सांझ परेपछी झ्याउंकिरिको सुरिलो आवाज र भ्यागुताको ट्वार ट्वारले असार वा वर्षाको संकेत गर्दथ्यो । झ्याउंकिरी र भ्यागुता कराउंदा निस्कने आवाज र मकैको पातमा पानीको थोपा पर्दा उत्पन्न हुने आवाजले एउटा संगितकारले संगितको सिर्जना गरिरहेको हो कि भन्ने भान हुन्थ्यो । जसले मिठो निन्द्रा लगाउंथ्यो । यसैगरी पालीवाट मजेरीमा खसेको पानीको थोपाको तप तप आवाजले पानी परिरहेको जानकारी दिन्थ्यो । घांस, सोतर गर्न जांदा होस वा गोठालो जांदा वा खेतवारिमा काम गर्न जांदा मसिनो जुकाले टोकेर रक्ताम्मै पार्दथ्यो । अझ रमाईलो कुरो त वर्षाको हिलोले खाएर बनेका घाउहरुमा जुका लगाएर पिल्सेको रगत चुस्न दिईन्थ्यो । नभन्दै जुकाले चुसेको १÷२ दिनमै घाउ निको हुन्थ्यो । यो घाउको उपचार गर्ने विशेष गाउंले तरिका थियो । त्यतीवेला घाउ खटिरामा लगाउने शिवजन ट्यावलेट नामको एलोपेथिक औषधी पाईन्थ्यो । त्यसलाई पानीमा भिजाएर घाउमा लगाईन्थ्यो । यो गाउंमा सवै ठांउमा पाईंदैनथ्यो । यो भन्दा भरपर्दो घरायसी औषधी मेरो वावुले वनाउनुहुन्थ्यो । खाएर डढेको तमाखु, चिलिमको पिंध, लोरी घोटेर पेस्ट ( लेदो ) बनाएर घाउमा लगाएपछी त्यसले अचुक औषधीको काम गर्दथ्यो । एक दुई दिनमै घाउ निको हुन्थ्यो ।
श्रावनको महिनामा मकैवारिमा कोदो रोप्ने गरिन्थ्यो । मकै वारीभित्र कोदो रोप्ने काम अत्यन्तै कठिन थियो । खन्ने काम त झनै कठिन हुन्थ्यो । न पानी पर्दा सहजसंग ओढो ओढ्न पाईने । प्लास्टिक त्यो पनि डोरिले बांधेर ओढ्नुपर्दथ्यो । गाउंघरमा वर्षामा खेतवारिमा काम गर्दा ओढोको रुपमा विशेषतः घुम र प्लास्टिक प्रयोग गरिन्थ्यो । कोदो रोप्दा हात गोडा यती चिलाउंथ्यो कि रातभर मकैको खोयाले कनाउनुपर्दथ्यो । एकातिर दिनभरको थकाई अर्कोतिर रातभर हात गोडा कनाउनुपर्ने । कती आपत । हात गोडा चिलाउनुको कारण थियो – त्यतीवेला गाउंमा चर्पि बनाउने चलन थिएन । बन वा वारिको पाटामा गएर शौच गर्ने चलन थियो । जसले गर्दा कोदो रोप्ने वेलामा फोहोर भएर हात गोडा चिलाउने समस्या सिर्जना हुन्थ्यो । हात गोडा चिलाएर असह्य भएपछी कपडा सिउने सियोले खोपेर पिल्सिएको कालो रगत निकालेर फाल्ने गरिन्थ्यो । त्यसपछी चिलाउन छाड्थ्यो । हिलोले खाएको ठाउंमा उपचार गर्ने यो त्यतिवेलाको गाउंले तरिका थियो ।
भाद्र महिनाको सुरुआतदेखी नै खेतमा धान गोड्ने कामको थालनी हुन्थ्यो । धानको पातले हात पास्ने हुंदा
कुहिनासम्म प्लास्टिक बेर्ने गरिन्थ्यो । दिनभरी निहुरेर वा वसेर धान गोड्दा थकाईले लखतरान बनाउंथ्यो । धान गोड्ने काम सकिएपछी लगतै भदौको तेश्रो हप्तातिर वारीमा मकै भांच्ने काम सुरु हुन्थ्यो । भदौको टण्टलापुर घाममा दिनभरी मकै भांच्यो । भोलीपल्टका लागि मकै राख्ने ठाउं बनाउनका लागि राती १२ वजेसम्म मकै नंग्याउनु पर्दथ्यो । मकै भांचेर नसकुन्जेल यही काम दोहोरिन्थ्यो । मकै भांचिसकेपछी भने बल्ल बर्खे कामवाट केही हदसम्म फुर्सद मिल्दथ्यो । यद्यपी फापर छर्ने, तोरी छर्ने हल्का काम भने भइनैरहन्थ्यो । मकैको काम सकिईसकेपछी धान काट्ने वेला नहुन्जेलसम्म बल्ल आराम गर्ने समय निस्कन्थ्यो । यो विचको समयमा हिन्दुहरुको महान चाड दसैं र तिहार पनि पर्ने भएकोले बर्खाभरी भिजेर हिलो मैलो भएर मरीमरी काम गर्दा कमजोर र सिथिल भएको शरिरलाई दसैं र तिहारको पौष्टिक खानपान र थकाई मेटानले निकै राहत पु¥याउंदथ्यो । त्यसो त आषाढ महिना सुरुभएपश्चात खेत रोपाईबाट वर्खे काम नसकिएसम्म समय समयमा भिन्न भिन्न किसिमका पौष्टिक परिकार खाएर कामको बोझले कमजोर र शक्तिहिन बनाएको शरिरलाई स्वस्थ, बलियो र तन्दुरुस्त राख्ने गरिन्छ । जस्तै ः आसार १५ मा दही चिउरा, साउने संक्रान्तीमा विभिन्न स्वादिष्ट परिकार, साउन १५ मा खिर, जनाईपुर्णेमा क्वांटी, तिजमा दर, जसले शरिरलाई शक्ति प्रदान गर्दछ । यी अवसरहरुलाई चाडपर्वको रुपमा स्थापित गरिएको छ । यसले के पुष्टि गर्दछ भने हाम्रा जे जती संस्कार र संस्कृतिहरु छन ती सवै कुनै न कुनै रुपमा कृषी पेशासंग जोडिएको पाईन्छ । यसरी यो लेखमा पहिले वर्षा याममा गाउंले जिवन कती कष्टकर हुन्थ्यो भन्ने कुरा दर्शाउन खोजिएको छ । यहां पहिले भनेर किन भन्न खोजिएको हो भने यतिवेला बाटोघाटोको सुविधाका कारण गाउं गाउंमा हाते ट्रेक्टर पुगिसकेकोले मानव श्रम विस्तारै घट्दै गएको अवस्था छ ।
