यु.यन. मिशनको क्रममा ईराकको बगदादमा अवस्थित शेराटन होटलमा ५ दिनको बसाई पश्चात उत्तरतर्फ रहेको क्रुदिशहरुको बस्ती क्रुदिस्तानतर्फ प्रस्थान गरियो । जुन हाम्रो गन्तव्य थियो । गाडी क्रुदिस्तानतर्फ तिव्र गतिमा गुडिरहेको थियो । बाटोमा ठाउं ठाउंमा ईराकी सेना ( सद्दाम हुसेनका सेना ) र क्रुदिस सेनाहरु एन्टी एयरक्राफ्ट आकासतर्फ तेर्साएर अरु विविध आधुनिक शक्तिशाली हतियारहरु तैनाथका साथ डिफेन्स लिएर बसिरहेका देखिन्थे । उनिहरु हाम्रो ( यु.यन.) गाडीलाई रोकेर सोधपुछ गर्ने गर्थे । यु.यन.का कर्मचारी हौं भनेर परिचयपत्र देखाएपश्चात छाडीदिन्थे । ६÷७ घण्टाको यात्रापश्चात सांझको ७ बजेतिर हामी क्रुदिस्तानको सुलेमानिया भन्ने स्थानमा पुग्यौं ।
सुलेमानियास्थित एउटा होटलको कोठामा सामान थन्काएर भर्खरै आराम मात्र गरेका के थियौं भिषण युद्धमा गोली चलै झैं विभिन्नखाले हतियारहरुबाट गोलिको बर्षा हुन थाल्यो । हामी वसेको होटलको चारैतर्फ गोली चलिरहेको थियो । कुनै कुनै गोली त हामी वसेको होटलको छानामा समेत लागेको थियो । गोली चल्ने क्रम लगभग आधा घण्टासम्म लगातार नै जारी रह्यो । गोली चलिरहंदा हामी सवै डरले कालोनिलो भएका थियौं । सवैको शरिर पसिनाले निथ्रुक्क भैसकेको थियो । रुन्चे अनुहार लगाएर एक आपश्मा गुन्गुनाउन लागेका थियौं की अव शायद बच्ने आशा कमै होला । सवैजना घरपरिवार सम्झन थालेका थिए । सवैका आंखा रसाएका थिए । यतिकैमा करिव आधाघण्टापश्चात गोली चल्न छाड्यो । गोली चल्न छाडेपछी सवैको अनुहार केही उज्यालो भयो । पछी के भएको रहेछ भनेर बुझ्दा थाहा भयो कि यु.यन. का मानिस हाम्रो ( उनिहरु )को सहयोगका लागि आएका हुन भनेर खुसियालीमा स्वागतका लागि क्रुदिस सेनाले फायरिङ गरेका रहेछन् । यो स्वागत गर्ने उनिहरुको अचम्मको चलन रहेछ । आफ्नै स्वागतका लागि पड्काएको गोलिको आवाजले झण्डै झण्डै वेहोस हुन खोजियो ।
स्वागतका लागि गोली पड्काएको जानकारीपश्चात वेलुकाको खाना खाएर ढुक्ककासाथ आराम गरियो । भोलीपल्टदेखी ड्युटी सुरु भयो । यु.यन. अफिसहरुमा शुरक्षा दिनु, यु.यन. का कर्मचारीहरु सवार गाडीहरुलाई स्कटिङ गर्नु हाम्रो ड्युटी थियो । यु.यन.जि.सि.आई.को कार्यालय, यु.यन.यच.सी.आर., शरणार्थीहरुका लागि लत्ता कपडा र खाद्यान्न राखिएका वेयर हाउसहरु, मेडिकेयरहरु यु.यन.का कार्यालयहरु पर्दथे । यु.यन.को उक्त मिशनको हेड क्वार्टर वगदादमा थियो । यसका अन्य शाखा पोष्टहरुमा उत्तरी ईराकमा पर्ने सुलेमानिया अन्र्तगत साईद सादिक, रानिया र कलार पर्दथे । अर्विल अन्र्तगत सादिक पर्दथ्यो र दोहुक अन्र्तगत जाखो पर्दथ्यो । हामीले यिनै स्थानहरुमा ड्युटी गर्नुपर्दथ्यो । सद्दाम हुसेन र क्रुदिश सेनाकाविच हुने युद्धलाई कम गर्नका लागि मध्यस्थता गर्ने उद्देश्यले यु.यन.जी.सी.आई.को स्थापना गरिएको रहेछ । भएको के रहेछ भने क्रुदिशहरुले क्रुदिस्तानलाई स्वतन्त्र राज्य बनाउन चाहेका रहेछन तर सद्दाम हुसेन उनिहरुको शर्त मान्न तयार नहुंदा युद्धको शुरुआत भएको रहेछ ।
पिडित क्रुदिशहरुको भनाईअनुसार सद्दामका सेनाले उनि(क्रुदिश)हरुका घरमा जगैदेखी बम राखेर पड्काईदिने,
महिलाहरुमाथी वलात्कार गर्ने, चराउन लगेका भेडाहरु लुटेर लग्ने, प्रतिकार गर्न खोजेमा गोलिले उडाईदिनेजस्ता अत्यन्तै अमानविय र क्रुर अत्याचार गरेका थिए रे । केही क्रुदिशहरु हाम्रा सामु आंशु वगाउंदै स्तव्ध भएर भन्ने गर्थे — ‘ हामी विहानै उठेर डांडापल्लापटी जाने गथ्र्यौं र दिनभरी बसेर बेलुका घर जस्ताको तस्तै छ कि छैन भनेर केही वर आएर हेथ्र्यौं । रहेछ भने घर फर्किन्थ्यौं रहेनछ भने आकासमुनी सुत्न बाध्य हुन्थ्यौं ।’ यसरी हाम्रा सामु पिडा पोख्ने गर्थे ।
समय समयमा ईराकी सेना र क्रुदिश सेनाहरुकाविच भिषण युद्ध हुने गर्दथ्यो । एकपटक त यती भिषण युद्ध भयो कि यु.यन.ले मिशन नै फर्काउने तयारी गरिरहेको थियो । हामीलाई भाग्नका लागि तयारी भएर बस्ने निर्देशन दिईसकेको थियो । तर केही दिनपछी युद्ध रोकियो र भाग्न परेन । क्रुदिशहरु थोरै भएपनि गुरिल्ला युद्ध लड्दथे । उनिहरुसंग अत्याधुनिक शक्तिशाली हात हतियारहरु थिए । कहिले त सयौं ईराकी सेनाहरुलाई युद्धबन्दी बनाउंथे । हामीलाई जतिवेला पनि रणभूमिमा रहेको आभाष हुन्थ्यो । कहिले नजिकै शक्तिशाली वम विस्फोट भएर क्षत विक्षत लासहरुको चाङ देखिन्थ्यो । कहिले गुडिरहेको गाडिमा बम विष्फोट हुन्थ्यो । एकपटक म सुलेमानिया पोष्टको साईद सादिकमा रहेको यु.यन.को कार्यालयमा ड्युटीमा थिएं । विहानको ९ बज्न लागेको थियो । यति ठूलो आवाजकासाथ वम विस्फोट भयो कि जिवनमा मैले त्यती ठूलो आवाज सुनेकै थिईन । बगदादबाट पेट्रोलियम पदार्थ बोकेर आएको ट्याङ्करमा टाईम वम फिट गरेको रहेछ । सुलेमानिया आईपुग्नेवितिकै विस्फोट भयो । ३० हजार लिटर तेल बोकेको ट्याङ्कर पड्किंदा त वरिपरिको वातावरण नै पुरै ध्वनी प्रदुषित बनेको थियो । आगोका ज्वाला त लगभग ५० फिट माथीसम्म पुगेको थियो । यद्यपी दिनको समय भएकोले कुनै मानविय क्षती हुन पाएन । क्रुदिस्तानका सवै वच्चादेखी बृद्धसम्म लडाकु देखिन्थे । सवैका हातमा बन्दुक र गोलीका माला हुन्थे । बच्चाहरुका हातमा समेत साना खालका टु टु बन्दुक हुन्थे । उनिहरु भंगेरा मार्दै हिंड्थे । अचुक निशाना हुन्थ्यो बच्चाहरुको । सायद जतिवेला पनि युद्ध भैरहने भएकोले होला शान्तिको खोजिमा रहेका केही महिलाहरु हामी बसेको घरमा राती ११÷१२ बजेसम्म फोन मार्फत हामीसंगै नेपाल जाने चाहना ब्यक्त गर्दथे । उनिहरु अगाडी परेर कुरा राख्न सक्दैनथे किनकी ईराकमा महिलाहरुलाई अत्यन्तै कडा बन्देजमा राखिएको हुन्थ्यो । अपरिचित केटा मान्छेसंग बोल्न मनाही गरिएको हुन्थ्यो ।
ईराकसंग ईरान र कुवेतको सिमाना जोडिएको छ । सिटी ड्राईभका क्रममा हामी कहिले ईरानको सिमानासम्म पुग्थ्यौं भने कहिले कुवेतको सिमानासम्म । एकपटक सुलेमानिया पोष्ट अन्र्तगत रहेको कलार उप पोष्टवाट
सिटी ड्रईभ जाने क्रममा ठूलो दुर्घटनाबाट बाल बाल बचियो । हिउं पर्ने मौसम थियो । विहानको समय ४÷५ जना यु.यन.गार्डहरुसहित यु.यन.को जिप सिटी ड्राईभका क्रममा पहाडी भेगतिर लाग्यो । चालक डेनमार्कका थिए । बाटोमा पुरै हिउं जमेको थियो । पहाडको बाटो अलिकती मात्र के उकालो चढेको थियो हिउंमा टेक्नासाथ जिप बाटो छाडेर दायांतर्फ छेउतिर लाग्यो । बाटोको दायां बायां पुरै हिउं जमेको थियो । त्यो भन्दा अलिकती अगाडी बढ्नासाथ जिप भिरतिर खस्छ । बाटोको दायांबायां पुरै भिर छ र भिर पनि पुरै हिउंले ढाकिएको छ । सवैको अनुहार कालोनिलो भयो । सवै पसिनाले भिजीसके । तैपनि चालक केही हुंदैन, डराउनु पर्दैन भनेर सान्त्वना दिईरहेका थिए । नभन्दै तत्कालै जिपलाई सडकको विचमा ल्याउन सफल भए । केही अगाडी बढाउने वितिकै फेरी जिप बायां छेउतर्फ मोडियो । त्यसको अगाडी पनि पुरै हिउंले ढाकिएको भिर छ । त्यसपछी त झनै सवैजनाको मुटुले ढ्याङ्ग्रो ठोक्न थाल्यो । सवैलाई अव चाहीं पक्कै बांचिदैन भन्ने लाग्यो । हिउंका कारणले गाडीवाट ओर्लिएर थेग्ने अवस्था पनि छैन । तैपनि चालक केही हुंदैन नडराउनु भनिरहेका थिए । नभन्दै आयु छउन्जेल बायुको पनि केही लाग्दैन भने झैं चालकले जिपलाई सडकमा ल्याएरै छाडे र सिधा पारेर पहिले आएको सडकतर्फ निकालेर ज्यान बचाए । त्यतीवेला मैले के महशुस गरें भने वास्तवमै विकसित देशका मानिस हरेक सवालमा पोख्त हुने रहेछन । यदी डेनिस चालकको स्थानमा नेपाली वा भारतिय चालक भैदिएको भए पक्कै पनि हाम्रो बच्ने अवस्था रहने थिएन । यो जिवनको अत्यन्तै अविष्मरणिय घटना बनेको छ ।


No comments:
Post a Comment