Wednesday, January 26, 2022

एउटा बेवारिसी लास


उमेरले असी नाघीसकेको

एउटा बेवारीसी लास

सडक पेटीमा लम्पसार छ

नाताले बराजु भैसकेका

नाती,पनाती,खनाती देखीसकेका उनि

 सडक पेटीमा

नाताबिहीन अवस्थामा ढलीरहेको छन

सायद एउटा कुकुरको अवसान पनि

त्यो स्तरको नहोला

कैयौंको घरवार बसाईदिने उनी

आकासमुनी मृत्युवरण गरीरहेका छन

सडकपेटी उनको मृत्युशैंया बनेको छ

सायद छोरो अमेरीकामा होला

छोरी जापानमा होली

नाती,नातीना डाक्टर होलान

ईन्जीनियर होलान

पाईलट होलान

नातागोता थुप्रै होलान

र पनि अाज

उनको लास एक्लै छ

नितान्त एक्लै

पानी पानी भनेर

कती चीच्याए होलान

छोरालाई कती बोलाए होलान

छोरीलाई कती बोलाए होलान

नाती नातीनी कती सम्झे होलान

र पनि फेरी उनको चीच्याहट

केबल चीच्याहटमै सीमीत रह्यो

सबैथोक भएर पनि

नातागोताबीच रहेर पनि

उनको अन्तिम आवाज सुनीदीने कोही भएन

पानी पीलाउने कोही भएन

आंसु झारीदीने कोही भएन

कतीलाई बसाए

कतिलाई खुवाए

कतिलाई हंसाए

आखीर तीनैले

अन्तिममा रुवाए

नेपाली समाजको यथार्थ हो यो

भोग्नेहरुको भोगाई हो यो

याद गर्नुहोस महाशय

के थाहा

यही भोगाई तपाईंको नहोला भन्ने

आखीर यहांको नियती हो यो

Tuesday, January 18, 2022

बा

- निरा शर्मा


मैले धेरै पढेँ 

आमाका बेदनाका कथाहरु

तर कहिल्यै पढिन 

बाका अनुहारमा सलबलाएका 

दु:खका बक्र रेखाहरु 

धेरै पटक कविहरुले 

आमाकै तारिफमा कबिता कोरे 

आमाकै गीत संगीत भरे 

आमालाई धर्ती भन्नेहरुले 

बालाई कहिल्यै आकाश भनेनन् 

र त 

बा सँधै ओझेल परे ।


बारीको डीलमा चुपचाप 

ठिंग उभिएको बूढो रुख झैं 

बा कहिल्यै उभिएनन् 

भन्ज्यांगको चौतारी झैं 

ढसमस्स बसेनन् बा कहिल्यै 

बा त 

हाम्रो अँधेरो मेटाउन 

मैन झै जलिरहे 

हाम्रा खुसी समेट्न 

मोनो रेल झैं चलिरहे 

जिन्दगी भर कुदिरहे कुदिरहे 

थाकेर सुइय नगरि 

सँधै एक्लै कुदिरहे 

त्यसैले त अग्लिदैछ 

एक्लोपनको हिमाल 

बाको मनभित्र


यतिखेर 

लम्पसार छ निरस जिन्दगी 

बाकै अघिल्तिर  

थिचिएर त्रासले सँधै 

घुरिरहन्छ घ्वारघ्वार 

कुम्भकर्णको निद्रामा 

बाको अन्योल जिन्दगी 

तर बा 

करकलाको पातमा टलपल पानी झैं 

आँसु टिलपिलाएका आँखामा

निद्रा हराएपछि  

खुसीहरुको सिला खोज्दैछन् 

परेलीका डीलहरुमा


बोल्दा बोल्दै भासिन्छ बाको स्वर 

बोली बन्द हुन्छ एकाएक 

थाहा पाउछु म गला अबरुद्ध भएको 

र पनि दबाएर सबै पीडा 

मुस्कुराएको अभिनय गर्छन् 

म चिन्छु त्यो मुस्कान 

त्यो नक्कली मुस्कान 

जो बाको होइन 

हुदै होइन ।


फुंग रंग उडेका 

उदासीका फूलहरु 

फुलेका छन् बाका मुहार भरि 

चाउरिएर 

ग्राफ जस्ता गालाका रेखाहरुमा 

कतै एक धर्को सन्तोष छैन 

कपाल झरेर खुइलिएको बाको तालुमा 

जिम्मेवारीको चर्को घामले 

उदाए देखि अस्ताउदा सम्म

ठुंगिरहन्छ

 

भित्र मनमा कता कता 

बिगत र आगतको 

उही चिन्ताको पहाड उभिएको छ 

र बा त्यही पहाडमा उभिएर 

संसार जितेको नाटक गर्छन् 

अनि बाँड्छन् हामीलाई 

पैंचो मागेका उधारा खुसीहरु 

तर यथार्थमा 

बा हारिरहन्छन् पलपल 

मेरो लागि 

तिम्रो लागि र 

हाम्रो लागि 

हो, बा त्यो हरुवा हो 

जो सँधै हारिरहन्छन् 

केवल सन्तानका लागि ।

Tuesday, January 4, 2022

रारामुगु यात्राको अन्तिम दिन र देखे बुझेको मुगु ।

 म‍ोतीलाल घिमिरे


भौगोलिक बनोटले बिकट ठानिएको मुगु धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण रहेछ। हाम्रो पथ प्रदर्शक(गाइड)को रुपमा रहेका भाई पदम रोकायाका अनुसार महादेवकी पत्नि सतिदेवीको मृत्यु भईसके पछि सतिदेवीको अन्तिम अंग मुगु जिल्लामा अवस्थित छॅायानाथ भन्ने ठॅाउमा पतन भएकोले त्यस ठॅाउ “छॅायानाथ धाम”ले प्रचलित रहेछ ।
समुन्द्र सतहबाट ४५०० मिटर उचाईको हिमशिखरमा रहेको छॅायानाथ मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछामलगायत जिल्लाबाट तीर्थालुको घुइँचो लाग्ने र स्थानीयहरु पनि ३/४ दिन लगाएर मेला भर्न पुग्ने गरेको सुनाए।

नेपालकै ठूलो ताल रारा र छॅायानाथ धाम मुगुमा भएकाले जनजीवन कष्टकर भए पनि प्राकृतिक र धार्मिक हिसाबले धनी रहेछन मुगुबासी।


प्रकृतिले धर्तीकै स्वर्ग तुल्य रारा जस्तो सुन्दर ठॅाउ दिएको छ । तर रारा नजिकैको ७०/७२ घर रहेको मुर्मा गॅाउको मानिसहरुको कठिन जीवन देख्दा दु:ख लाग्यो । यात्रामा आएका पाहुनाहरुलाई मुस्कान सहित स्वागत त गर्छन् तर महिनौं देखि ननुहाएर जिंग्रिंग गुजुल्टिएको कपाल,नाक मुनी सिंगानको पाप्रा र कुपोषित शरीर देख्दा कटक्क मन दुख्यो ।


८/९ जना बच्चाहरुलाई कापी कलम किन भनेर हामीले केही पैसा हातमा थमाईदिएपछि उनीहरुको अनुहारमा देखिएको प्रफुल्लताले उनीहरुको अवस्था देखेर दुखेको हाम्रो मनमा मलम लगाई दिए जस्तै अनुभूत भयो ।

मुगु जस्ता भौगोलिक हिसाबले बिकट ठानिएको तर प्राकृतिक सौन्दर्यले भरिएको ठॅाउहरुको विकास र त्यहॅाका मानिसहरुको सहज जीवनको लागि सरकार एवं राजनैतिक प्रतिनिधिहरुले त्यस्ता क्षेत्रमा पर्यटन विकासलाई निर्विकल्प ठानी योजना बनॅाउदा पॅाच तारे होटलमा नभै त्यहींका जनताको अनुहार हेरी पर्यटन विकासको लागि पूर्वाधार तयार गरे हुन्थ्यो नी जस्तो मनमा लाग्यो ।

ताल्चा एयरपोर्ट नजिकै एक रात बसाईको क्रममा मुगुको सदरमुकाम गमगढी सम्म पुग्न मन लाग्यो । ताल्चा एयरपोर्टबाट मुगुको सदरमुकाम सम्मको दुरी त्यस्तै ३/४ कि.मि.छ ।त्यती दूरीको एक तर्फी जीप भाडा रु.५०० प्रति व्यक्ति  रहेछ।अली अस्वाभाविक जस्तो लाग्यो।

रारा ताल क्षेत्रमा रहेको केवल २ वटा होटल र ताल्चाको यातायातको माध्यम जीप संचालनमा ट्राभल एजेन्सिका सिमित व्यक्तिहरुको पकडमा सिन्डिकेट जस्तै रहेछ।

राराको सुन्दर अवलोकन र गमगढी घुमाई पश्चात काठमांडौ फर्किने क्रममा ताल्चाबाट नेपालगन्ज सम्म ट्वीन अटरबाट आकाशे यात्राको तालिका थियो।

ताल्चा बिमान स्थल अलि जोखिम रहेछ।बिमान पहाडमै ठोकिन्छ कि जसो गरी उडान र अवतरण हुने रहेछ।पहाडको खोंचमा रहेको सानो बिमान स्थलमा तारको घेरा बारा केही छैन।बोर्डिंग पास प्रक्रिया अन्तर्गत रजिष्टरमा  नाम लेखाई यात्रुहरु जहाजको प्रतिक्षामा खुला धावन मार्ग नजिकैको चउरमा बस्नु पर्ने रहेछ।जहाज आयपछिको दृष्य गजबको थियो।जहाज नभएर रत्नपार्कमा बस चढे जस्तो।

जहाज आउने भएपछि धावन मार्गमा लाईन लागेर बस्ने र जहाज आएपछि यात्रु झर्ने र सरसफाई,प्राविधिक जॅाच बिना रत्नपार्कमा बस चढे झैं यात्रुहरु चढ्ने।

यात्रुहरु ओर्लने र चढ्ने अवधिमा बिमानको इन्जिन बन्द नगरी बिमान अवतरण गरेको लगभग १० मिनेट भित्रमा उड्दो रहेछ।

ताल्चा देखि नेपालगन्ज सम्मको ट्वीन अटरबाट लगभग ५० मिनटको डर मिसिएको रोमान्चकता सहितको आकाशे यात्रा र नेपालगन्ज देखि काठमांडौ सम्मको ५५ मिनटको सहज हवाई यात्रा पश्चात रारा यात्रा सकिय पनि राराको सजीव चित्र मनमा सजॅाउदै घर पुगियो।


आफ्नो देखाईर भोगाईबाट रारा जान चाहनेहरुको लागि सुझाव:

-राराको सुन्दरताले रारा जान मन लाग्छ तर भौगोलिक हिसाबले त्यती सहज छैन।

-बच्चा,बृद्ध बृद्धा एवं अशक्तहरुलाई धेरै गाह्रो छ।

-आफ्नै किसिमले जॅादा होटेलमा बास पाउन र ताल्चाबाट फर्किन बिमान टिकट पाउन  सहज नहुन सक्छ।

-मध्य फागुन देखि बैशाख र असौज,कार्तिक रारा यात्राको लागि उपयुक्त समय हो।