Wednesday, May 27, 2020

गान्तोकमा उभिएर

तिष्टाको किनारालाई पछ्याउंदै 
गान्तोकको यात्रा गरिरहंदा
तिष्टाको निलो रङभित्र
रातो रक्तकण देखें
 र सम्झे वीर देशभक्त
भक्ति, वलभद्र र अमरसिंहलाई

गान्तोकको माटोमा ठिङ्ग उभिएं
र नियाले क्षितिजलाई
उस्तै थियो वादलपारीको आकास
हावाको झोक्का उस्तै
सल्लाको सुसाई उस्तै
चिवेको झ्याप्पि उठ् उस्तै
कोईलिको को हो को हो उस्तै
माटोको गन्ध उस्तै
झारपात उस्तै
बन जङ्गल उस्तै

तामाङ वस्ती उस्तै
राई गाउं उस्तै
गुरुङ टोल उस्तै
माईली गुरुङ्सिनीको घलेक उस्तै
सुव्वा दाईको कछाड उस्तै
जिउडाल उस्तै
रुपरङ उस्तै
मिजास उस्तै
संस्कार र संस्कृति उस्तै

लाग्थ्यो यो माटो मेरै हो
म मेरै माटोमा उभिएको छु
तर, अहं होईन
म भ्रममा छु
दिग्भ्रमित छु
भावनामा बगिरहेछु
सपनामा हराईरहेछु
उस्तै उस्तै लागे पनि
कुनै कालखण्डमा
मेरै देश भए पनि
 यतिवेला
 यो माटो अर्कै देशभित्र पर्छ
त्याहां अर्कैले शासन गर्छ
कुनै समयको मेरो देश
ऐले मेरै छिमेकी पर्छ



No comments:

Post a Comment