Saturday, March 27, 2021

म रुख हुं

 म रुख हुं 


म राप र ताप ओढ्छु 

र शितलताको बर्को ओढाउंछु

म जलेर खरानी बन्छु 

र न्यानो दिन्छु अरुलाई

म काटिन्छु र वास बन्छु

तासिन्छु र खास बन्छु

मासिन्छु र झास बन्छु

म वास बन्छु

गांस बन्छ

श्वास बन्छु

र वदलामा

लास बन्छु

किनकी म रुख हुं

मलाई चिनेनन् मान्छेहरुले

र त

म जङ्गल थिएं

मैदान वनाए

म अमृत थिएं 

जहर वनाए

बुझेनन् महत्व

शहर वनाए

म वर्षात थिएं

खडेरी वनाए

मासेर मलाई

 घडेरी बनाए

किनकी 

म निरिह रुख हुं

म अमूक रुख हुं

फेरी पनि 

म रुख नै हुन चाहन्छु

रुख हुनुको मज्जै अर्को छ

 हामी रुखहरु 

काटिन्छौं काट्दैनौ

मासिन्छौं मास्दैनौ

भासिन्छौं भास्दैनौ

तासिन्छौं तास्दैनौ

रुन्छौं रुवाउंदैनौ

हेपिन्छौं हेप्दैनौ

लुटिन्छौं लुट्दैनौ

बचाउंछौं मार्दैनौ

किनकी 

हामी रुख हौं

मान्छे हैनौ