यतिवेला बैदेशिक रोजगारीमा जानेहरुका लागि आम्दानीका दृष्टिले दक्षिण कोरिया आकर्षणको केन्द्र बनेको छ । भर्खरै लिंदै गरेको भाषा परिक्षाको लागि मात्र १४७००० को आवेदन परेको छ । ती मध्ये भाषा परिक्षामा उतिर्ण भएर प्रतिष्पर्धामा आउने अठार हजार भाग्यमानीले मात्र कोरिया जान पाउने छन । परिक्षा ईपीएस कार्यालय भैंसेपाटिमा धमाधम चलिरहेको छ । सोहि परिक्षाका लागि आवेदन दिएकी मेरो आफन्ती नानीलाई जेठ ८ गते हुने परिक्षाका लागि परिक्षा केन्द्र देखाउन लगेको थिएं । काठमाण्डौ पहिलोपटक आएकीले मेरो घर सम्म पुग्ने बाटो र गाडीको बारेमा जानकारी नभएकोले परिक्षा अबधीभर मैले कुरेर बस्नुपर्ने भयो । त्यसैले परिक्षा नसकुन्जेल कार्यालय अगाडीको खाजा होटलमा चिया खाजा खांदै समय बिताएर बसिरहेको थिएं ।
होटलमा अगाडीको सिफ्टमा परिक्षा दिएर खाजा खान आउनेहरुको निक्कै भिडभाड थियो । परिक्षा राम्रो हुनेहरु निक्कै हांसी खुसिका साथ गफ गर्दै खाजा खाईरहेका थिए भने परिक्षा बिग्रिएकाहरु भने पुरै तनाबमय मुद्रामा कालोनिलो भएर खाजा के खाने भन्ने कुराको पनि निर्णय लिन सकिरहेका थिएनन । होटलवाला साहुनीले दुई तिन पटक सोधिरहंदा समेत उत्तर दिईरहेका थिएनन । पुरै छटपटाहट, चिट्चिटाहट भैरहेको थियो । वेचैनी भैरहेको भान हुन्थ्यो । लाग्थ्यो – परिक्षा पास गर्नेले संसारै जिते । फेल हुनेले संसारै हारे । परिक्षामा ४० वटा प्रश्नको उत्तर दिनुपर्ने र पास हुनलाई ३८ वटा मिलाउनुपर्ने नियम वा पद्धती बनाईएको रहेछ । ३७ लाई कटलाईन भनिंदोरहेछ अर्थात ३७ भन्दा तल आउने फेल हुने रहेछन । यसरी ३८ भन्दा माथी आउने सवै खुसी, कम आउने सवै दुखी ।
मापदण्डअनुसार फेल हुनेहरुविच एकआपश्मा छलफल चल्दै थियो कि अव कुन देश जाने ? कसरी जाने ? पैसाको जोहो कसरी गर्ने ? कुन देशमा जांदा पैसा धेरै र छिट्टै कमाउन सकिन्छ ? आदित्यादी । उनिहरुको हतास, अत्तालिएको, हारेको, असन्तुलित मनस्थिती देख्दा लाग्थ्यो – नेपालमा गरिखाने कुनै अबसर नै छैन । ठाउं नै छैन । बाताबरण नै छैन । माहौल नै छैन । परिस्थिती नै छैन । के बास्तवमै नेपालको अबस्था यस्तै हो त ? उनीहरुले सोचेको जस्तै । उनिहरुले बुझेको जस्तै । के यहां गरिखाने कुनै अवशर नै छैन । बाताबरण नै छैन । यहां कुनै रोजगारीको संभावना नै छैन । एकपटक घोत्लनुपर्ने बेला आएको छ । गहिरिएर सोच्नुपर्ने वेला आएको छ । कतै सही ठाउंमा, सही समयमा नपरेर नपाएको पो हो की वा खोजी नै नगरिएको पो हो की । सही ढंगले खोजी नगरिएकोले नपाएको पो हो की । अपेक्षा गरिएअनुसार नपाएर पो हो की । योग्यता र क्षमताअनुसारको काम र दाम नपाएर पो हो की । यहां कहांनेर कुरो मिलिरहेको छैन खोजी गर्नु जरुरी छ । यदी सांच्चै अबसर नै छैन । बाताबरण नै छैन । परिस्थीती नै छैन भने राज्यले यी कुराहरु मिलाउनु जरुरी छ ।
हामीसंग अथाह प्राकृतिक श्रोत र साधनहरु रहेका छन । हामीसंग प्रशस्त जल, जमिन र जङ्गल रहेका छन । यिनीहरुको सदुपयोग गरेर देशमा थुप्रै उद्योगधन्दाहरु खोल्न सकिन्छ र रोजगारीको सिर्जना गर्न सकिन्छ । यदि राज्यले स्वदेशमै रोजगारीको सिर्जना गर्ने हो र योग्यता, विज्ञता, क्षमता अनुसारको काम, माम र दामको व्यवस्था मिलाउने हो भने कुनै पनि नेपालीले विदेसिनु पर्ने अवस्था आउने थिएन । विदेसीनुपर्ने पिडा कती दर्दनाक, असह्य हुन्छ भन्ने कुराको प्रमाण खोज्न अन्त कतै जानु पर्दैन । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल गए पुग्छ । त्याहांको कोलाहलपुर्ण बाताबरणले पुष्टी गर्छ की नेपाली युवा युवतीहरु खुसिले विदेसिएका छैनन । यो कुरा त्याहां देखिने आंशुले बताईरहेको हुन्छ । जानेको आंखामा आंशु, विदाई गर्नेको आंखामा आंशु । कतै खुसी र पिडा मिसिएको आंशु कतै पिडैपिडाको आंशु । अनि कतै रुन्चे हांसो कतै आंशु लुकाईएको हांसो । आंशु र हांसोको संगमस्थल बनेको छ विमानस्थल ।
चौविसैघण्टा भरिभराउ, खचाखच, भिडमभिड, मारामार, रुवाबासी – विमानस्थलको विशेषता हो यो । अध्यागमनको आंकडाअनुसार सन.२०२३ जनवरी १ देखी डिसेम्वर ३१ सम्म १ बर्षको अवधिमा ८ लाख ८ हजार ४ सय १५ जना नेपाली श्रम स्विकृति लिएर बैदेशिक रोजगारीमा गएका थिए । अझ स्थलमार्गबाट विदेश जानेहरुको संख्या यसमा जोडिएको छैन । मात्र १ बर्षको यो आंकडाबाट हामिले सहजै अनुमान लगाउन सक्छौं की कती नेपाली युवा युवतीहरु विदेशीएका छन । अझै पछिल्लो समयमा त विदेशिनेको संख्या दिन दुईगुणा रात चौगुणा बढिरहेको पाईन्छ । एस.ई.ईं. पास गर्नासाथ २० बर्ष पनि उमेर नपुगेका भर्खरका कलिला केटाकेटीहरु ईपिएस मार्फत कोरिया जाने तरखर गरिरहेका हुन्छन । प्लस टु र ब्याचलर गर्नेहरुको त कुरै छाडौं । आम पढेलेखेकाहरु जापान, अष्ट्रेलिया, अमेरिका र युरोपका विभिन्न मुलुकहरुमा जाने गरेको पाईन्छ । अनि नपढेका र अण्डर यस.ई.ई. जती सवै खाडी मुलुकतिर । यसरी नेपालमा कोही पनि बस्न चाहंदैनन् ।
र त यतिखेर गाउंमा मलामीको अभाव खड्कीरहेको छ । गाउंबस्ती सुनसान भएको छ । खेतीयोग्य उर्वरा भुमी बांझो पल्टिएर बनझड झाडिमा परिणत भएको छ । यतिवेला बनमारा, तितेपाती, सिस्नो र विविधखाले बुट्यानहरुले ढाकिएका छन । मकै, सिमी, भटमास, कोदो, फापर फल्ने बारिका पाटाहरु कांढाघारिमा परिणत भएका छन । गाउंमा पात बजाएर मिठो धुन निकाल्दै गाई चराउने गोठालाहरु पाईन्दैनन । गाउंको पहिचान बनेको असारे भाका पनि गाईंदैन अचेल । ‘ कोदो रोप्दा लाएको पिरती, छुट्यो तोरी फुल्ने बेलामा ’ भन्ने चर्चित गीतको औचित्य सकिएको छ अव किनकी न कोदो रोप्ने मान्छे छ न त तोरी छर्ने । यसरी गाउं पुरै उजाड बनेको छ । मलामी जाने, गोठाला लाग्ने, खेत रोप्ने, कोदो रोप्ने, तोरी छर्ने सवै श्रमशिल पाखुरीहरु विदेशी भुमिमा श्रम गर्न बाध्य छन । उनिहरु सवै कतारको, साउदी अरवको ५० डिग्री तापक्रममा भेडा चराईरहेका छन । कोरिया, मलेशियाका खेतबारिहरुमा तरकारी रोप्दै, गोड्दै र टिप्दै छन । कोही फलाम कारखानामा, कोही कागज कारखानामा, कोही बुंगुर फर्ममा, कोही पोल्ट्री फर्ममा श्रमसंग, पसिनासंग पैसा साटिरहेका छन । त्यसैगरी कोही जापान, अमेरिका लगायत युरोपियन देशहरुमा आफ्नो योग्यता, विज्ञता, क्षमता, सिप र श्रम बेचिरहेका छन । खुसिले, चाहनाले, ईच्छाले होईन बाध्यताले ।
सवैभन्दा दुखद कुरो त यो छ की साहुको चर्को ब्याजमा ऋण काढेर ठुलो सपना बोकेर प्रदेशिएका नेपाल आमाका थुप्रै छोराछोरीहरु सपनालाई विचमै तुहाएर आफु वाकसमा फर्किएर आईरहेका हुन्छन । यतिमात्र होईन कतिले दर्दनाक यातना भोगिरहेका हुन्छन भने कती जेलमा सढिरहेका हुन्छन । हामीले विभिन्न सामाजिक सञ्जालबाट जानकारी पाईरहेका छौं – जेल जिवन बिताईरहेकाहरु, यातना भोगिरहेकाहरु, मृत्युदण्डको सजाएं पाएकाहरु सरकार र विभिन्न संघ संस्थाहरुसंग जिवनको भिख मागिरहेका हुन्छन । यसवाट पुष्टी हुन्छ की बैदेशिक रोजगारीमा जानेहरुको जिवन कती पिडादायी, दर्दनाक छ भन्ने कुरा ।
यसरी यो समग्र लेखको आशय के हो भने हामीसंग भएका अथाह प्राकृतिक श्रोत र साधनको सदुपयोग गरी आफ्नै देशमा उद्योग धन्दाहरु सञ्चालन गरेर रोजगारीको सिर्जना गरौं र बैदेशिक रोजगारीमा जांदा सिर्जना हुने दर्दनाक पिडाबाट नेपाली युवा युवतीहरुलाई बचाउने काम गरौं । यतिवेला जो गैरहेका छन उनिहरुलाई पनि स्वदेश फर्काउने बाताबरण तयार गरौं । उनिहरुले विदेशमा सिकेका ज्ञान, सिपलाई नेपालमा प्रयोग गरी नेपालको विकासमा टेवा पु¥याउने काम गरौं । यसैमा हामी सवैको भलो हुने छ ।

No comments:
Post a Comment