अन्ततः भुट्टोको हत्याको विरुद्धमा सुरु भएको विद्यार्थीहरुको आन्दोलन निरंकुश पंचायती शासनका विरुद्धको आन्दोलनमा परिणत भयो । क्रमशः यो आन्दोलनले देशव्यापी रुप धारण ग¥यो । विद्यार्थीहरुको अगुवाईमा भएको आन्दोलनबाट म पनि अछुतो रहन सकिन । किनकी म निरंकुश तानाशाही सामन्ति शासनवाट मुक्त हुन चाहन्थें । त्यसैले अ.ने.रा.स्व.वि.यु.मा आवद्ध रहेर म अरु साथीहरुसंग आन्दोलनमा होमिएं । आन्दोलनको सहयात्रामा दिपक थापा, केशव थापा, अष्टकाजी श्रेष्ठ, सहदेव थापा, रमेश खड्का, रामवावु खत्री, पुष्पदाश स्याउला, विदुर के.सी., नारायण श्रेष्ठ, देवलक्ष्मी स्याउला, ईन्द्रायणी शाक्य लगायत थुप्रै विद्यार्थी साथीहरुका संलग्नता रहेको थियो ।
हामीहरु प्रहरीको आंखा छल्दै राती राती शामन्ति सत्ताका विरुद्धमा लेखिएका पोष्टरहरु टांस्ने गर्दथ्यौं । पोष्टर छाप्ने पैसा नभएका कारण हातले बनाएको निङ्गालाको कलमले मसिमा चोपेर लेखिएको पोष्टरको प्रयोग गर्दथ्यौं । राम्रो अक्षर भएकोले रमेश खंडकाले पोष्टर लेख्ने काम गर्नुहुन्थ्यो । हुन त त्यतीखेर पोष्टर छाप्ने छापाखाना पनि त्यतीै थिएन र भएका छापाखाना पनि प्रहरी प्रशासनको डरले छाप्न मान्दैनथे । पोष्टरिङ बाहेक त्यतीखेरका विरोधका कार्यक्रमहरुमा कोणसभा, नाटक प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरु पर्दथे । नाटक प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरु रातको समयमा लुकेर गर्नुपर्दथ्यो । प्रहरीले चाल पायो भने समातेर निर्मम यातना दिन्थ्यो या मारीदिन्थ्यो । समातिएकाहरुलाई यती क्रुर यातना दिन्थ्यो कि हातको औंलाको नङभित्र पिन घुसारेर वा कडा खालको गिट्टीमाथी नाङ्गो घुंडा र कुहिना टेकाएर हिंड्न लगाउंथ्यो । प्रहरीवाट सुरक्षित हुंदै छिपाउ वाटोको प्रयोग गर्नु पर्दथ्यो । सिधा बाटो हिंड्यो भने प्रहरीले गिरफ्तार गर्दथ्यो ।
२०३६ साल चैत महिनाको दिन थियो । दिनको ४ बजे बनेपाको त्रिभुवनको सालिक रहेको चोकमा चारतिरवाट आएर जम्मा हुने र १० मिनेट कोणसभा गरेर तितरवितर भै बुडोलको महादेव पोखरी जाने बाटो नजिकै एउटा घरमा गएर सांझ बस्ने योजना बनाईएको थियो । सोही योजना अनुसार भाषण गर्न भनेर एकजना विद्यार्थी नेता ( नाम विर्सियो ) सालिकको पेटिमा उभिएर दुई मिनेट के बोलेका थिए प्रहरी आएर हामी सवैलाई तितरवितर पा¥यो । समाउन चाहीं कसैलाई सकेन । त्यसपछी हामी अलग अलग बाटो भएर गहुंवारी हुंदै पूर्व योजना अनुसार तोकिएको घरमा पुग्यौं । त्यतीवेलासम्म सांझ परिसकेको थियो । हामी उक्त घरमा भएको शंका गरेर प्रहरीले रातभर घेरावन्दि गरिरह्यो । हामी ७ जना थियौं । प्रहरीले थाहा नपाओस भनेर घरधनिले हामीलाई बुंईगलमा लगेर राखिदिनुभएको थियो । बुंईगलभरी मकैको खोस्टा राखिएको थियो । अंध्यारो भएकोले खाना खांदाखेरी पनि मकैको भुत्ला मुखभित्र पस्दथ्यो । आंखा झिमिक्कै नगरी रातभर जागराम बस्यौं । लगभग विहानको ४ बजे घरधनीवाट प्रहरीले छाडेको जानकारी पाएपछी हामी तुरुन्तै निस्केर छुपाउ वाटो प्रयोग गर्दै पनौती गयौं । यसरी हामी प्रहरीको गिरफ्तारीवाट बच्न सफल भयौं । केही समय पश्चात दिपक थापा गिरफ्तारीमा पर्नुभयो । दिपक थापाले नै मलाई त्यतीवेला कम्युनिष्ट आन्दोलनमा लाग्नका लागि प्रेरणा दिनुभएको थियो । गाई बस्तु चराउन गएकै पाखामा गएर बस्तु बान्न लगाएर पनौती वजारमा संगठनको काममा लिएर जानुहुन्थ्यो ।
यसरी ३६ सालमा जे सोचेर, जुन सपना बोकेर कम्युनिष्ट आन्दोलनमा लागियो, ति सवै सपनाहरु पानीका फोका बन्न पुगे । सपना केवल सपनामा सिमित रहे । न्याय, समानता र स्वतन्त्रतामा आधारित सुन्दर समाज
निर्माणको सपना, गांस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी सवैको पहुंचमा पुग्दछ र यसका लागि कोही तड्पिनु पर्दैन भन्ने सपना सवै चकनाचुर भए । त्यसैले त यतिवेला ‘ के सोचें मैले के भयो ऐले’ भएको छ ।
निर्माणको सपना, गांस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी सवैको पहुंचमा पुग्दछ र यसका लागि कोही तड्पिनु पर्दैन भन्ने सपना सवै चकनाचुर भए । त्यसैले त यतिवेला ‘ के सोचें मैले के भयो ऐले’ भएको छ ।
No comments:
Post a Comment