Wednesday, May 19, 2021

मनको बाघले खायो



नेपालीमा एउटा चर्चित उखान छ – बनको बाघले खाए नि नखाए नि मनको वाघले खाने । यस सन्दर्भको एउटा लोक कथा यहां प्रस्तुत गर्न चाहन्छु । एउटा मानिस आफ्नो भविष्यको वारेमा जानकारी लिनका लागि ज्योतिषकोमा गएछ । ज्योतिषले हात हेर्दै भनेछ – अरु त सवै ठिकै छ, राम्रै छ तर तपाईंको मृत्युरेखाले तपाईं साठी वर्ष पुगेपछी भदौको १० गते बेलुका ५ बजेर १० मिनेट ८ सेकेण्ड जांदा एउटा बाघ एक्कासी तपाईं भएको ठाउंमा आउंछ र टोकेर मार्छ । त्यसपछी उ घर फर्केर आउंछ र ज्योतिषिले गरेको भविष्यवाणी आफ्ना सवै परिवारलाई सुनाउंछ । सवै चिन्तीत हुन्छन । घरमा रुवाबासी चल्छ । आफन्त, छरछिमेकी सवैलाई थाहा दिईन्छ । सवैले हुनेहार दैव नटार, छैठौंको दिनमा भाविले त्यही लेखेको रहेछ, लेखेको भोग्नै पर्छ भनेर सान्त्वना दिन्छन । सवैको सान्त्वनाका कारण पिडित व्यक्ती र उसका परिवार आफ्नो भाग्यलाई दोष दिंदै मन बुझाउन थाल्छन । 

समय वित्दै जांदा जव उ ६० वर्षको हुन्छ चिन्ता थपिंदै जान्छ । जतिजती भाद्र १० गते नजिकिंदै आउंछ उती उती उक्त परिवारमा पिडाबोध हुंदै जान्छ । यतिकैमा जव १० गते आउंछ उक्त दिन परिवार, आफन्त, ईष्टमित्र, साथिभाई, छरछिमेक सवै भेला हुन्छन र बन्दुक, भाला, ढालतरवार जे जे छन ति सवै हातहतियार लिएर घर वरिपरी तैनाथ हुन्छन बाघ मार्नका लागि । जसलाई बाघले मार्ने भनिएको हो उसलाई चाहीं ज्योतिषले तोकेको समयभन्दा ५ मिनेट अगाडी ठूलो बलियो काठको वाकसभित्र राखेर ठूलो बलियो ताल्चा लगाएर तिन तलामाथिको भित्री कोठामा खाटामुनी लगेर राखिन्छ । श्वास फेर्नका लागि मुखनेर एउटा प्वाल पारिएको हुन्छ । अरु सवै बाघको प्रतिक्षामा बस्छन । हातहतियार लिएर यता र उता गरिरहेका हुन्छन । सवैको मनमा न वा बाघले मलाई पो मार्ने हो कि भन्ने एक खालको डर पैदा हुन्छ । त्यतीकैमा जव ५ बजेर १० मिनेट ८ सेकेण्ड हुन्छ सवै चनाखो र शसंकित हुन्छन । तर तोकिएको समय कटेर १० मिनेट गयो । आधा घण्टा गयो तैपनि बाघ आएन । त्यसपछी सवैको अनुहारमा खुसी छायो । उनिहरु अव पक्कै बाघ आउंदैन भन्ने कुरामा निश्चिन्त भए र वाकस भएको ठाउंमा गए । जांदा जांदै नयां जिवन पाएकोमा बधाई पनि भने तर बाकसभित्रको मानिस बोलेन । खोलेर हेर्दा मृत अवस्थामा भेटे । सवै अचम्मीत भए । बाघ नआएकोमा खुसी भएका सवै पुनः दुखित भए । रुवाबासी चल्यो । मृत्युको कारण खोज्दै जांदा बाकसको माथिल्लोपटिको ढकनमा बाघको फोटो टांसिएको देखियो । यसवाट के अनुमान गरियो भने उसले एक्कासी त्यो बाघको फोटो देख्यो त्यसलाई नै बास्तविक बाघ संझियो र हर्ट अट्याक भएर मृत्यु भयो । यसरी उसलाई बनको बाघले नखाएर मनको बाघले खायो र मृत्युवरण गर्न पुग्यो । 

हो, यतिवेला कोभिड–१९ अधिकांश मानिसहरुलाई मनको बाघ भैरहेको अवस्था छ । अनाबश्यक रुपमा डराउने, त्रसित हुुने, आतंकित हुने र मानसिक रोगको शिकार हुने क्रम बढ्दो छ । गत वर्षको चैत (जुन बेला नेपालमा कोभिड–१९ देखियो) देखी हालसम्म डिप्रेशनका कारण धेरैले आत्महत्या गरेर ज्यान गुमाईसकेका छन भने धेरैको संख्यामा डिप्रेशनका रोगी भएर छटपटिएर, तड्पीएर बांचिरहेका छन । सामाजिक संजाल र संचार माध्यमहरुले पनि धेरै मानिसहरुलाई मानसिक रोगी बनाईरहेको छ । खासगरी फेसबुकमा कोरोनाका कारण मृत्यु भएका मानिसहरुको फोटो राख्ने, श्रद्धान्जली ब्यक्त गर्ने, अस्पतालमा गम्भिर अवस्थामा तड्पीरहेका विरामीहरुको फोटो राख्ने, आफन्तको वियोगमा रुवावासी गरिरहेका आफन्तजनको फोटो, भिडियो राख्ने फेसनका कारण ती वियोगान्त, कारुणिक, मर्माहत, पिडादायक दुःखद दृश्यहरुले कमजोर मनोवल भएका मानिसहरुलाई नराम्रो असर पु¥याउने गर्छ र निरन्तर ति दृश्यहरु हेरिरहंदा मानसिक तनाव उत्पन्न हुन्छ जसले गर्दा विस्तारै उनिहरु मानसिक रोगका शिकार बन्न पुग्छन । अर्कोतिर अनलाईन संचार माध्यमहरुले दैनिकरुपमा संक्रमित र मृतकको बढ्दो संख्या बताईरहंदा पनि ती कमजोर मनोवल भएका मानिसहरु आतंकित, त्रसित हुने गर्दछन । 

मानिसको सवैभन्दा ठूलो डरलाग्दो रोग भनेको मानसिक रोग हो । तसर्थ यतिवेला हामी सवैले मनोवल उच्च र वलियो बनाएर राख्नु जरुरी छ । हामिले चाहे सामाजिक संजालमा होस, चाहे संचार माध्यममा होस वा मानिसको मुखबाट देखेका, हेरेका, सुनेका कुराहरुको नकारात्मक पक्षलाई छाडेर सकारात्मक पक्षलाई मात्र ग्रहण ग¥यौं भने नकारात्मक पक्षलाई पनि सकारात्मक रुपमा बुझ्न कोसिस ग¥यौं भने पक्कै पनि हाम्रो मनोवल उच्च रहने छ, वलियो रहने छ । मनको बाघले हामीलाई खाने छैन । हामीले दैनिक हेर्ने र सुन्ने गरेका संचार माध्यम र सामाजिक संजालबाट नै देखेका छौं, सुन्ने गरेका छौं कि कोरोना भएका संक्रमितको निको हुने संख्या पनि त दिनप्रतिदिन बढ्दै  गैरहेको छ भने मृत्यु हुनेको संख्या पनि घट्दोक्रममा छ । कोभिड विरुद्धको भ्याक्सीन बनेर हामी आफुले लगाउन नभ्याए पनि हाम्रै दाजुभाई, दिदिवैनी र वुवा मुमाले लगाईसक्नु भएको छ । हामी पालो कुरेर वसेका छौं । प्रतिक्षामा छौं । पालो आएपछी पक्कै लगाउने छौं । अस्पतालहरुमा कोभिडका विरामीहरुका लागि वेडहरु थपिंदै छन । अक्सीजन प्लान्टहरु बन्दै छन । विनोद चौधरीहरुजस्ता वरिष्ठ समाजसेवी, प्रतिष्ठित उद्योगपतीहरु अक्सीजन प्लान्ट बनाउने ंकाममा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन । सामाजिक सेवा भाव भएका विभिन्न तह र तप्का, संघ संस्थाका मानिसहरु सहयोगमा जुटिरहेका छन । त्यती मात्र होईन सकारात्मक रुपमा बुझ्नुपर्ने कुरा अर्को के छ भने जती संक्रमित भएका छन ती सवै गंभिर अवस्थामा पनि त छैनन् । सामान्य अवस्थामा होम आईसोलेशनमा बसेर ठिक भएका धेरै छन । संक्रमितमध्ये ज्यादै थोरै प्रतिशत मात्र जो दिर्घरोगी र गंभिर प्रकृतिका रोगवाट आक्रान्त छन, तिनीहरुमध्ये पनि केहिले मात्र त ज्यान गुमाएका छन केही केशहरुलाई छाडेर । अन्य देशको तुलनामा भन्दा त अझ यो कमै छ । यसको पछाडिको कारण जसले जे बुझे पनि, जे भने पनि अन्ततः नेपालीहरुको शसक्त रोग प्रतिरोधात्मक क्षमता नै हो अर्थात हामीसंग भएको प्रशस्त प्राकृतिक श्रोत र साधन, हाम्रो, खानपान, धर्म, संस्कार, संस्कृति, परिश्रम र मेहनतमा विश्वास गर्ने आदत नै हो । र त कोभिड लाग्नेवितिकै अव बांचिदैन की भन्ने बुझियो भने त्यो गलत ठहरिन्छ । सवैलाई गाह्रै बनाउंछ भन्ने छैन । यो रोग प्रतिरोधात्मक क्षमतामा भर पर्दछ । सकारात्मक सोच आत्मवल बलियो बनाउने महत्वपूर्ण शक्तिसाली रोग प्रतिरोधात्मक क्षमता वढाउने बुस्ट हो । 

तितो लाग्न सक्छ यतिवेला वा दोश्रो लहरमा संक्रमित र मृतकको संख्यामा वृद्धी हुनुुको पछाडी हाम्रो गैरजिम्मेवारीपन पनि कारक बनेको छ । एउटा कुरा हामी स्वयम आफैं प्रति, आफ्नो परिवारप्रती, समाज, छरछिमेकप्रती कती जिम्मेवार छौं भन्ने कुरा पनि मनन गर्न जरुरी छ किनकी संक्रमित केही मानिसहरु आफुलाई केही असहज अनुभव भएको छैन भन्ने नाममा होम आईसोलेशनमा नवसेर खुल्लमखुल्ला सार्वजनिक स्थलहरुमा निर्धक्कसंग हिंडिरहेको पाईन्छ । यस्तै जो संक्रमित भै निक्कै अस्वस्थ अवस्थामा होम आईसोलेशनमा वसिरहेका तर केही सहज अवस्थामा पुगेका, पूर्ण निको नभैसकेका केही मानिसहरु समेत लापर्वाहीका साथ सार्वजनिक स्थलहरुमा घुमफिर गरेको पाईन्छ । केही केशहरु हेर्दा त्यस्तै खालका गैरजिम्मेवार मानिसहरु पछी पुनः सक्रिय संक्रमित भै गंभिर भएर ज्यान गुमाउन पुगेका छन । दुःख लाग्छ केही घटनाहरु सावधानी अपनाउंदा अपनाउंदै पनि अत्यन्तै दुःखदयी बनेका छन । 

निश्चितैरुपमा यतिवेला पनि सकारात्मक सोचका साथ स्वास्थ्य शुरक्षाका मापदण्डहरु पालना गरेर सावधानी अपनाएर घरवाहिर निस्कीएनौ, अती जरुरी काम पर्दा नाक र मुख छोप्ने गरी मास्क लगाएर निस्कीयौं, तोकेको सामाजिक दुरी कायम ग¥यौं, बारम्वार सावुनपानीले हात धोयौं, स्यानीटाईजर लगायौं भने कोभिड–१९ ले हामीलाई कती पनि छुन सक्दैन । यती गर्दा पनि दैनिक ब्यबहार मिलाउने क्रममा केही गरी भैहालेछ भने पनि सावधानी अपनाएका कारण कठिन अवस्था सिर्जना हुने छैन । नियम पालना गरी होम आईसोलेशनमा शुरक्षितसाथ बस्यो भने सामान्य, सहज अवस्थामै हामी कोभिड–१९ लाई जित्ने छौं, परास्त गर्ने छौं । त्यसर्थ आतंकित, त्रसित नबनौ, आत्मवल बलियो बनाउं, सकारात्मक सोच राखौं, सोही अनुसार व्यावहार गरौं, अनावश्यक तनाववाट मुक्त होउं । सावधानी अपनाउं, शुरक्षित होउं । सवैको जय होस । 


Friday, May 7, 2021

बांचौ र बचाउं



कोभिड–१९ को दोश्रो लहरले यतिवेला पुनः विश्वभर आतंक मच्चाईरहेको छ । हाम्रो देश नेपाल पनि यो मामिलामा अछुतो रहन सकेको छैन । नेपालमा देखिएको नयां भेरियन्ट पहिलाको भन्दा खतरनाक सावित भएको छ । संक्रमित र मृतकको संख्या हरेक दिन बढ्दो क्रममा छ तर अस्पतालहरुमा भने आई सि यु, भेन्टिलेटर र वेडको अभाव खड्की रहेको छ । अझ दुख लाग्दो कुरा त पशुपती आर्यघाटमा लास जलाउने ठाउंको अभाव भैरहेको छ । लास जलाउनका लागि घण्टौं कुर्नुपर्ने अवस्था छ । एकातिर अस्पतालमा वेडको पालो पर्खनुपर्ने, अर्कोतिर मृत्युपश्चात पनि घाटमा पालो कुर्नुपर्ने यो भयावह स्थिीतीका विच हामी गुज्रिरहेका छौं । 

त्यतीमात्र होईन उद्योगधन्दा, व्यापार, व्यावशाय बन्द हुंदा आयश्रोत ठप्पै भएको छ । हुनेखानेहरुलाई त यसले त्यती फरक नपर्ला तर हुंदा खानेहरु जसलाई ज्याला मजदुरी नगरी विहान बेलुकाको छाक टार्न धौ धौ पर्छ उनिहरुका लागि यो कोभिड–१९ महाकाल बनेको छ । यसैगरी ति मानिसहरु जसले चर्को व्याजमा ऋण लिएर भर्खरै मात्र उद्योगधन्दा वा व्यापार, व्यावशाय संचालन गरेका थिए, उनिहरुका लागि पनि यो अबस्था पिडादायी बन्न पुगेको छ । काम ठप्प भएपछी आम्दानी हुंदैन । आम्दानी नभएपछी साहुको ऋण व्याज चुक्ता गर्ने अवस्था रहंदैन । आम्दानी वा कमाई भएको छैन भनेर साहुले छुट दिंदैन । यसरी यतिवेला हरेक मानिस मानसिक तनावबाट गुज्रीरहेको अवस्था छ । चाहे हुनेखाने होस वा चाहे हुंदा खाने यि दुवै वर्गको कतिवेला कोरोना लाग्ने हो, लागेपछी मरिने हो की बांचिने हो भन्ने एउटै साझा चिन्ता रहेको छ भने गरिखाने बर्गलाई विहान वेलुकाको छाक टार्ने छुट्टै पिरलो छ । फेरी यो अवस्था कहिलेसम्म रहने हो कुनै निश्चितता छैन । पहिलो लहर, दोश्रो लहर, तेस्रो लहर कती लहर आउने हो थाहा छैन । 

कोरोना आतंकको पिडादायी अवस्थालाई कती समयसम्म लम्व्याउने हो भन्ने गंभिर प्रश्न यतिवेला तपाईं हामी सामु तेर्सिएको छ अर्थात यो मानविय क्षतिको अवस्थालाई कती समयसम्म वचाएर राख्ने र पिडाबोध गरिरहने भन्ने कुरा तपाईं हाम्रो हातमा रहेको सत्य तथ्य घटनाक्रमले पुष्टि गरिदिएको छ । यो भाईरसको उत्पती कसरी भयो भन्ने कुराको आधिकारिक पुष्टि नभएता पनि मानविय अप्राकृतिक कृयाकलापकै कारण यसको उत्पती भएको कुरामा कसैको दुई मत रहंदैन । केही सामाजिक संजालहरुमा यो कृतिम भाईरस हो भन्ने कुराको पुष्टी पनि गर्न खोजिएको पाईन्छ । तर त्यसको कुनै प्रमाणिक आधार भने पाईंदैन । चाहे जसरी आएको होस यतिवेलाको महत्वपुर्ण सवाल भनेको यसवाट कसरी बच्ने भन्ने नै हो । 

यसको उत्पतीको विषय जसरी अनुत्तरित छ त्यसैगरी यसको उपचार पद्धति वा प्रकृयाको विषय पनि अन्यौल नै रहेको छ । जे जस्ता उपचार पद्धती अपनाईएको छ त्यो केवल अनुमानमा आधारित रहेको छ । चाहे औषधी ख्वाउने कुरा होस वा भ्याक्सिन लगाउने । ती सवै एक्सपेरिमेन्ट र ट्रायल वेसमा आधारित रहेका छन । यसको ठोस औषधी उपचार पत्ता लाग्न सकेको छैन किनकी यो कस्तो खालको भाईरस हो भन्ने कुरा नै पत्ता लाग्न सकेको छैन । यद्यपी यी दुवै विषयमा अनुसन्धान भैरहेका छन । बैज्ञानिकहरु लागीपरेका छन । त्यसैले त एकचोटी लागेकालाई पुनः दोहोरिएको छ । भ्याक्सीन लगाएकालाई पनि देखिएको छ । लहरैपिच्छे लक्षण र भेरियण्ट बदलिएको छ । जसले गर्दा जताततै अन्यौलको बाताबरण सिर्जना भएको छ । स्वास्थ्यकर्मी अन्यौलमा परेका छन । जनमानस अन्यौलमा परेको छ । भ्रम उत्पती भएको छ । रुघा लागेको हो वा कोरोना भएको छुट्याउन गाह्रो परेको छ । अघिपछीजस्तो बदलिंदो मौसमी परिवर्तनका कारणले लाग्ने सामान्य रुघाखोकी होला भन्ने भ्रमले गंभिर अवस्था ब्यहोर्नु परिरहेको छ । यसरी अन्यौल नै अन्यौलका विच भयावह अवस्था सिर्जना भैरहेको छ जसका कारण सक्रिय संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्ने क्रममा छ । 

त्यसो भए यसवाट बच्ने उपाय के त ? सावधानी । मात्र सावधानी । स्वास्थ्य शुरक्षासम्वन्धी मापदण्डको पालना । बिशेषगरी बिश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र जनस्वास्थ्य विशेषज्ञहरुले तोकेको स्वास्थ्य शुरक्षासम्वन्धि मापदण्डहरुको अक्षरशः पालना गर्नु नै कोभिड–१९ बाट बच्ने वलियो र भरपर्दो उपाय हो । मुख र नाक ढाक्ने गरी मास्क लगाउनु, वारम्वार सावुन पानीले मिचिमिची हात धुनु, स्यानीटाईजरको प्रयोग गर्नु, सामाजिक दुरी कायम गर्नु, विना काममा घरवाट वाहिर ननिस्कनु, सावुन पानीले हात नधोईकन नाक र मुखमा हात नलगाउनु, सफासुग्घर गर्नु जस्ता साबधानीका उपायहरु वा स्वास्थ्य मापदण्डहरु कुनै नयां कुराहरु हुंदै होईनन् । हामीले विगतमा कोरोना महामारी आउनु पूर्व नै अपनाउंदै आएका कुराहरु हुृन । हामीले बढ्दो प्रदुषणका कारण धुवां, धुलोवाट बच्नका  लागि विगतदेखी नै मास्क लगाएर हिंड्ने गरेका थियौं । त्यसरी नै विशेष गरी हामी नेपालीहरुले अघिपछी पनि खाना खानु अघी, चर्पी गएपछी, फोहोर बस्तु चलाएपछी सावुन पानीले हात धुने गरेका थियौं । यस्तै विगतमा पनि हामी जान पहिचान नभएका मानिसहरुसंग सुरक्षाका दृष्टिले  पनि दुरी कायम गरेरै हिंडडुल गर्ने गरेका थियौं । धार्मिक हिसावले र स्वास्थ्यका हिसावले समेत सरसफाईमा ध्यान दिएकै हुन्थ्यौं । यिनै कुराहरुलाई निरन्तरता दिनु हाम्रा लागी कुनै कठिन काम होईनन् । 

यसवाहेक हामीले कोभिडवाट बच्नका  लागि केही हाम्रा गलत प्रवृती, आदत, बानी ब्यहोरालाई परिबर्तन गर्नु जरुरी छ । नाक कोट्याईरहने, धुम्रपान ( सुर्ती, चुरोट, खैनी ) सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने, जथाभावी पान, खैनी, सुर्ती खाएर जहां पायो त्यहीं थुक्ने, गलत नकारात्मक सोच राख्नेजस्ता गलत प्रवृतिहरु परिवर्तन गर्यौं भने निश्चीतै रुपमा हामी कोभिडवाट बच्ने छौं । लकडाउन कस्तो हुने रहेछ, कती मानिस हिंड्दा रहेछन भनेर अनुगमन गर्न जाने केही मानीसहरुको गलत प्रबृती रहेको पाईन्छ । यो वानीको अन्त्य गरौं । विहान मर्निङ वाकमा जाने काम पनि बन्द गरौं । घरकै कम्पाउण्डभित्र या छतमा मर्निङ वाक गर्ने गरौं । विना काममा घरवाहिर ननिस्कौं जसले सामाजिक दुरी कायम गर्ने कुरालाइ बल पुग्ने गर्छ । केही सामान छुने वितिकै स्यानीटाईजरको प्रयोग गरौं । विहान उठेर केही समय  योगा गरौं । रचनात्मक काम गरौं । नआए पनि कविता लेखौं । गित लेखौं । यु टुव या सामाजिक संजालमा राम्रा राम्रा कुराहरु हेरौं । सफल व्याक्तिो जिवन कहानीहरु हेरौं । जिवनमा सफल भएका प्रेरणादायक मानिसहरुको जिवनी हेरौं । त्यस्तै खालका पुस्तकहरु पढौं । भजन सुनौं । गित संगित सुनौ । यती गर्यौं भने पक्कै पनि हामीलाई कोरोनाले छुने छैन । हामी स्वस्थ रहने छौं । शुरक्षित रहने छौं । 

अर्को कुरा हामीलाई थाहा नै छ हाम्रो परिवार, आफन्त, साथीभाई कसैलाई कोरोना  लाग्यो भने नजिक पर्नु हुंदैन । छुनु हुंदैन । टाढावाट स्वास्थ्यलाभको कामना गर्नुवाहेक अर्को विकल्प छैन । माया लाग्छ तर के गर्ने कठोर बन्नुपर्छ । माया, ममता नजिकबाट श्पर्स गर्न मिल्दैन टाढावाट भौतिक सहयोग गर्नु वाहेक । आंशु लुकाएर राख्नुपर्छ । त्यसर्थ बेलैमा सचेत होउं । शुरीक्षीत रहौं । बांचे संसार देख्न पाईन्छ । रोग लागिसकेपछी पछुताउनुको तुक छैन । फेरी आफु वांच्नु भनेको अरुलाई बचााउनु पनि हो । आफु बांचौ, अरुलाई बचाऔं ।