Tuesday, May 19, 2020

भोकाएका परेवाहरु

लगभग दुई महिना पुग्न लाग्यो जव म झिसमिसेमा उठेर घरको छतमा जान्छु आहाराको आस गर्दै वरिपरिका छिमेकिहरुको घरका छत, टपमा विहानको चिसो सिरेटोले कांप्दै मेरो प्रतिक्षामा बसेका एक हुल परेवाहरु तंछाड मछाड गर्दै म देखी कती पनि डर नमानी मेरो नजिक आईपुग्छन । मलाई पछ्याउंदै पछी पछी लाग्छन । धपाउंदा पनि डेक चल्दैनन् । भुर्र उडेजस्तो गर्छन पुनः मेरै वरिपरी बस्छन । उनिहरुको मनोवल र म प्रतिको विश्वास यती वलियो भैसकेको छ कि हामीलाई यसले केही पनि गर्दैन भन्ने कुरामा ढुक्क छन उनिहरु । परेवाहरुको मसंगको यो सामिप्यता उनिहरुको भोको पेटसंग जोडिएको छ । बाध्यता र विवशतासंग जोडिएको छ । पापी पेटको सवालसंग जोडिएको छ । परेवाहरु म संग जिवनको भिक मागिरहेका छन् । मेरा सामु आत्मसमर्पण गरिरहेका छन् र त मसंग डराईरहेका छैनन् । 
copyright@duryodhanbasnet
आहारा नदिउन्जेल सवै मेरो मुखमा ट्वाल्ल परेर हेरिरहन्छन् । जव म आहारा लिन भान्सामा जान्छु ढोकाको वाहिरपटी मेरो प्रतिक्षा गरेर वसिरहेका हुन्छन । चामल ल्याएर छतमा हालिदिन नपाई हारालुछ गरेर खोसाखोस गरि एकैछिनमा स्वाहा बनाउंछन । ती मध्ये दुईवटा जती परेवा निकै दादागिरी गर्दछन र अरुलाई आहारा खान नदिएर ठुङ्दै हिंड्छन् । अनी मैले ती दुईवटा दादालाई धपाएर अरुलाई आहारा खाने वातावरण बनाईदिने गरेको छु । न्याय, स्वतन्त्रता र समानतामूलक समाजको परिकल्पना गर्ने म, वलियो परेवाले अरुलाई दपेटिरहंदा सोच्न थाल्छु – आखिर वलियोले कमजोरमाथी सत्ता चलाउने प्रकृतिको नियम नै रहेछ । कुनै समयमा यसलाई मत्स्य न्याय भन्ने गरिन्थ्यो । यो ‘ठूलो माछाले सानो माछालाई खान्छ’ भन्ने सिद्धान्तमा आधारित न्याय प्रणाली हो । इतिहासको कुनै कालखण्डमा कानूनी राज्यको अभावमा यही मत्स्य न्यायलाई राज्य संचालनको आधार बनार्ईएको थियो । जुन कुरा कौटिल्यको अर्थशास्त्रमा उल्लेख गरिएको छ । यसलाई धेरै ब्याख्या गरिरहनु जरुरी छैन । केवल परेवाको दादागिरीको कारण मात्र यो सन्दर्भ उठाईएको हो । 
यसरी लकडाउनका कारण मानिसलाई मात्र होईन परेवालाई समेत बांच्न धौ धौ परिहेको अवस्था छ । उनिहरु त झन परजिवी हुन । कसैले दियो भने खान्छन नभए भोकै पर्छन । जब राज्यले लकडाउनको घोषणा गर्दै छ भन्ने गाईंगुईं  हल्ला चल्न थाल्यो त्यसपछी काठमाण्डौमा बसोबास गर्ने धेरैजसो मानिसहरु  कोरोना भाईरसबाट सुरक्षा पनि हुन्छ र भोकले पनि मरिंदैन भन्ने सोच वोकेर गाउंतर्फ लागे । यसै क्रममा मेरा छिमेकीहरु पनि काठमाण्डौको घर छाडेर गाउं लागे जुन घरमा परेवाहरु आश्रय लिएर बस्ने गर्दथे । परेवाको पनि गांस, वास र सुरक्षाका लागि आश्रय लिने आफ्नै घर हुने रहेछन याने की उनिहरुले जुन घरमा आहारा खाने र वास वस्ने स्थान बनाएका हुन्छन त्यही घरलाई आफ्नो घर ठान्दा रहेछन । त्यो घरका मान्छेलाई आफ्ना मान्छे ठान्दा रहेछन । लकडाउनका कारण जव उनिहरुले आश्रय लिने घरका मानिसहरु शहर छाडेर गाउंतिर लागे त्यसपछी परेवाहरु सहाराविहिन र निरिह बने । टुहुरा बने । खान दिने दाताको अभावमा भोक र प्यासले तड्पिन थाले । अघिपछी आहारा दिने गरेका नजिकैका खाद्यान्न पसल र होटलहरु समेत बन्द भएका कारण उनिहरुका निम्ति खानाको जोहो गर्ने कुनै पनि आधार वांकी रहेन । जसले गर्दा आहाराको अभावमा भोकले तड्पिएर छटपटाउन थाले र कतिले त मृत्युवरण पनि गरिरहेको पाईन्छ । 
हो, यतिवेला तिनै सहाराविहिन निरिह परेवाहरुको संरक्षक भएको छु म । भोक र प्यास मेटाईदिएर जिवन वचाईदिने जिवनदाता भएको छु । यसलाई मैले धर्म ठानेको छु । कर्तव्य ठानेको छु । भोक र तिर्खाले छटपटाईरहेका परेवाहरुलाई जिवन दिन पाउंदा, उनिहरुको सेवा गर्न पाउंदा म आफुलाई भाग्यमानी ठानिरहेको छु । हुन त यतिवेला मात्र होईन अघिपछी पनि संधैभरी विहान उठेर परेवालाई आहारा पानी दिने मेरो दैनिकी नै भएको छ । मात्र अघिपछी मेरो घर लाई आफ्नो घर ठान्ने, मलाई आफ्नो मान्छे ठान्ने सिमित परेवाहरु हुन्थे भने यतिवेला वरपर छिमेकिका घरमा आश्रय लिईरहेका सवै परेवाहरु मेरो घरमा भोक, प्यासका लागि आउने गरेका छन । लकडाउनले मलाई यो शुभ अवसर दिलाएको छ । मैले आफुलाई धन्य ठानेको छु । मान्छेले मान्छेलाई त मानविय सहयोग गरेकै छ यतिवेला । निबेको चुल्हो वालिदिने, भोकाएका पेटहरु भरिदिने दानवीर सहयोगी हातहरु सहयोगी मनहरु अघी वढिरहेकै छन । उहांहरुको मानविय कार्यलाई प्रसंशा नगरिकन रहन सकिंदैन । तर अमूक, निरिह र सहाराविहिन परेवा, कुकुर लगायतका परजिवी प्राणीहरुको भोक, प्यास मेटाउनतिर भने हामी मानिसहरुको त्यती ध्यान गएको देखिंदैन । जिवनको पूर्णताका लागि अन्य प्राणिहरुसंगको सामिप्यताको पनि त्यतीकै जरुरी पर्ने भएकोले विश्वब्यापी संकटको यस घडिमा उनिहरुको भोक, प्यासतर्फ पनि उत्तिकै ध्यान  पुर्याउनु पर्ने देखिन्छ । 

No comments:

Post a Comment