Monday, July 20, 2020

झरिले सम्झाईदिएको बाल्यकालको गाउं

असारको महिना झरी पर्दै गर्दा कहिलेकांही जन्मेको, हुर्केको गाउंको सम्झना आउने रहेछ । वाल्यकालमा स्यालर ( जसलाई ऐले प्लास्टिक भनिन्छ ) ओढेर पाखामा गाईबस्तु चराएको, घांस काट्न जांदा ओढो ( ओढ्ने ) बिर्सिएका कारण रुख मुन्तिर ओता लाग्दै गर्दा झरी लम्विदै जांदा रुखको पातवाट ठूला ठूला थोप्ला पानी खसेर भएको मुसो रुझाई , घांस, सोतर काट्दै गर्दाको जुृकाको टोकाई, खेत रोपाईको वेला रोपारहरुले गाएको असारे भाकाको कांठे गित, वावु आमाले रोपाईंवाट ल्याएको आलुको अचार र टाईचिन धानको झुरुम झुरुम गर्ने मिठो चिउराको याद आईरहेछ यतिवेला । त्यती मात्र कहां हो र ? रोपाईका लागि आकासे पानीमा भर पर्नुपर्ने टारी खेतमा पानी लगाउनका लागि भेल छोप्न पर्ने भएकोले यती कष्ट गर्नुपर्दथ्यो कि जतिवेला भेल वग्ने ठूलो पानी पर्दथ्यो त्यतीवेला नै कोदालो वोकेर पाखाको भेल एकत्रित गरेर टारी खेतमा लगाउन जानु पर्दथ्यो । यदी भेल छोपेर पानी लगाउंदा लगाउंदै रोपाईं गरिएन भने पानी सवै एकै छिनमा सुक्दथ्यो अथवा मुसाको दुलोवाट छिरेर गैसक्थ्यो । हाम्रो एउटा पाटापाटी नाम गरेको पाटै पाटा परेको टारीमा पनि महाटारी खेत थियो । जती ठूलो पानी परे पनि अढ्दै नअढ्ने । जसले गर्दा लगभग ५०० मिटर टाढा पाखामा आकासको पानी संकलन गर्नका लागि एउटा पोखरी खनिएको थियो । वरिपरी कुलो काटेर पाखाको पानी उक्त पोखरीमा जम्मा हुने गरी बनाईएको थियो । पोखरीमा जम्मा भएको पानी उक्त टारी खेतमा लान मिल्ने गरी कुलो खनिएको थियो । कुलोवाट पानी खेतमा पुग्दा आधा मात्र पुग्थ्यो र आधा कुलोमै हराउंथ्यो । खेतमा पानी पुग्नासाथ हिल्याएर रोप्दा समेत कोदो रोपेझैं रोप्नु पर्दथ्यो । कृषीप्रधान देशको अवस्था यस्तो थियो । 
सांझ परेपछी झ्याउंकिरिको सुरिलो आवाज र भ्यागुताको ट्वार ट्वारले असार वा वर्षाको संकेत गर्दथ्यो । झ्याउंकिरी र भ्यागुता कराउंदा निस्कने आवाज र मकैको पातमा पानीको थोपा पर्दा उत्पन्न हुने आवाजले एउटा संगितकारले संगितको सिर्जना गरिरहेको हो कि भन्ने भान हुन्थ्यो । जसले मिठो निन्द्रा लगाउंथ्यो । यसैगरी पालीवाट मजेरीमा खसेको पानीको थोपाको तप तप आवाजले पानी परिरहेको जानकारी दिन्थ्यो । घांस, सोतर गर्न जांदा होस वा गोठालो जांदा वा खेतवारिमा काम गर्न जांदा मसिनो जुकाले टोकेर रक्ताम्मै पार्दथ्यो । अझ रमाईलो कुरो त वर्षाको हिलोले खाएर बनेका घाउहरुमा जुका लगाएर पिल्सेको रगत चुस्न दिईन्थ्यो । नभन्दै जुकाले चुसेको १÷२ दिनमै घाउ निको हुन्थ्यो । यो घाउको उपचार गर्ने विशेष गाउंले तरिका थियो । त्यतीवेला घाउ खटिरामा लगाउने शिवजन ट्यावलेट नामको एलोपेथिक औषधी पाईन्थ्यो । त्यसलाई पानीमा भिजाएर घाउमा लगाईन्थ्यो । यो गाउंमा सवै ठांउमा पाईंदैनथ्यो । यो भन्दा भरपर्दो घरायसी औषधी मेरो वावुले वनाउनुहुन्थ्यो । खाएर डढेको तमाखु, चिलिमको पिंध, लोरी घोटेर पेस्ट  ( लेदो ) बनाएर घाउमा लगाएपछी त्यसले अचुक औषधीको काम गर्दथ्यो । एक दुई दिनमै घाउ निको हुन्थ्यो । 
श्रावनको महिनामा मकैवारिमा कोदो रोप्ने गरिन्थ्यो । मकै वारीभित्र कोदो रोप्ने काम अत्यन्तै कठिन थियो । खन्ने काम त झनै कठिन हुन्थ्यो । न पानी पर्दा सहजसंग ओढो ओढ्न पाईने । प्लास्टिक त्यो पनि डोरिले बांधेर ओढ्नुपर्दथ्यो । गाउंघरमा वर्षामा खेतवारिमा काम गर्दा ओढोको रुपमा विशेषतः घुम र प्लास्टिक प्रयोग गरिन्थ्यो । कोदो रोप्दा हात गोडा यती चिलाउंथ्यो कि रातभर मकैको खोयाले कनाउनुपर्दथ्यो । एकातिर दिनभरको थकाई अर्कोतिर रातभर हात गोडा कनाउनुपर्ने । कती आपत । हात गोडा चिलाउनुको कारण थियो – त्यतीवेला गाउंमा चर्पि बनाउने चलन थिएन । बन वा वारिको पाटामा गएर शौच गर्ने चलन थियो । जसले गर्दा कोदो रोप्ने वेलामा फोहोर भएर हात गोडा चिलाउने समस्या सिर्जना हुन्थ्यो । हात गोडा चिलाएर असह्य भएपछी कपडा सिउने सियोले खोपेर पिल्सिएको कालो रगत निकालेर फाल्ने गरिन्थ्यो । त्यसपछी चिलाउन छाड्थ्यो । हिलोले खाएको ठाउंमा उपचार गर्ने यो त्यतिवेलाको गाउंले तरिका थियो । 
भाद्र महिनाको सुरुआतदेखी नै खेतमा धान गोड्ने कामको थालनी हुन्थ्यो । धानको पातले हात पास्ने हुंदा

कुहिनासम्म प्लास्टिक बेर्ने गरिन्थ्यो । दिनभरी निहुरेर वा वसेर धान गोड्दा थकाईले लखतरान बनाउंथ्यो । धान गोड्ने काम सकिएपछी लगतै भदौको तेश्रो हप्तातिर वारीमा मकै भांच्ने काम सुरु हुन्थ्यो । भदौको टण्टलापुर घाममा दिनभरी मकै भांच्यो । भोलीपल्टका लागि मकै राख्ने ठाउं बनाउनका लागि राती १२ वजेसम्म मकै नंग्याउनु पर्दथ्यो । मकै भांचेर नसकुन्जेल यही काम दोहोरिन्थ्यो । मकै भांचिसकेपछी भने बल्ल बर्खे कामवाट केही हदसम्म फुर्सद मिल्दथ्यो । यद्यपी फापर छर्ने, तोरी छर्ने हल्का काम भने भइनैरहन्थ्यो । मकैको काम सकिईसकेपछी धान काट्ने वेला नहुन्जेलसम्म बल्ल आराम गर्ने समय निस्कन्थ्यो । यो विचको समयमा हिन्दुहरुको महान चाड दसैं र तिहार पनि पर्ने भएकोले बर्खाभरी भिजेर हिलो मैलो भएर मरीमरी काम गर्दा कमजोर र सिथिल भएको शरिरलाई दसैं र तिहारको पौष्टिक खानपान र थकाई मेटानले निकै राहत पु¥याउंदथ्यो । त्यसो त आषाढ महिना सुरुभएपश्चात खेत रोपाईबाट वर्खे काम नसकिएसम्म समय समयमा भिन्न भिन्न किसिमका पौष्टिक परिकार खाएर कामको बोझले कमजोर र शक्तिहिन बनाएको शरिरलाई स्वस्थ, बलियो र तन्दुरुस्त राख्ने गरिन्छ । जस्तै ः आसार १५ मा दही चिउरा, साउने संक्रान्तीमा विभिन्न स्वादिष्ट परिकार, साउन १५ मा खिर, जनाईपुर्णेमा क्वांटी, तिजमा दर, जसले शरिरलाई शक्ति प्रदान गर्दछ । यी अवसरहरुलाई चाडपर्वको रुपमा स्थापित गरिएको छ । यसले के पुष्टि गर्दछ भने हाम्रा जे जती संस्कार र संस्कृतिहरु छन ती सवै कुनै न कुनै रुपमा कृषी पेशासंग जोडिएको  पाईन्छ । यसरी यो लेखमा पहिले वर्षा याममा गाउंले जिवन कती कष्टकर हुन्थ्यो भन्ने कुरा दर्शाउन खोजिएको छ । यहां पहिले भनेर किन भन्न खोजिएको हो भने यतिवेला बाटोघाटोको सुविधाका कारण गाउं गाउंमा हाते ट्रेक्टर पुगिसकेकोले मानव श्रम विस्तारै घट्दै गएको अवस्था छ । 

No comments:

Post a Comment