Wednesday, May 20, 2020

कोरोनाको उत्पती

यतिवेला मानव संसार लक डाउनमा छ । घरभित्र कैद छन संसारका मानिसहरु । निकै ठुलो अपराध गरे झैं नाक र मुख देखाउन नमिल्ने अवस्था छ । त्यसैले मास्क प्रयोग गरिएको छ र वेरुप बनाइएको छ चेहरालाई । सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थाका कारण घर वाहिर मात्र नभै घरभित्रै पनि एक अर्कासंग ससंकित छ मान्छे । आतंकित छ । त्यती मात्र होईन स्वयम आफैं देखी पनि त्रसित छ । ख्वाक्क खोकी लाग्नु हुंदैन, हल्का टाउको दुख्नु हुंदैन, नाकबाट सिंगान बग्नु हुंदैन, सामान्य शरिर तात्नु हुंदैन कोरोना पो लाग्यो कि संका गर्न थालिहाल्छ । मान्छे मान्छेदेखी टाढीएको छ । नजिक पर्न चाहंदैन । भलाकुसारी गर्न चाहंदैन  र त एकलकांटे भएको छ मान्छे । हुन त चाहेर, ठुलो मान्छे पल्टिएर एकलकांटे भएको भने पक्कै होईन । वाध्यता र विवशताले एकलकांटे बनाएको हो । अवस्था, परिस्थिती र समयले बनाएको हो । कोरोनामुक्त भएर बांच्ने चाहनाले  बनाएको हो । बांचौ र बचाउं भन्ने उद्देश्यले बनाएको हो एकलकांटे  यहां प्रश्न खडा भएको छ की आज किन एकाएक मान्छे यसरी  एकलकांटे हुनुपर्ने अवस्था सिर्जना भयो त ? यसको उत्तर  खोज्न अन्त कतै जानु पर्दैन । स्वयम मान्छे भित्रै उत्तर खडा छ अर्थात सरल भाषामा भन्नुपर्दा यसको कारक स्वयम हामी मान्छे नै हौं ।
हामी प्रकृतिका सन्तान हौं । हाम्रा्े शरिर प्रकृतिपदत्त पंच तत्वले बनेको छ । प्रकृतिले हामीलाई सहजतासंग बांच्नका लागि तिनै पंच तत्व जल, वायु, आकाश, पृथ्वी र अग्नी प्रदान गरेको छ । मानव शरिर संचालनमा आवश्यक पर्ने हावा, पानी, माटो र ताप वा आगो दिएको छ । तर अभिशाप हामिले त्यसलाई नितान्त ब्यक्तिगत र स्वार्थका कारण सदुपयोग गर्नुको साटो दुरुपयोग ग¥यौं । हाम्रा स्वार्थसंग जोडिएका विविध क्रियाकलापका कारण हामिले प्रकृतिको विनास ग¥यौं । तहस नहस बनायौं । सुख सुविधा भोग गर्नका लागि प्रकृतिले हामिलाई बांच्नका लागि प्रदान गरेका महत्वपूर्ण धरोहरहरुलाई हामिले नष्ट ग¥यौं । काम, क्रोध, लोभ, मोहमा आशक्त भएर माया, दया, सेवा, करुणा जस्ता मानविय आदर्शहरुलाई विर्सेर क्रुर भयौं । धर्म, संस्कार, कर्तव्य, जिम्मेवारी सवै विस्र्यौं । विवेकहिन भयौं । शक्ति, सम्पती, सुख सुविधा र शानतिर अलमलियौं र यिनै चिज प्राप्तीमा जे गर्न पनि तयार भयौं । मोजमस्ती र विलासितामा रुमलियौं । सत्यलाई छाडेर असत्यको बाटो समात्यौं । रचना गर्नतिर होईन ध्वंस गर्नतिर लाग्यौं । असल बाटो छाडेर गलत बाटोतिर लाग्यौं । 
जसले गर्दा हाम्रा सोचाई, ब्यावहार, चिन्तन, क्रियाकलाप, चालचलन, खानपिन, उठवस सवै सोही अनुसार खराव हुन थाले । के खान हुन्छ, के खान हुंदैन । के गर्न हुन्छ, के गर्न हुंदैन । के वोल्न हुन्छ, के बोल्न हुंदैन भन्ने कुरा हामिले थाहा पाउन छाड्यौं र जे मन लाग्यो त्यही खान थाल्यौं । जे मन लाग्यो त्यही गर्न थाल्यौं । जे मन लाग्यो त्यही बोल्न थाल्यौं । परिणामस्वरुप हामी मानव नामका कलंक भयौं । यिनै अमानविय गलत व्यावहारहरुको परिणामस्वरुप आज महामारिको रुपमा विश्वभर आतंक फैलाईरहेको कोरोना भाईरसको मार खेपिरहेका छौं । संसारभर अढाइ लाख भन्दा बढी मानिसहरुले ज्यान गुमाईसकेका छन । संक्रमितको संख्या लाखौं पुगिसकेको छ । कोरोनाबाट कुनै पनि देश  अछुतो छैन । गरिव देशका गरिव जनता भोकमरिको चपेटामा परेका छन । उद्योग धन्दा, ब्यापार ब्यावशाय ठप्प हुंदा श्रम गरेर बांच्ने मजदुरहरुको चुलो नबलेको महिनौं दिन भैसकेको छ । अभाव खेप्न नसकेर कतिले आत्महत्याको बाटो अपनाएका छन । विश्वकै आर्थिक अवस्था जर्जर बन्दै गैरहेको छ । विश्व स्वास्थ्य  संगठनको भनाईलाई आधार मान्ने हो भने आउने दिनहरुमा विश्वका २५करोड मानिस भोकमरिको चपेटामा पर्ने छन । 
हो योृ विकराल परिस्थिती हामी स्वयमले सिर्जना गरेका हौं । यसमा कोही कसैलाई दोषारोपन गर्ने ठाउं छैन । हाम्रो आफ्नै लापरवाही र असावधानीको परिणाम हो यो । विगततिर फर्केर हेर्ने हो भने पनि यस्ता थुप्रै महामारिवाट गुज्रेर आएका हौं हामी । कहिले स्पेनिस फ्लु, कहिले स्वाईन फ्लु, कहिले वर्ड फ्लु, कहिले ईवोला भाइरस, कहिले एड्स आदि थुप्रै महामारिका शिकार भैसकेका छौं हामी । त्यती मात्र होइन यदी अव फेरी पनि हामी प्राकृतिक भएर बांच्न चाहेनौ भने, मानव भएर बांँच्न चाहेनौ भने यस्ता थुप्रै महामारिको शिकार बन्ने छौं । यस्ता थुप्रै लक डाउन भोग्ने छौं । सवैलाई चेतना भया । 

No comments:

Post a Comment