सन्दर्भ २०७६ सालको हो । माघ १ गते जरुरी काम परेका कारण विहानै सिद्धार्थ यातायातको विङ्गर चढेर काठमाण्डौको खसी बजारबाट बुटवलतर्फ प्रस्थान गरियो । यात्रामा हामी दुईजना थियौं । विचको दुईवटा सिट फोन मार्फत बुकिङ्ग गरिएको थियो । हामीभन्दा अगाडिको सिटमा लगभग ४०÷५० उमेरका महिलाहरु बसेका थिए भने पछाडिको सिटमा २ जना पुरुषहरु बसेका थिए । उनिहरु अन्दाजी ३० देखी ४० बर्ष बिचको उमेरका थिए । यात्राको क्रम सुरु भएदेखी नै हामीभन्दा पछाडीको सिटमा बस्ने दुई जना पुरुष गुनासो गर्न थाले । ‘ हामी बुढाहरुलाई पछाडी राखेर अगाडी केटिहरुलाई राखेको छ । विवेक नभएको ड्राईवर । हुन त यहां कसलाई भनेर के हुने हो र । तैं चुप मै चुप । उनिहरुले त्यसो भनिरहंदा हामी दुई भने मुस्कुराईरहेका थियौं । यात्रा अगाडी बढिरहेको थियो ।
यात्रा नैकापबाट थान्कोटतर्फ लागेपश्चात विग्रीएको मर्मत हुंदै गरेको धुलाम्य सडकको विषयमा गुनासो गर्न थाले । यो सडक विग्रीएको वर्षौ भैसक्यो । कसैलाई मतलब छैन । नेताहरुलाई कुर्सि पाए भयो । भ्रष्टचारी नेताहरु । यो देश कहिल्यै नसप्रने भयो आदि आदि । उनिहरुले त्यसो भनिरहंदा हामी दुईलाई पनि केहि हदसम्म त ठिकै हो की जस्तो पनि लाग्यो । यात्रा अगाडी बढ्रदै गयो । थानकोटबाट अगाडी लाग्दै गर्दा टिप्परको ओभरटेकका कारण प्रायःजाम हुने नागढुङ्गाको ओरालोमा जाम नभै सरासर जान पाएकोमा भने खुसी देखिन्थे । भन्दै थिए—आजै पहिलो पटक होला जाममा नफसी सरासर जान पाएको । यात्राको क्रममा विङ्गरको झ्यालबाट देखिने पर परको गाउंसम्म पुग्ने बाटो खनेकोमा पनि गुनासो गरिरहेका थिए– त्यस गाउंका मानिसहरुको कृषी उत्पादनलाई सरल मुल्य तिरेर किसानलाई ठगी बजारमा लगेर महंगो मुल्यमा बेच्नका लागि बाटो खनिएको भन्थे । बाटोमा राम्रो रङ्ग लगाएर बनाएको होटल देखे भने हामीलाई ठगेर बनाएको फेरी पनि ठग्नका लागि आकर्षक बनाएको त हो नि भन्थे । खाना खाने होटलमा कती नराम्रो, महङ्गो खाना भनेर गुनासो गरिरहेका हुन्थे । यसरी हरेक कुरामा नकारात्मक धारणा मात्र राख्थे । उनिहरुको गुनासो सुन्दा सुन्दै कती छिटो २ बजे बुटवल पुगिएछ पत्तै भएन ।
त्यस दिन सितलनगरमा आफन्तकोमा बास वसी भोलिपल्ट वसद्वारा गुल्मी तर्फ लागियो । माघे संक्रान्तिको अवसरमा रिडी मेला लागेको हुंदा मेला भर्न जानेहरुको भिडम भिडका कारण गाडी खचाखच भरिएको थियो । खुट्टा टेक्ने ठाउं थिएन र पनि यात्रुहरु सन्तुष्टी नै पोखिरहेका थिए । पहिला पहिला गाडी नचल्दा हिंडेरै भए पनि घण्टौ लगाएर आवत जावत गरिन्थ्योे । अहिले त कम से कम उभिएरै भए पनि गाडी चढ्रन पाईएको छ । यो नै ठुलो उपलब्धि हो । यसरी उनिहरुलाई सिट चाहिएको छैन । उभिएरै भए पनि यात्रा गर्न पाएकोमा खुसी देखिन्छन । त्याहांको अर्को सकारात्मक पक्ष भनेको गाडी भाडाका लागि कसैले पनि किचकिच गर्दैनन । गाडीको स्टाफले जती मागेको छ सवाल जवाफ नगरिकनै खुरुक्क झिकेर दिने प्रचलन रहेको पाईन्छ । जसले गर्दा अन्यत्र वा सहरी क्षेत्रमा जस्तो यात्रु र गाडीका स्टाफविच भाडाका लागि झै झगडा पनि पर्दैन । त्यस्तै गाडी यात्रामा संगै सिटमा बसेका यात्रुहरुविच भलाकुसारी हुने अर्को सकारात्मक पक्ष हो । सहरी क्षेत्रमा संगैको सिटमा बसेको यात्रुसंग बोल्दा पाप लाग्ला जस्तो ठानिने संस्कार रहेको पाईन्छ । यसबाट के पुष्टी हुन्छ भने सोच नकारात्मक हुंदा हरेक पक्षलाई गलत देखिन्छ भने सोच सकारात्मक हुंदा हरेक चिज सही देखिन्छ । भनिन्छ नि– मन धमिलो छ भने दृष्टीकोण धमिलो हुन्छ । दृष्टीकोण धमिलो भएपछी चिज गलत देखिन्छ । काठमाडौं देखी गुल्मीसम्म पुग्दाको अनुभवले यही बताउंछ ।
गुल्मीबाट बुटवल फर्केर आफन्त भेटघाटका लागि धनगढी लाग्दै गर्दा र भेटघाटको क्रम पश्चात बुटवल फर्किंदै गर्दा रात्री बसमा मादक पदार्थ सेवन गरी हो हल्ला गरेर यात्रुहरुलाई डिस्टर्व गरिरहंदा गुल्मीको पहाडी बस्तीमा चल्ने गाडीका यात्रुहरुको असल सोच र सोच अनुसारको ब्याबहारको स्मरण गर्न मन लाग्यो । यसरी सुविधायुक्त सहरवासी भएकोमा आफुलाई सभ्य भएको ठान्नेहरुले देखाएको असभ्य र जङ्गली ब्यबहार र आफुलाई विकट पहाडी अशिक्षित, अनपढ, केही नजान्ने ठान्नेहरुले देखाएको सभ्य, अत्यन्तै शालिन, भद्र ब्यवहारलाई तुलना गर्न मन लाग्दथ्यो । यो त एउटा प्रतिनिधीमुलक परिघटना मात्र हो । सारमा यो देशभरीकै कथा ब्यथा हो ।

No comments:
Post a Comment