Thursday, March 13, 2025

ट्रम्पले दिएको शन्देश

नेपालमाथिको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रोसित अभिव्यक्ति, आप्रवाशी नेपालीहरुलाई नेपाल फर्काउने तयारी, त्यसैगरी भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी ) बिश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्याको घटनाले चाहे अमेरिका होस वा चाहे भारतको हामी नेपाली र नेपालप्रति हेर्ने दृष्टिकोण घामजतिकै छर्लङ्ग भएको छ । त्यती मात्र होइन अमेरिकाले त डिभी लगायत नेपाललाई दिंदै आएको यु.यस.एड कार्यक्रमका लागि दिने गरेको डलरसमेत खारेज गरिदिएको छ । बन्द गरिदिएको छ । यसले के संकेत गर्दछ भने प्राकृतिक श्रोत र साधनको हिसावले अत्यन्तै सवल हुंदा हुंदै पनि, थुप्रै अबशर, संभाबनाहरु हामीसंग हुंदा हुंदै पनि हामीले त्यसलाई उपयोग गरेर देशलाई आर्थिक रुपमा बलियो बनाउन सकेनौ र संधैभरी विदेशिकै मुख ताक्न अग्रसर भैरहेउं । देशमा उद्योगधन्दा सञ्चालन गरेर देशको विकास गर्नुभन्दा सवै नेपाली युवायुवतीहरुलाई विदेश पठाएर उनिहरुको कमाइबाट आउने रेमिटेन्सवाट देश चलाउन उद्यत भयौं । विदेशीबाट आउने जतिपनि सहयोगहरु राष्ट्र र जनताको हितमा भन्दा पनि आफ्नो ब्यक्तिगत हितका लागि प्रयोग ग¥यौं । यही कुराको संकेत गर्दै डोनाल ट्रम्पले अप्रत्यक्षरुपमा तिमीहरु भ्रष्टाचारी हौ भन्ने आशय ब्यक्त गरेका छन । ट्रम्पले त्यसो भनिरहंदा हामीलाई लाज लाग्नुपर्ने होइन ? त्यसैले त नेताहरु उनको भनाइप्रति नाजवाफ भएर बसेका छन । किनकी उनिहरुसंग यसको उत्तर नै छैन । ट्रम्पले भनेजस्तै यो देशको अकुत प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरेर उद्योगधन्दा, कलकारखाना स्थापना गरेर रोजगारिको सिर्जना गर्न सकेको भए आज नेपालका लाखौं योग्य, सक्षम, सिर्जनसिल युवा शक्ति विदेश पलायन हुने थिएनन । योग्यता, क्षमताअनुसारको काम र काम अनुसारको दाम पाउने हो भने कुनै पनि नेपाली विदेशिन चाहंदैनथे । प्राकृतिक हिसावले स्वर्गजस्तो देश र आफ्नो परिवार छाडेर कुनचाहीं नेपाली विदेश जान तयार हुन्छन । विदेशिनु उनिहरुको रहर होइन । बाध्यता हो । यदी नेपालमा सबैखाले विषयहरु अध्ययन गर्ने र सवैको पहुंचमा भएको स्तरिय कलेज भैदिएको भए नेपालकी छोरी प्रकृति लम्सालले भारतको ओडीसाको विश्वबिद्यालयमा गएर आत्महत्या गर्नुपर्ने थिएन । यो देशमा रोजगारिको सिर्जना गरिदिएको भए सिर्जनसिल युवायुवतीहरु विदेशमा गएर मृत्युवरण गरी काठको बाकसमा आउनुपर्ने थिएन । कामदारको रुपमा विदेशमा अनेक खालका यातना भोग्नुपर्ने थिएन । जसलाई परेको छ उसलाई मात्र थाहा हुन्छ यो पिडा । कुर्सिमा बसेर आनन्द लिइरहेकाहरुलाई के थाहा ? नेपालीहरुले यो दर्दनाक अबस्था कहिले सम्म ब्यहोर्नुपर्ने हो । यसको जिम्मेवार राज्य संचालकहरुले लिनुपर्ने हो कि होइन ? पञ्चायती ब्यवस्था ठिक भएन भनियो । फालियो । २०४६ सालमा प्रजातन्त्र स्थापना भयो । त्यो पनि ठिक भएन भनियो । फालियो । २०६३÷६४ को आन्दोलन र माओवादिको जनयुद्धले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । यसरी पटक पटक ठिक नठानिएका व्यवस्था सवै फालिसकेपछि ठिक हुनुपर्ने होइन र ? अब पनि केवल बाहना गरेरै बसिरहने हो र ? यतिवेला कसले रोकेको छ देशको उन्नती, प्रगती गर्नका लागि । रोकेको छ भने मात्र राज्य संचालकहरुको इच्छाशक्तीको कमिले रोकेको छ । सुखी जिवन, सुन्दर जिवनको मिठो सपना देखाएर पटक पटकको आन्दोलनमा नेपाली जनतालाई बलिको बोको बनाउने काम गरियो । हजारौंले सुख पाउने आशामा सहादत प्राप्त गरे । हजारौं अङ्गभङ्ग भए । हजारौंलाई बेपत्ता पारियो । कैयौं नेपाली आमाका काखहरु रित्तिए । कैयौं चेलिका सिंदुर पुछिए । कैयौं बालबच्चाहरु टुहुरा भए । कैयौं परिवारका आशा, सपनाका दियोहरु निभे । आखिर तिनले के पाए ? तिनका पिडित परिवारले के पाए ? पिडा । मात्र पिडा । ब्यवस्था जति फेरिए पनि उनिहरुको जिवनस्तर फेरिएन । फेरियो भने केवल आन्दोलनमा नेपाली जनतालाई बलिको बोको बनाउनेहरुको फेरियो । सुख पाउने, मिठो सपना देखाएर आन्दोलनमा होम्नेहरुको फेरियो । समानताका कुरा गरेर कहिल्यै नथाक्नेहरु आज अरवौंको आलिशन महलमा विराजमान भएका छन । करोडौं पर्ने लक्जरी कारमा सवार गरिरहेका छन । अकुत सम्पतिका मालिक भएका छन । पद, कुर्सि उनिहरुको पेवा भएको छ । पालैपालो बांडी बांडी खाएका छन । देशलाई लुटेका छन । तर अझै पनि समानताका कुरा गर्न छाडेका छैनन । सुन्दर सपना देखाउन छाडेका छैनन । एकातिर नेपाली जनता भने अझै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारका लागि तड्पीरहेको छ । भौंतारिइरहेको छ । जनजिविकाको स्थिती दिनप्रतिदिन कमजोर बन्दै गएको छ । गरिवीका कारण बालबच्चा पाल्न नसकेर, रोग लागेर उपचार गर्न नसकेर, साहुसंग लिएको ऋण तिर्न नसकेर आत्महत्या गर्नेहरुको संख्या बढ्दो अवस्थामा छ । के गणतन्त्रको उपलब्धी यही हो त ? यसैका लागि गणतन्त्र ल्याइएको थियो ? ६ दशक लामो नेपाली जनताको आन्दोलनले यही खोजेको थियो ? माओवादिले १० बर्षिय जनयुद्ध यसैका लागि लडेको थियो । राज्य संचालनमा रहेका नेताहरुले बिश्लेषण गर्नुपर्छ की पर्दैन ? केवल गाउं गाउंमा सडक पु¥याउंदैमा गणतन्त्रको उपलब्धी मान्न सकिंदैन । पानी, विजुली, बाटोजस्ता पूर्वाधारहरुले मात्र जनताको जिवनस्तर उठ्न सक्दैन । त्यो विकासको एउटा अंश हुन सक्छ, त्यो आफ्नो ठाउंमा छ । तर जनताको जिवनस्तर उठाउनका लागि आधारभूत आबश्यकताहरु गांस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जरुरी हुन्छ । आज यिनै कुराको अभावमा नेपाली जनता तड्पीरहेको अवस्था छ । राम्रो शिक्षाको खोजीमा प्रकृति लम्सालको जस्तो मृत्युवरण गर्नु परिरहेको छ । राम्रो स्वास्थ्य, रोजगारका लागि विदेशिनु परेको छ । यो सवै देशमा उद्योगधन्दा, कलकारखाना स्थापित नगर्नुको परिणाम हो । उद्योगधन्दा खोल्न त परै जाओस भएका केही उद्योगधन्दाहरु पनि बन्द गराईएको छ । राज्यसंचालकहरुसंग इच्छाशक्ति हुने हो भने हामीसंग थुप्रै संभाबनाहरु रहेका छन । यो देशमा ६००० भन्दा बढी नदीनालाहरु रहेका छन । ती नदीनालाहरुवाट ८५००० मेघावाट भन्दा बढी बिजुली उत्पादन गर्न सकिन्छ । उत्पादित विजुली विदेश निर्यात गर्ने हो भने मात्र पनि ठूलो रकम आर्जन गर्न सकिन्छ । हामी पशुजन्य, कृषिजन्य, जडिबुटीजन्य, बनजन्य आदि थुप्रै उद्योगधन्दाहरु स्थापना गर्न सक्छौं । नेपालीलाई रोजगारिका लागि बिदेशिनुपर्ने अवस्था नै रहने थिएन । तर विडम्वना राज्य संचालकहरुले गर्न चाहेनन । उनिहरु आफुसंग भएको सुनको कचौरा लिएर विदेशिसंग भिक्षा माग्ने मानसिकताका भए । र त हामी बिदेशीहरुवाट हेपिने अवस्थामा पुगेका छौं । याद गर्नुहोस, अव अमेरिकाले मात्र होइन नेपाली कामदार रहेका सवै देशहरुले क्रमशः नेपालीहरुलाई फर्काउने छ । सुरुआत भैसकेको छ । सवै देशहरु आर्थिक मन्दिका कारण बिदेशी कामदार थेग्न नसक्ने अवस्थामा पुगिसकेका छन । जब विदेशिएका लाखौं नेपालीहरु स्वदेशिने छन त्यतीबेला नेपालको हालत के होला ? त्यसले निम्त्याउने परिणाम कति भयानक होला ? यो दिन देख्न अव धेरै कुर्नुपर्ने छैन । त्यती मात्र होइन यतिबेला देशभित्रै धमिलो पानीमा माछा मार्ने कामको सुरुआत भैरहेको छ । अव पनि राज्य संचालकहरुको चेत खुल्दैन भने बिनासकाले बिपरित बुद्धी भन्नुभन्दा बाहेक केही रहेन ।