
खेती गर्ने मान्छेको अभावमा बर्षौंदेखी निर्जर भएर झाडीमा परिणत गाउंको बांझो जमिन यतिवेला हराभरा भएर उर्वर वनेको छ । वाली लगाउने समय र वेला वेलामा आकासे पानी परिरहेको हुंदा यो सिजनमा लगाईने खाद्यान्न ंवाली र तरकारी वाली अत्यन्तै राम्रो भएको छ । खास गरेर मकै वालिको उत्पादनले धेरै वर्षपछी गाउंका किसानहरुलाई सन्तुष्टि प्रदान गरेको छ । वर्षे तरकारीको उत्पादन पनि सन्तोषजनक रहेको छ । तर लकडाउनका कारण विक्रीका लागि वजारसम्म पु¥याउने अवस्था नरहेकोले खेतवारिमै कुहिएर नास भैरहेको दुःखद स्थिती पनि आफ्नो ठाउंमा छ । यद्यपी विगतका वर्षहरुमा जस्तो किनेर खानुपर्ने अवस्था नरहेकोले किसानहरु खुसी नै देखिन्छन् । निरन्तर वर्षा भैरहेकोले धान रोपाईंको लागि पनि सहजता भएको छ । विगतमा झ्रैं खेती गर्ने मान्छेको अभाव खड्किएको छैन यसपाली । खेतवारी बांझो राखेर ठुलो धनराशी कमाउने सपना पोको पारेर सहर पसेका रामे, श्यामे र हर्केहरु कोरोनाका कारण सिर्जित लकडाउनमा गाउं फर्किएकाले पनि खेती गर्न सहज भएको छ । मकै छर्ने हली खोज्नु परेको छैन । धान रोप्ने रोपार, वाउसे र व्याडे खोज्नु परेको छैन । आफ्नो उव्जाउ खेतवारी बांझो राखेर वजारिया बिषादी दाल, चामल र तरकारी खानु पर्दाको पिडावोध गरिरहेका बृद्ध बावु आमा यसपाली आफ्नै खेतवारिको उब्जनी खान पाईने भयो भनेर छोरी, बुहारी र नाती नातिनीहरुवाट छिपेर हर्षको आंशु बगाईरहेका छन् ।
त्यती मात्र कहां हो र विहान झिसमिसेमै थर्थर कांप्दै पंधेरामा गाग्री बोकेर जानु परेको छैन । लट्ठी टेक्दै गाई, वाख्रा फुकाएर तारे भिरमा चराउन लानु परेको छैन । सकिनसकी डोको बोकेर बाङ्गो हर लाउंदै गोगनेको बनमा दाउरा, घांस लिन जानु परेको छैन र घांस काट्न खिम्ती वेसी झर्नु परेको पनि छैन । स्वां स्वां गर्दै भकारो झिक्न परेको छैन । अनी अंगेनाको छेउमा वसी धुवांमा रुमलिएर हिरिक्क हुने गरी आगो फुक्नु परेको छैन । जसले गर्दा वुढावुढीलाई आरामको श्वास फेर्ने मौका मिलेको छ । सायद उनिहरुलाई यतिवेला लाग्दो हो – लकडाउन संधैका लागि भैदिए पनि हुन्थ्यो त्यती नभए पनि लामो समयसम्म भैदिए हुन्थ्यो । कमसेकम लकडाउनको अवधिभर त छोराछोरी आफ्नो साथमा रहन्थे भन्ने उनिहरुको बुझाई थियो त्यो । बृद्ध अवस्थामा छोराछोरी घरमा नहुंदाको पिडा थियो त्यो ।

यसैगरी बृद्ध आमा बाबुलाई एक्लै छाडेर कमाउने सपनामा सहर पसेका छोराछोरिका लागि पनि चाहे शुरक्षाका दृष्टिले होस वा चाहे पापी पेटको सवालका दृृष्टिले होस अन्ततः आफ्नै गाउंघर र आफ्नै वावु आमाको छहारिको जरुरत पर्ने रहेछ भन्ने कुराका पुष्टी भएको छ । जव लकडाउनको घोषणा भयो, तत्पश्चात सम्पुर्ण उद्योगधन्दा, कल कारखाना, ब्यापार, व्यावशाय, निर्माणसम्वन्धि काम लगायत आउटडोर क्रियाकलापहरु सवै ठप्प हुन गयो । यसले अकुत सम्पतीवाला हुनेखाने वर्गलाई त खासै फरक परेन । तर सहरिया हुंदा खाने वर्ग जसलाई दिनभरी ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्न धौ धौ पर्दथ्यो, उनिहरुको चुल्हो निभाईदिने काम ग¥यो लकडाउनले । ज्याला मजदुरी गर्न नपाएपछी भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना हुन थाल्यो । भोको पेट तड्पिन थाल्यो र अघाउनका लागि उपाय खोज्न थाल्यो । उपायको खोजी गर्दै गर्दा जन्मस्थलो गाउं सम्झन थाल्यो । अनी सम्झन थाल्यो बृद्ध बाबु आमाको न्यानो काख, गैरा वारिमा फल्ने मकैको स्वादिलो, पोसिलो र आडिलो ढिंडो, गैरीखेतको धानको नरम भात र मालिगाईको दुध र दही । आफ्नै वारीको अर्गानिक ताजा र स्वच्छ तरकारी । यसरी एकातिर बेरोजगारीका कारण भोकभाकै बस्नुपर्ने अवस्था र अर्कोतिर भिडभाडका कारण तुलनात्मक रुपमा कोरोनाको प्रभाव गाउंमा भन्दा शहरमा बढी हुने संभावना देख्न थालेपछी भोका पेटहरु गाउं फर्किन थाले । तर गाउंको मायाले, बृद्ध वावु आमाको मायाले भने होईन । भोको पेटको समस्याले, दिर्घ जिवन बांच्ने चाहनाले, सहरमा कमाई राम्रै हुने कसैकसैको जगेर्ना गरिएको पैसा जोगाउने उद्देश्यले, मौकाको फाईदा उठाउंदै घरपरिवार र साथिभाईहरुसंग भेटघाट गर्ने मनसायले, केही समय भए पनि सहरको उकुसमुकुुसता र व्यस्त जीवनवाट मुक्ति मिल्ने र आराम गर्न पाईने आशाले ।
चाहे जुनसुकै उद्देश्यले भएपनि शहर पसेपछी गाउं विर्सेकाहरुलाई कोरोना महामारिले गाउं सम्झायो । शहर पसेपछी गाउं नफर्केकाहरुलाई गाउं फर्कायो । शहर नै सवैथोक हो, जीवन भनेकै शहर हो, शहरविना जीवन रहन सक्दैन भन्ने चिन्तनलाई परिवर्तन गरिदियो । विविधखाले रोगका जडयुक्त शहरिया खानेकुरा फास्टफुड र जंकफुड खाने बानी ब्यहोरालाई बदलिदियो र स्वच्छ, ताजा, आडिलो, पोषिलो, रोटी, मकै, ढिंडोको महत्वलाई आत्मसाथ गर्ने अवसर जुटाईदियो । अखाद्य वस्तु मिसाइएको शहरिया खानेकुराभन्दा आफ्नै खेतवारिमा उत्पादित अर्गानिक खानेकुरामा तागत छ भन्ने कुराको ज्ञान दिलायो । केमिकल मिसाएर सङ्लो बनाएको शहरिया जहरिलो जारको पानीभन्दा गाउंले धारा, कुवा र पंधेराको स्वच्छ र स्वादिलो पानी अमृतमय छ भन्ने सत्य तथ्यको उजागर गरिदियो । धुवां, धुलोयुक्त शहरिया प्रदुषित हावापानी भन्दा स्वच्छ, सफा गाउंले हावापानी स्वस्थवर्धक छ भन्ने यथार्थताको आभास गरायो । यसरी समग्रमा हेर्दा शहरिया जीवनशैलीभन्दा गाउंले जीवनशैली अती नै उत्तम हुने रहेछ भन्ने कुराको महशुस गरायो ।

सामाजिक मुल्य र मान्यतालाई आत्मसाथ गर्ने सवालमा हेर्ने हो भने पनि शहरिया जीवनभन्दा गाउंले जीवन धेरै माथी उठेको आभास हुन पुगेको छ यसपाली गाउं फर्किनेहरुलाई । सकेसम्म परिचित हुन नचाहने शहरिया परिवेश भोगेर गाउं फर्केकाहरु गाउंमा छिमेकीहरुविचको एकता, मित्रता, सद्भाव, सहयोग, सम्वन्ध, माया, दया, सेवा, करुणा देखेर वास्तवमै भावुक बन्न पुगेका छन् । अघिपछी सामान्य अवस्थामा त सवैले आ–आफ्नो हैसियत, सामथ्र्य, क्षमताअनुसार सुखम, दुःखम ब्यावहारिक जीवन यापन गरेकै हुन्छन । छिमेकिको सहयोग आवश्यक पर्ने भनेकै मर्दा र पर्दा हो । हो, यही मर्दा र पर्दा गाउंमा एकले अर्कालाई सकेको सहयोग गर्ने संस्कार वा प्रचलन रही आएको पाईन्छ । त्यसैले त भन्ने गरिन्छ नि छिमेकी भनेको जीउंदाको जन्ती, मर्दाको मलामी । यो सवालमा गाउं ऐलेसम्म पनि सवल नै रहेको पाईन्छ । जुन कुराको आभास यसपाली गाउं फर्किनेहरुले राम्रोसंग गर्न पाएका छन जुन कुराको शहरिया जीवन यापन गर्दा अभाव खड्किने गर्दथ्यो ।
त्यती मात्र होईन, सोझोपन, निष्कपट, स्पष्टता, स्वाभिमान, मेहनती र सु–संस्कृत गाउंले जीवनका अनुकरणिय विशेषताहरु हुन । यस्तै पाहुना सत्कार गाउंले जीवनको अर्को महत्वपुर्ण विशेषता हो । हाम्रा पुर्खाले बनाएको सांझका पाहुना देवतासरी हुन्छन् भन्ने उखानलाई अहिलेसम्म पनि आत्मसाथ गरिएको पाइन्छ । ऐंचोपैंचो, सरसापट, मेलापर्म र मर्दा पर्दाको दृष्टिले शहरियाभन्दा गाउं अव्वल रहेको छ भन्ने कुराको बलियो प्रमाणको रुपमा लकडाउनमा शहरवाट घर फर्किनेहरुलाई लिन सकिन्छ ।
यसरी गाउं कति महत्व रहेछ, आमा वावुको महत्व कती रहेछ भन्ने कुरा कोरोना महामारिका कारण भएको लकडाउनले पुष्टी गरिदिएको छ । सायद अव कोरोन महामारिको समाप्तिपछी कसैले पनि विगतमा झैं
गाउंलाई चटक्कै विर्सने छैनन् । आफ्ना बृद्ध आमा बाबुलाई एक्लै छाड्ने छैनन् र विर्सने छैनन् । तड्पाउने छैनन । यो कोरोनाको महत्वपुर्ण उपलब्धी हुने छ ।
No comments:
Post a Comment