संसार एउटा पद्धतिमा चलेको छ । ब्रह्माण्ड पद्धतिमा चलेको छ । चन्द्र, सूर्य, तारा, ग्रह सवै पद्धतिमा चलेका छन । अर्थात प्रकृति आफ्नो नियम र पद्धतिमा चलेको छ । र त यो संसार अस्तित्वमा छ । हामी अस्तित्वमा छौं ।
यसरी यो संसार पद्धतिमा चलिरहंदा बुद्धी, विवेक, चेतना भएका संसारका सर्वश्रेष्ठ हामी मानिस भने पद्धतिलाई लत्याएर, कुल्चिएर आफुखुसी चलिरहेका छौं । हाम्रा प्रत्येक क्रियाकलापहरु प्रकृतिको नियम विपरित छन । हाम्रा सोचविचार, ब्यवहार, चिन्तन, आनिवानी, चरित्र, खानपान सवै अप्राकृतिक हुन थाले । जसका कारण आज हामी पिडाको भूमरिमा फस्न पुगिरहेका छौं । शारिरिक र मानसिक दुवै किसिमका पिडावाट गुज्रिरहेका छौं । यसको दोषी अरु कोही नभएर हामी स्वयम नै हौं ।
हामीलाई हरेक कुराको परिणाम चांडोभन्दा चांडो चाहिएको छ । धैर्य गर्न पटक्कै सक्दैनौ । यहांसम्मकी छोराछोरीलाई स्कुल भर्ना गर्न पाएका छैनौर्, यसले एस.ई.ई. कहिले पास गर्ने होला’ भनेर सपना देख्न थाल्छौं । उनीहरुलाई थाहा छ लगातार पास गर्दै गए भने एस.ई.ई. पास गर्न १३ वर्ष लाग्छ । यो थाहा पाउंदा पाउंदै पनि १३ बर्ष अगाडीदेखि नै अनावश्यक तनाव लिन थाल्छन । अझ कसैले त छोराछोरी पहिलो, दोस्रो पोजिशनमा आएका रहेछन भने एक तह कक्षा माथी चढाउनका लागि विद्यालयलाई आग्रह गर्न थाल्छन । युकेजीवाट एक कक्षामा भर्ना नगरी एकैपटक दुई कक्षामा भर्ना गरिदिन्छन त्यती नभए पनि एक कक्षाबाट दुई कक्षामा नपढाई ३ कक्षामा भर्ना गरिदिन्छन । जसले गर्दा फट्किएको कक्षाको विषयवस्तुको ज्ञान बच्चालाई हुंदैन । हरेक कक्षाको विषयवस्तु एक अर्को कक्षासंग अन्तरसम्वन्धित हुन्छन । जसका कारण तल्लो कक्षामा जतिसुकै तिक्ष्ण, अव्वल भएपनि पढाईमा कमजोर बन्दै जान्छ । सम्भवतः कमजोर हुंदै जांदा एस.ई.ई. मा फेल हुन पनि सक्छ वा फेल नभए पनि वल्ल वल्ल पास हुन सक्छ । यस्ता थुप्रै उदाहरणहरु भेटिन्छन ।
यसरी तिक्ष्ण वुद्धि भएको सुरुका दिनमा अव्वल पढाई भएको वालक बाबु आमाको आफ्नो छिटो परिणाम खोज्ने चाहनाका कारण अन्ततः कमजोर विद्यार्थीमा परिणत हुन पुग्छ । यसले गर्दा उनीहरुको उच्च शिक्षामा समेत नकारात्मक असर पर्न जान्छ । राम्रो परिणाम नआएपछि राम्रा स्तरिय कलेजहरुले भर्ना लिंदैनन । उसले आफुले चाहेको विषय पढ्न पाउंदैन । यसरी उनीहरुको भविष्यमाथी नै खेलवाड हुन पुग्छ ।
यसैगरी आजकाल हाम्रो समाजमा व्याप्त सानै उमेरमा हुने प्रेम विवाह, समाजिक सञ्जालमार्फत हुने च्याटिङ्ग प्रेम मार्फत हुने विवाहले अत्यन्तै विकृत रुप धारण गरिरहेको छ । विवाहको सामाजिक, धार्मिक, सांस्कृतिक, नैतिक मुल्य मान्यतालाई लात मारेर विशेष गरी गाउंघरमा विद्यालयमा ७÷८ कक्षामा पढ्दा पढ्दै प्रेम गरी विवाह गर्ने हतारोको कारण केटाकटी दुवै घरवाट भागेर सहर पस्ने जुन खालको एउटा प्रवृत्ति देखिएको छ, यसले थुप्रै दुर्घटनाहरु निम्त्याईरहेको पाईन्छ । पढाइलाई छाडेर बाबु आमाको लगानी, इज्जत, चाहनालाई माटोमुनी मिलाईदिएका कारण बाबु आमाको डरले दुवै केटाकेटी आफ्नो घरमा जान नसक्ने अवस्था एकातिर रहन्छ भने अर्कोतर्फ शहरमा होस वा अन्यत्र नागरिकताविना कार्यालयहरुमा रोजगारिको अवशर प्राप्त नहुने हुंदा वेरोजगारीको समस्याले पिरोल्न थाल्छ । नागरिकता बनाउनका लागि १८ वर्ष पुग्नुपर्ने र वाबुको सिफारिस पनि चाहिने हुंदा झनै थप चिन्ता थपिन पुग्छ । कहिं कतै उजुरी गरौं न त भने पनि कानुन विपरित २० वर्ष नपुगी विवाह गरिएको छ । ज्याला मजदुरी गरौं भने उमेरका कारण कडा मेहनत गर्ने अवस्था छैन । कहिं सानोतिनो व्यपार व्यवशाय गरौं लगानी गर्ने पैसा छैन । त्यती मात्र होईन कलिलै उमेरमा गर्भवती हुंदा महिलाको स्वास्थ्यमा असर पर्न जाने समस्या अर्को छ ।
यसरी विवाहलाई हलका ढङ्गले खेलवाड ठानी उमेरनै नपुगी हतारमा, लहडमा गरिंदा त्यसवाट उत्पन्न हुने मानसिक र शारिरिक पिडा अत्यन्तै दर्दनाक हुने गर्दछ । त्यस्ता खालका विवाह परिवार, समाज र कानूनले समेत स्विकार नगर्ने भएपछि कतिपय केटाकेटीले बांच्ने आधार कतैवाट नदेखेपछि आत्महत्याको बाटो अपनाएका घटनाहरु हामीले थुप्रै देखेका छौं, सुनेका छौं । त्यसर्थ विवाहजस्तो पवित्र वन्धनलाई ख्यालठट्टा नगरी धैर्यकासाथ कानूनी, सामाजिक, धार्मिक, सांस्कृतिक मुल्य र मान्यतालाई आत्मसाथ गरी अपनाउने गरौं । यसवाट जिवन सुन्दर र सुखमय बन्ने छ भन्ने कुरामा कसैको दुई मत रहंदैन ।
यसैगरी कतिपनि धैर्य गर्न नसक्ने र छिट्टै परिणाम खोज्ने आदतले जीवनका धेरै पाटाहरुलाई आघात पु¥याईरहेको पाइन्छ । रोजगारीका कुनै पनि माध्यम चाहे त्यो व्यापार होस वा जागिरलाई अपनाउन नपाउंदै छिटोभन्दा छिटो धनी हुने सपना देख्न थाल्छौं । अनि धैर्यता गुमाउंदै अवैध र अनैतिक किसिमले कमाउने वाटो खोज्न थाल्छौं । राता रात धनी हुने सपना देख्न थाल्छौं । छिटो अकुत सम्पति कमाएर अत्यन्तै महङ्गो लक्जरी गाडी, गगनचुम्वी महल प्राप्तीका लागि भ्रष्टाचारको सहारा लिन थाल्छौं । कमिशन, घुसखोरीका लागि दलाल, तस्करीको सहारा लिन थाल्छौं । यसरी परिश्रम नै नगरी अनैतिक ढङ्गले गलत बाटोवाट प्राप्त गरेको धन दिगो नहुने हुंदा एकदिन हामी यो वा त्यो माध्यमवाट नराम्रोसंग फस्ने छौं । आफु त वर्वाद हुन्छौं नै सम्पुर्ण परिवारलाई समेत वर्वाद पार्छौं । त्यसर्थ धैर्य गर्न सिकौं । छिट्टै परिणाम नखोजौं । न्यायिक ढङ्गले कमाउं र हांसीखुसी सुखी जीवन विताउं ।
अरु त परै जाओस, स्वास्थ्यमाथी प्रत्यक्षरुपमा असर पर्ने कुरामा समेत हामी गम्भिर हुन सकेनौ । प्रकृतिले हामीलाई स्वस्थबर्धक अर्गानिक अत्यन्तै पौष्टिक आहार दिएको छ तर हामीले त्यसलाई लत्याएर अप्राकृतिक आहार ग्रहण गर्न थाल्यौं । पकाएर खान समय लाग्ने भएकाले हामी नपकाईकनै खाने खानेकुराको खोजी गर्न थाल्यौं । रोटी, ढिंडो, मकै, भात खान छाडेर कहिले कहिलेदेखि बनाएर राखिएका वर्षौंसम्म नसढोस भनेर स्वास्थ्यलाई गम्भिर हानी पु¥याउने खालका केमीकल हालेर बनाईएका फास्टफुड, जङ्गफुड खान थाल्यौं ।
त्यतीमात्र होईन साधा किसिमले खानुपर्ने खानेकुरालाई चिल्लो, पिरो, अमिलो, मसालेदार बनाएर खान थाल्यौं । हामी स्वास्थ्यका निम्ति होईन मन र जिव्रोलाई चित्त बुझाउनका लागि खान थाल्यौं । अझ हामी त बांच्नका लागि होईन, खानका लागि बांच्न थाल्यौं । मौसमअनुसार समय लगाएर उत्पादन हुने खानेकुराको ठाउंमा बेमौसमी र वेसमयमा छिटो र धेरै फल्ने हाइव्रिड खानेकुरा खोज्न थाल्यौं जसमा कुनै पनि पौष्टिक तत्व पाइंदैन । र त हामी कलिलै उमेरमा अत्यन्तै पिडादायी गम्भिर खालका असाध्य रोगहरु हर्टअट्याक, ब्रेनहेम्रेज, स्टर्क, क्यान्सर, सुगर, प्रेसर, मृगौलासम्वन्धि रोगहरुवाट आक्रान्त भैरहेका छौं । धैर्यता गुमाएकै कारण र छिटो परिणाम खोज्दा हाम्रो यो हविगत भएको हो ।
अर्को कुरा हामी मेहनत परिश्रम नै नगरी कम्फर्ट जोनमा बसेर सफल ब्यक्ति बन्ने चाहना राख्छौं । जव कि यो एकदमै असम्भव कुरा हो । आजसम्म सफल भएका संसारका जतिपनि मानिसहरु छन, उनीहरु मेहनत नै नगरी सफल भएका पनि होइनन र छोटै समयमा सफल भएका पनि होईनन् । थुप्रै चुनौतीहरुसंग जुध्दै, अप्ठ्याराहरुसंग पौंठाजोरी खेल्दै लामो दुख, कष्ट जेलेर सफल भएका हुन । सफल ब्यक्तिको पछाडी थुप्रै संघर्षका कथा, व्यथाहरु लुकेका हुन्छन । हामीलाइ लाग्न सक्छ एकैचोटी सजिलैसंग सफलता प्राप्त गरे होलान । तर त्यो हाम्रो दृष्टिभ्रम मात्र हो । कति चोट, हण्डर खाएर, जोखिम मोलेर सफलता प्राप्त गरेका छन । दर्जनौपटक असफल हुंदै सफलता प्राप्त गरेका छन ।
तसर्थ हामीले धैर्यवान बन्दै छिटो परिणाम खोज्ने भन्दा पनि उचित परिणामसहितको दिगो उपलब्धि प्राप्ती हुने काम ग¥र्यौं भने पक्कै पनि हामी सफल बन्ने छौं र हाम्रो जीवन सुखी, खुसी र सुन्दर बन्ने छ ।